सुलसुलेसाहित्यकार डा. रमेश शुभेच्छु सम्मानित
शुभेच्छुलाई सो सम्मान नेपाली साहित्यका विविध विधामा कलम चलाउनका साथै साहित्यिक पत्रकारिता र साहित्यको प्रशिक्षण एवम् विविध सङ्घसंस्थामा रहेर पुर्याएको सकारात्मक योगदानका लागि प्रदान गरिएको हाे ।

काठमाडौँको बौद्धस्थित कुमारी आवासीय माध्यमिक विद्यालयले आफ्नो विद्यालयको ३६ औँ वार्षिकोत्सवका साथै कक्षा बाह्रका विद्यार्थीको विदाई र कक्षा ११ का विद्यार्थीको स्वागत एवम् सम्मान कार्यक्रम २०७९ का अवसरमा साहित्य क्षेत्रबाट डा. रमेश शुभेच्छु सम्मानित हुनुभएको छ ।
शुभेच्छुलाई सो सम्मान नेपाली साहित्यका विविध विधामा कलम चलाउनका साथै साहित्यिक पत्रकारिता र साहित्यको प्रशिक्षण एवम् विविध सङ्घसंस्थामा रहेर पुर्याएको सकारात्मक योगदानका लागि प्रदान गरिएको कुरा उहाँलाई प्राप्त सम्मानपत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा शुभेच्छुको परिचय प्रस्तुत गर्नुहुँदै विद्यालयका शिक्षक शोभा अधिकारीले उहाँले किशोरवयदेखि नेपाली साहित्य र शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउनुभएकाले विद्यालय परिवारले यो सम्मान अर्पण गर्ने निणर्य गरेको बताउनु भयो ।
सोही कार्यक्रममा डा. शुभेच्छुसँगै नेपाली गीतसङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानलाई गीतसङ्गीत क्षेत्रको सम्मान प्रदान गरिएको थियो । उहाँहरूलाई नेपाली सङ्गीत क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान अर्पण गरिएको जानकारी अधिकारीले दिनुभयो ।
सम्मान एवम् स्वागत-विदाई कार्यक्रममा विशेष अथितिका रुपमा उपस्थित डा.शुभेच्छुले एउटा विद्यालय खोल्नु भनेको एउटा जेल बन्द गर्नु हो, समाजमा एउटा नयाँ चेतनाको चिराग सल्काउनु हो, समाजमा एउटा नयाँ बाटो खन्नु हो, समाजको भविष्यको मार्गचित्र कोर्नु हो, भविष्यमा समाज हाँक्ने नेतृत्वको पक्षपोषण गर्नु हो भन्नुहुँदै कक्षा १२ का विद्यार्थीको अबको बाटो चुनौतिपूणर् तर आरोहणशील रहेको बताउनुभयो ।
कार्यक्रममा सम्मानित प्रतिभाहरु शिलाबहादुर मोक्तान र कुन्तीमोक्तानले भने स्वास्थ्यको कारण देखाउँदै कुनै प्रस्तुति दिनुभएन तर विद्यार्थीहरुले उहाँहरुका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका विविध अतिरिक्त क्रियाकलापमा सहभागी र विजयी छात्रछात्रालाई पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा माननीय गगनकुमार थापालाई निमन्त्रणा गरिएको भए पनि उहाँको अनुपस्थितिमा शुभेच्छुले सम्मान, पदक र प्रमाणपत्रहरु अर्पण गर्नुभएको थियो ।
मूलपानीको रोयल प्यालेस होटलमा भएको कार्यक्रममा त्यस क्षेत्रका प्रायः शिक्षासेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । विद्यालय युरेसिया एकेडेमी प्रा.लिका अध्यक्ष पारशमणि पौडेलको सभाध्यक्षतामा भएको सो कार्यक्रममा कुमारी आवासीय विद्यालयका यवस्थान समितिका अध्यक्ष निलकण्ठ ढुगाना विद्यालयका प्रिन्सिपल सुरेशकुमार भट्टराई, सञ्चालक समितिका पदाधिकारी, अभिभावक र सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
त्यस्तै यस विद्यालयले शिक्षा र मानविकीका विविध क्षेत्रमा योगदान पुर्याउनुहुने विभिन्न व्यक्तित्वहरूको सम्मान गर्दै आएको र विद्यालयलाई समुदायसँग जोड्दै आएको कुरा सञ्चालक समतिका सदस्य श्री गौतमले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयको मान्यमिक तहका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest












































