साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधिकारीको व्यङ्ग्य कृति ‘बेसारे घुर्की’ प्रकाशित

अधिकारीको ‘बेसारे घुर्की’ सङ्ग्रहमा सङ्कलित निबन्धहरूमा हामीले भोगिरहेको विसङ्गत राजनीतिक पर्यावरण र नागरिकको तहबाट खेप्नु परिरहेको बिब्ल्याँटो व्यवहारमाथि घच्कापूर्ण थप्पड हानिएको छ ।

Nepal Telecom ad

काठमाडौं, ०७९ चैत ९ । हास्यव्यङ्ग्य लेखन तथा प्रकाशनलाई अभियानकै रुपमा अघि बढाइरहेको फित्कौली अनलाइन मिडियाले व्यङ्ग्यकार ठाकुरप्रसाद अधिकारीको व्यङ्ग्य निबन्ध कृति ‘बेसारे घुर्की’ प्रकाशित गरेको छ ।

अधिकारी विगत ७ महिनादेखि निरन्तर फित्कौली डटकममा व्यङ्ग्य निबन्ध लेख्दै आउनु भएको छ । फित्कौली डटकममै प्रविष्ट भएका मध्ये छानिएका १८ वटा व्यङ्ग्य निबन्धहरूको सङ्ग्रह प्रकाशित गरिएको हो ।

ठाकुरप्रसाद अधिकारी व्यङ्ग्य लेखनका क्षेत्रमा नयाँ नाम हो, यद्यपि उहाँका यसअघि ‘रोएको बाटो’ कविता सङ्ग्रह र ‘समयको आवाज’ संस्मरण सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

कृतिका लेखक अधिकारीले भन्नुभएको छ- “एकवर्ष अस्ट्रेलिया बसाइका क्रममा अनलाइनमा फेला पारेको ‘फित्कौली’ डटकमले प्रस्तुत गरेका हास्यव्यङ्ग्य सामग्रीहरूले मेरो मनोचेतनालाई आकर्षित नगरेको भए म यसरी व्यङ्ग्यात्मक लेखनीतिर लहसिने कुनै सम्भावना थिएन । मेसेन्जरको माध्यमबाट फित्कौलीका सम्पादक नरनाथ लुइँटेलसँग सम्पर्क र बाङ्गो लेखनका विषयमा बाक्लै विमर्श भएपछि भने यी व्यङ्ग्य निबन्धको सिर्जना हुन थालेको हो ।”

फित्कौली अनलाइन मिडियाद्वारा सञ्चालित फित्कौली डटकमले बितिसकेका र पुराना हास्यव्यङ्ग्यकारलाई सम्मान गर्दै हास्यव्यङ्ग्यका नवस्रष्टाहरूलाई प्रोत्साहित गर्दै आएको छ । यसै क्रममा फित्कौली डटकम मार्फत पहिलो पटक सार्वजनिक भएका व्यङ्ग्य स्रष्टा अधिकारीको व्यङ्ग्य कृति प्रकाशित गरिएको प्रकाशन संस्थाले जनाएको छ ।

कृतिको प्रकाशक्यौली एवम भूमिका मिसमास भन्दै फित्कौली अनलाईन मिडियाका सञ्चालक तथा प्रधान सम्पादक नरनाथ लुइँटेलले उल्लेख गर्नु भएको छ- “ठाकुरप्रसाद अधिकारीको ‘बेसारे घुर्की’ सङ्ग्रहमा सङ्कलित निबन्धहरूमा हामीले भोगिरहेको विसङ्गत राजनीतिक पर्यावरण र नागरिकको तहबाट खेप्नु परिरहेको बिब्ल्याँटो व्यवहारमाथि घच्कापूर्ण थप्पड हानिएको छ ।” प्राय सबै निबन्ध आत्मपरक शैलीमा संरचित रहेको बताउँदै “धेरै ठाउँमा उहाँ आफै उपस्थित हुनुभएको छ, अनुभूत भएको अनुभूतिमै आफूलाई घोल्नु भएको छ र यत्रतत्र व्यङ्ग्य बोल्नु भएको छ । हाम्रो देशका अगुवा, भगुवा, नेता, अभिनेता, कर्मचारी, जनप्रतिनिधि, वकिल, पत्रकार, शिक्षक, विद्यार्थी, युवा, युवती, व्यापारी, सरकारका निकाय, न्यायिक निकाय र तत्तत् ठाउँमा सक्रिय विचौलियाहरू समेत व्यङ्ग्य प्रहारको शिकार हुन पुगेका छन् ।” लुइँटेलको कथन छ ।

व्यङ्ग्य कृतिमा समावेश हरेक निबन्धको आरम्भमा सामयिक कार्टुन चित्र प्रस्तुत छन् । कार्टुनिस्ट राजेश मानन्धर (राजमान) का व्यङ्ग्य चित्रले कृतिमाथि महक थपेको अनुभव हुन्छ । उड् फ्रि कागजमा ९६ पृष्ठको यस कृतिको आवरण पनि रमाइलो कार्टुनले सिँगारिएको छ ।

विगत एक वर्षदेखि फित्काैली डटकम सञ्चालन गर्दै आएको फित्कौली अनलाइन मिडियाले एक महिनाअघि मात्रै अक्षयकोष स्थापना गरी हास्यव्यङ्ग्य स्रष्टालाई पुरस्कृत गर्ने, प्रकाशन गर्ने र हास्यव्यङ्ग्यका कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेको थियो । यसले गत फागुन १ गतेदेखि कलङ्कीमा आफ्नै कार्यालय व्यवस्थित समेत गरिसकेको छ ।

०००
– गरिमा लुइँटेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x