सुलसुलेमञ्जुश्री साहित्य समाजको साठीऔँ श्रृङ्खला हास्यव्यङ्ग्य विशेष
मञ्जुश्री साहित्य समाजको हिरक श्रृङ्खला हास्यव्यङ्ग्य विशेष श्रृङ्खलाका रुपमा सम्पन्न भएको छ । कार्यक्रममा २० जना स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नुभयो ।

काठमाडौं, ०८० जेठ ५ । मञ्जुश्री साहित्य समाजको हिरक श्रृङ्खला हास्यव्यङ्ग्य विशेष श्रृङ्खलाका रुपमा सम्पन्न भएको छ । कार्यक्रममा २० जना स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नुभयो ।
सिर्जना वाचनको यस साठीऔँ श्रृङ्खला वरिष्ठ हास्यव्यङ्ग्यका प्रा. रामकुमार पाँडेको प्रमुख आतिथ्यमा भएको हो । संस्थाका अध्यक्ष डा.बमबहादुर थापा जितालीको अध्यक्षता र वरिष्ठ हास्यव्यङ्ग्यकर्मी चट्याङ मास्टर, फित्कौली अनलाइन पत्रिकाका सम्पादक नरनाथ लुइँटेल, कवि कलानिधि दाहाल, प्रा.गङ्गा लिगल, आरती आरोही, गायत्री चापागाइँ, दुष्यन्त भट्टराईलगायत विशिष्ट अतिथिका रुपमा सहभागिता रहेको थियो ।
गुगलमिटको माध्यमद्वारा प्रविधिमैत्री कार्यक्रमका रूपमा सञ्चालित कार्यक्रमलाई वीरवहादुर लोहनीले संयोजन र सञ्चालन गर्नुभएको थियो ।
प्रमुख अतिथि प्रा.रामकुमार पाँडेले भारतको नैनीतालदेखि बेलायतसम्मका हास्यव्यङ्ग्य कविहरूले आफ्नो सुन्दर सिर्जना सुनाउनु भएकाले मञ्जुश्री साहित्यिक समाजको यो हीरक शृङ्खला अन्तर्राष्ट्रिय स्तरको भएको बताउनु भयो । ‘यस साहित्यिक संस्थाले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, बेथिति, विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्दै आएको छ । यसै परिवेशको विरुद्ध रचना गरिएका आज वाचित कविता प्रशंसायोग्य छन्’ भन्नु भयो ।
वीरबहादुर लोहनीले ‘राष्ट्रिय पहिचान’ शीर्षक कविता मार्फत स्वागत अभिवादन गर्दै आरम्भ भएको सिर्जना वाचनको क्रममा नैनीतालबाट सहभागी आरती आरोहीले डा.बमबहादुर जितालीद्वारा रचित ‘जहाँ छन् बुद्धका आँखा’ बोलको राष्ट्रियगीत समुधुर स्वरमा गुगनाउनु भयो ।
जुनु घिमिरेले गीतिलयमा संरचित ‘सदभाव’ कविता प्रस्तुत गर्नुभएपछि गायत्री चापागाइँले मालिनी छन्दमा ‘हाँसो’ शीर्षकको कविता वाचन गर्नु भयो । हास्यमिश्रित उहाँको कवितामा बहर र बोका नार्दै हसहस हसुर्नेहरूमाथि कलात्मक व्यङ्ग्य प्रहार गरिएको थियो ।
‘दङ्गै परियो’ शीर्षकमा रचित टेकबहादुर लौडारीको लोकछन्दमा रचित कविताले नेता र नेतृत्वको ताल देख्दा दङ्ग परेको सन्दर्भ उठाउँदै व्यङ्ग्योपहास गरेको थियो । अर्का स्रष्टा यज्ञ सुवेदीले तीनवटा व्यङ्ग्यात्मक मुक्तक वाचन गर्दै मतदातालाई नेताले क्यै गरे पनि नमर्नू खालि मतदानको बेला काम लाग्छौ भन्दै नेताप्रवृतिमाथ प्रहार गरिएको थियो भने गङ्गा लिगलका मुक्तकले पनि व्यङ्ग्यभाव आविर्भिाव गरेका थिए ।
कार्यक्रममा वरिष्ठ व्यङ्ग्यकार चट्याङ मास्टरले ‘बालक पीडा’ शीर्षकको कविता मार्फत जे सिकाउँछन् त्यैत्यै गर्यो भने फेरि सिकाउनेहरू नै रिसाउनेको मन्दहास्य उपस्थित तर निकै व्यङ्ग्य प्रहार गरिएको कविता प्रस्तुत गर्नु भयो । अर्का सहभागी चूडा निर्भिकले २ वटा घुएँत्रो एउटा मुक्तक र ‘रजाइँ शीर्षकको व्यङ्ग्य कविता मार्फत वर्तमान नेता प्रवृतिमाथि प्रहार गर्नुभयो ।
कवि हरिप्रसाद घिमिरेले आफ्नो ‘आलुबारी’ शीर्षकको लोकछन्दमा रचित कवितामा आलुबारीमा भालु पसेर ध्वस्त पारेको सन्दर्भ उठाउँदै चुच्चे नक्साको भित्री आसय उद्घाटन गर्नु भयो भने उत्तम भेटुवाल र ललिता दोषीका कतिाले पनि पर्याप्त व्यङ्ग्यभाव अभिव्यक्त गरेका थिए ।
स्रष्टा कल्पना भट्टराईले ‘बालुवाटार’ मा केके हुँदै छ ? भन्ने प्रश्नको सेरोफेरो समेटेर श्रग्विणी छन्दमा रचित कलात्मक व्यङ्ग्य कविता प्रस्तुत गर्नुभयो । तर कवितामा उहाँले देवता वा दैवी शक्ति प्रकट भएर यो अनाचार समाप्त पारिदिउन् भन्ने भाव व्यक्त गर्नुभयो । के यसरी राष्ट्रको अधोगतिपूणर् समस्या समाधान होला र ? भन्ने प्रश्न श्रोताको मनमा बसिरह्यो ।
गणेश आत्रेयको ‘गर्छु रजाइँ’, सुधा बास्कोटा ढकालका तीन मुक्तक र उर्मिला पन्त पाण्डेयको कविता पनि सामान्य व्यङ्ग्यात्मक कोटिका सिर्जना थिए भने बेलायतबाट सहभागी छन्दशिल्पी दुष्यन्त भट्टराईको ‘नैतिकता कता छ’ कविताले पनि अवाञ्छित कालो धन्दामा निर्लिप्त नेताहरूमा प्रशन्नता रहेकोतर्फ कलात्मक व्यङ्ग्य गरिएको थियो ।
विशिष्ट अतिथिको तर्फबाट सङ्क्ष्प्ति मन्तव्य दिँदै कवि कलानिधि दाहालले हिरक श्रृङ्खलामा आइपुगेको मञ्जुश्री साहित्य समाजलाई हार्दिक बधाई र शुभकामना दिँदै आफ्नो सशक्त व्यङ्ग्य कविता ‘सुकेका झ्याउ झ्यासहरू’ प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा डा. बमबहादुर थापा जितालीले आफ्नै सिर्जना ‘जहाँ छन् बुद्धका आँखा…’ बोलको राष्ट्रिय गीतमाथि तयार गरिएको प्यारोडी ‘जहाँ छन् गिद्धका आँखा’ प्रस्तुत गर्नु भयो । वाचित रचनामाथि समीक्षात्मक टिप्पणीका निम्ति नरनाथ लुइटेललाई जिम्मेवारी दिइएको भए पनि कार्यक्रमको बिसौनीतिर भारी वर्षाद र हावाहुरीका कारण नेट समस्याका कारण टिप्पणी मन्तव्य अवरुद्ध भएको थियो ।
सहभागी सम्पूणर् हास्यव्यङ्ग्य स्रष्टालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै हास्यव्यङ्ग्य रचनाको भाव र महत्वपूणर् प्रभावका बारेमा प्रकाश पार्दै डा. बमबहादुर जितालीले कार्यक्रम समापन गर्नु भयो ।
यसरी मञ्जुश्रीको हिरक श्रृङ्खला राष्ट्रका अङ्ग प्रत्यङ्गमा छिरेको विकृति र विपर्यासमाथि हास्यव्यङ्ग्यात्मक परिहास गर्दै सम्पन्न भयो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































