सुलसुलेकृति लोकार्पण, स्रष्टासम्मान तथा रचनावाचन
करिब दुई जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकाका सहभागीहरूको केन्द्रीयता बनेको कार्यक्रममा स्रष्टा र द्रष्टाहरूको बाक्लै उपस्थिति रहेको थियो ।

इलाम, ०८० असार १ । इलामको रोङ गाउँपालिकाअन्तर्गत उद्योग वाणिज्य संघको सभा हलमा एउटा विशिष्ट साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इलाम जिल्लाको सदरमुकाम इनपाअन्तर्गत मरब क्याम्पस इलामका प्राध्यापक बुद्धिप्रसाद घिमिरेको नाममा स्थापित संस्था बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठान, कोशी प्रदेश, इलाम नेपालको आयोजना र रोङ गाउँपालिकाको सहकार्य रहेको हो ।
कार्यक्रममा सहभागीहरू समयमै उपस्थित हुनु र सङ्ख्यात्मक भन्दा पनि गुणात्मक सहभागीता रहे तापनि कार्यक्रम भने ढिलो गरी सञ्चालन भएको थियो । करिब दुई जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकाका सहभागीहरूको केन्द्रीयता बनेको कार्यक्रममा स्रष्टा र द्रष्टाहरूको बाक्लै उपस्थिति रहेको थियो । सबैका आदर्श पात्र बुद्धिप्रसाद घिमिरेप्रति सिर्जनशील व्यक्तिहरूले सम्झेर गुन लगाए । उनकै पत्नी कवि टीका घिमिरेद्वारा लिखित खण्डकाव्य ’ ‘बुद्धिबिम्ब’ को लोकार्पण, समीक्षा र विमोचित कृतिमाथि टिप्पणीसमेत भएको थियो भने साङ्गीतिक, साहित्यिक तथा शैक्षिक गरी तीन कित्ताका क्षेत्रगत विशिष्टताका आधारमा तीन व्यक्तित्वहरू क्रमशः नरहरि शर्मा, मानसिंह थुलुङ र देवीका भट्टराईलाई सम्मान गरिएको थियो । त्यसैगरी मञ्चासिन अतिथिहरूबाट शुभकामना तथा केही सीमित व्यक्तिहरूबाट रचनावाचन पनि गरिएको थियो ।
सम्माननीय राजनीतिक व्यक्तित्व महेश बस्नेतको प्रमुख आतिथ्य, रोङ गापाका अध्यक्ष मनिकुमार स्याङ्बोको विशिष्ट आतिथ्य र विभिन्न साहित्यिक तथा साङ्गीतिक स्रष्टाहरूको आतिथ्यता रहेको विशिष्ट कार्यक्रममा भाषाशास्त्री महानन्द सापकोटा र बुद्धिप्रसाद घिमिरेको तस्विरमा माल्यार्पण गर्दै प्रमुख अतिथि महेश बस्नेतबाट व्यानर पढी कार्यक्रमको घुम्टी खोलिएको थियो भने उपस्थित सहभागीहरूबाट सामुहिक राष्ट्रगान गाई देशलाई सम्झने काम पनि गरिएको थियो । साथै ज्ञातअज्ञात सिर्जनशील स्रष्टाहरूलाई सम्झेर मौनधारणसमेत भएको थियो ।
कार्यक्रममा डा.देवीक्षेत्री दुलालबाट बुद्धिप्रसाद घिमिरेको किसान र मान्छे खण्डकाव्यको लामै समीक्षा प्रस्तुत भयो भने मरब क्याम्पस इलामका उप-प्राध्यापक केशबहादुर राईद्वारा विमोचित कृति बुद्धिबिम्बको सटिक तर गहिरो टिप्पणी भएको थियो ।
त्यसैगरी सूर्योदयका सिर्जनशील अभिभावक ‘मेचीपारि’ नाटकका सर्जक अग्रज स्रष्टा नरहरि शर्मा अधिकारी, वरिष्ठ सङ्गीतकार मानसिंह थुलुङ र मरब क्याम्पस इलामको मानविकी सङ्कायको स्नाकोत्तर तहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी देवीका भट्टराईलाई दोसल्ला, नगद र प्रमाण-पत्रसहित सम्मान गरिएको थियो । आयोजक संस्थाका सम्बन्धित व्यक्तित्वहरू, शुभचिन्तक र प्रायः सिर्जनशील साहित्यिक तथा साङ्गीतिक स्रष्टा र द्रष्टाहरूको उपस्थिति रहेका थिए ।
अन्वेषक युद्धप्रसाद वैद्य, डा. पुण्यप्रसाद सिग्देल (पौड्याल), प्राज्ञद्वय कोमल निरौला र रविमान लम्जेल, साहित्यकारहरू होम सुवेदी, तुलाराम पुरी, केशबहादुर राई, टीका घिमिरे, इन्द्रनारायण सुवेदी, सञ्चारकर्मी चन्द्र भण्डारी, मोक्ष खतिवडा, डिल्लीप्रसाद सुवेदी, नदी भट्टराई, खगिन्द्रा खुशी, पवित्रा घिमिरे दिवाकर भण्डारी, शिव अधिकारी इलामे जेठो, कुलप्रसाद ढकाललगायत करिब तीन दर्जन थिए भने साङ्गीतिक स्रष्टाहरूमा मानसिंह थुलुङ, पूजन प्रधान, भूपेन्द्र राई, टीका भट्टराई नेपाल रहेका थिए । कार्यक्रममा मोक्ष खतिवडा, पवित्रा घिमिरे, खगिन्द्रा खुशी, कुलप्रसाद ढकाल आदिले कवितावाचन पनि गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश नपारिए तापनि इन्द्रनारायण सुवेदीको अध्यक्षता र देवी गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रममा स्रष्टाद्वय जीवनहरि पोखरेल तथा दिवाकर भण्डारीको सहजीकरण रहेको थियो ।
०००
-मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest












































