फित्काैली डटकमकथाकार विश्वम्भर चञ्चलको निधन, पशुपति आर्यघाटमा अन्त्येष्टि
चञ्चल वि.सं २०२० सालमा रूपरेखा साहित्यिक मासिकमा “एक लास हाँसिरहेछ” कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएकाे थियाे । कविता लेखनबाट साहित्य यात्रा सुरु गर्नु भएका उहाँको लेखनको प्रमुख विधा भने कथा रह्यो ।

काठमाडाैं, २०८० पुस २२ । नेपाली कथाकाका एक हस्ती कथाकार विश्वम्भर चञ्चलको निधन भएको छ । वि.सं १९९८ साल जेठ २९ गते काठमाडौँ जन्मेका चञ्चलको आइतबार काठमाडौँमा निधन भएको हो ।
उहाँको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८३ वर्षीय चञ्चलका केही महिनाअघि मात्र ‘बाँचेको युग मरेका मान्छे’ (अनुभव र अनुभूति) र इन्मेरिका (नियात्रा सङ्ग्रह) प्रकाशित भएको थियो।
वि.सं १९९८ साल जेठ २९ गते धर्मस्थली, महाङ्काल, काठमाडौंमा जन्मेका चञ्चल वि.सं २०२० सालमा रूपरेखा साहित्यिक मासिकमा “एक लास हाँसिरहेछ” कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएकाे थियाे । कविता लेखनबाट साहित्य यात्रा सुरु गर्नु भएका उहाँको लेखनको प्रमुख विधा भने कथा रह्यो ।
उहाँले बालसाहित्यमा पनि कलम चलाउनु भयाे । लेखनको उत्तारार्धमा उनले संस्मरण, यात्रा संस्मरणलगायतका गद्य विधामा समेत कलम चलाउनु भएकाे थियाे । उहाँको संलग्नता अनुवाद र सम्पादनमा समेत रहेको थियो ।
उहाँका प्रकाशित कथासङ्ग्रहरु अतृप्ति (२०२६), विश्वम्भर चञ्चलका कथाहरु (२०३३), जीवनवृत्त (२०४०), युध्द भड्किरहेछ (२०४७), अनामनगर (२०५४), गन्तव्यहीन दिशाहीन (२०५७) लगायत रहेका छन् । त्यस्तै, यात्रा संस्मरणहरुमा क्षितिजदेखि क्षितिजसम्म, बाँचेको युग मरेका मान्छे, ईन्मेरिका आदि रहेका छन् ।
बालसाहित्यमा टमको बहादुरी (बाल उपन्यास, २०३०), पञ्चैवाजा (बाल लोककथा, २०३०), ओक्कल दोक्कल (बालगीत सङ्ग्रह, २०३८), वायुपङ्खी घोडा (बालकथा सङ्ग्रह, २०४६), बझाङका तारा (२०४०), मुसो चिं-चीं बिरालो म्याउँ (बालगीत, २०४७), झ्याँतै तुली(बालगीत, २०५३), अष्ट चिरञ्जीवि (जीवनी, २०५५) लगायतका कृतिहरू रहेका छन् ।
चञ्चलले साहित्य सेवाका लागि विविध पुरस्कारहरू समेत प्राप्त गरेका थिए । उहाँले मैनाली कथा पुरस्कार (२०४३), राष्ट्रिय बाल साहित्य पुरस्कार (२०५४), बाल पुस्तक पुरस्कार (२०४७), रत्न बाल पुरस्कार (२०५७), नूर गङ्गा बाल साहित्य पुरस्कार (२०६९), भैरव वाङ्मय पुरस्कार (२०७९) प्राप्त गर्नुभएकाे थियाे । ।
सरकारी सेवामा आफ्नो जीवनको लामो कालखण्ड बिताएका उहाँ साझा प्रकाशनका सञ्चालक तथा महाप्रबन्धक समेत हुनुभएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest







































