सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वर्गबाट नर्क

ब्रह्माणीले भनिन्, ‘यो निकै विचित्रको कुरो रहेछ देव तपाईंको सृष्टिमा । काम गर्नेहरू दुःखी र काम नगर्नेहरू सुखी !’ ‘यही मेरो नवीन योजना हो प्यारी ! अब भन त मेरो संसार एकदम नवीन छ नि ? स्वर्गको नक्कल त हैन ? ब्रह्माले अभिमानपूर्वक भने ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

आफ्नो सृष्टिमाथि गर्वयुक्त दृष्टि पार्दै ब्रह्माले ब्रह्माणीसित सोधे, ‘मेरो सृष्टिलाई देख्यौ त प्रिये ?’ ब्रह्माणीले चारैतिर दृष्टि लगाइन् अनि आँखामा प्रश्नवाचक चिह्न लिएर पतिलाई हेरिन् ।

ब्रह्माले अभिमानपूर्वक भने, ‘हेर त कति सुखी छ मेरो संसार ! कति पूणर् बनाएको छु ? लौ हेर, अन्नले भरिएका खेतबारीमा किसानले खुसीका गीत गाइरहेको छ । अन्न पनि कति हो ! कति धेरै फलपूmल ! मााधवी गाईहरू ! दुध, घिउ, नौनी र दहीका त खोला नै बगेका छन् । कति बाहुल्य छ ! कुनै वस्तुको अभाव नै छैन । सबै सन्तुष्ट छन्, सबै सुखी छन् । उता हेर प्रिये …..!’

‘तर…!’ ब्रह्माणी बिचमै बोलिन् । यति लामो मन्तव्यका कारण बिचरी केही दिक्क परेकी थिइन् । अनि ब्रह्मा आफ्नै मुखले आफ्नै कामको प्रशंसा गरिरहेका थिए । आफ्नी पत्नीले भन्दा बढी आफ्नो प्रशंसा सुनिदिने धैर्यवान् व्यक्ति अरू को पाइन्छ र ?

अँ त, ब्रह्माणीले सविनय भनिन्, ‘तर देव ! हजुरले त हजुरको सृष्टि एकदम नयाँ कुरो हुनेछ भनेर भन्नुभएको थियो । सबैभन्दा भिन्दै हुन्छ भन्नुभएको थियो । तर यसमा र स्वर्गमा अन्तर नै के छ र ? हजुर त मौलिक संसारको रचना गर्ने योजना बनाउँदै हुनुहुन्थ्यो । तर यो त स्वर्गकै नक्कल भयो नि !’

ब्रह्माको मुख ओइलायो । आइमाईको व्यङ्ग्यको तीक्ष्णताको बोध कुन भाग्यमानीलाई हुँदैन र ? अनि ब्रह्मालाई पनि यो सक्कलअनुसारको नक्कल त्यत्तिकै कष्टकर थियो जति परीक्षाकक्षबाट निकालिएको नक्कल गर्ने विद्यार्थीलाई वा कविता चोरीको पोल खुलेपछि चोरी गर्ने कविलाई हुन्छ ।

अनि ब्रह्माले टाउको कन्याएर सोचे । सोचेर टाउको कन्याए । कति कन्याए भने तालु नै खुइलियो । ब्रह्माले दिनभरि सोचिरहे । यत्तिकैमा यता एक हजार वर्ष बिते, किनभने ब्रह्माजीको एक दिन मनुष्यको हजार वर्ष बराबर हुन्छ भनेर हाम्रा छिमेकी सत्यनारायणका कथावाचक ‘पन्डिज्जी’ भन्नुहुन्छ ।

अन्ततः ब्रह्माजीले एउटा नयाँ जीवको ढाँचा आफ्नो कारखानामा बनाउन लगाए । भ्यात्त परेको स्थूल शरीर, पार्वतीनन्दन (गणेश)को पेट अनि नारदमोहको समयमा नारदको जस्तो अनुहार बनेको थियो (बाँदर) त्यस्तै अनुहार लिए ।

इन्जिनियले भन्यो, ‘देव, यसका आँखा छैनन् ।’
ब्रह्माले एउटा छेस्को लिएर नाकका दुबैतिर अलिकति कोरिदिए ।
‘निकै साना भए देव !’ इन्जिनियरले निवेदन गर्‍यो ।

ब्रह्माजीले भने, ‘ठिकै छ । अनि पो यो ‘आँखाले अन्धो र गाँठाले भरिपूणर्’ भनेर चिनिएला । अनि हेर त, यसको शरीरमा छालाको एउटा बाक्लो लिउन पनि लगाइदेऊ किनभने यसले चमडी निकाल्ला तर दमडी निकाल्ने छैन ।’
‘जो आज्ञा !’ भनेर इन्जिनियर जान खोज्यो ।

‘अनि सुन त । यसलाई छिटै बनाएर संसारमा रमाना गरिदेऊ ।’ ब्रह्माजीले आज्ञा दिए ।
केही दिनपछि ब्रह्माले पत्नीसित भने, ‘हिँड प्यारी, आज म तिमीलाई मेरो संसार देखाएर ल्याउँछु ।’
ब्रह्माणीले टार्न खोज्दै भनिन्, ‘भो, भो छाडिदिनुस् महाराज ! त्यसमा के पो नवीन होला र ?’
‘हैन हैन, एक पटक फेरि गएर त हेर ।’ ब्रह्माले आग्रह गरे ।
ब्रह्माणी मन नलागी नलागी सँगै गइन् ।

ब्रह्माजीले भने, ‘सम्झना छ प्यारी, त्यस दिन तिमीले भनेकी थियौ नि मेरो संसारमा कुनै नवीनता छैन भनेर । आज हेर ।’
ब्रह्माणीले हेरेर भनिन्, ‘ओहो ! यो किसान त निकै दुर्बल पो भएछ । महाराज, हेर्नुस् त, च्यातिएका लुगा, मलिन मुख लिएर बिचराले भारी बोकिरहेको छ । के भयो यसलाई ?’
‘अझै अरू पनि हेर्दै जाऊ ।’ ब्रह्माले औंलाले देखाउँदै भने ।

‘ओहो ! यो मानिस कति दुःखी छ । के यो निर्धन हो ? तर यसले त अझै सुनखानीमा काम गर्दै छ !’
‘त्यो हेर ।’ ब्रह्माले कुनै उत्तर नदिइकन देखाउँदै गए ।
‘ओहो ! अचम्म ! देव यो कुन प्राणी हो ? निकै विचित्रको छ त । यसको घरमा यति धेरै अन्न भरिएको छ । यो अन्न त त्यस किसानको हो नि, हैन र ? अनि यसकहाँ कहाँबाट आयो ? अनि यो द्रव्य ! यो त त्यो श्रमिकले ल्याउँदै थियो, अनि यसको कसरी भयो ? यो त दिनभरि यहीँ महलमा बसेको बस्यै छ !’

ब्रह्माणीले फेरि भनिन्, ‘अनि यी के हुन् देव दैत्यजस्ता ? मुखबाट धुवाँ फालिरहेका छन् ।’
ब्रह्माले उत्तर दिए, ‘यी कारखानाहरू हुन् प्रिये ! यी उही विचित्रको प्राणीका हुन् । यिनमा हजारौं श्रमिकहरू काम गर्छन् जसबाट उसले असीमित द्रव्य प्राप्त गर्दछ ।’
ब्रह्माणीले भनिन्, ‘के भन्नुभयो महाराज ? काम श्रमिकले गर्छन् र द्रव्य प्राप्त गर्छ उसले ? यस्तो त कहिल्यै सुनेकी थिइनँ । निकै अनौठो कुरो रहेछ ।’

‘यहाँ यस्तै हुन्छ प्रिये !’ ब्रह्माले समाधान गरे ।
ब्रह्माणीले निकै ध्यान लगाएर एकातिर हेर्दै थिइन् । एकाएक बोलिन्, ‘गाईहरू देखिँदैनन् महाराज ! अनि यी फलपूmल टिपेर किन खाँदैनन् त बटुवाहरू ? के उनीहरू विरक्त भएका हुन् ?’
‘कहाँ हुुनु प्यारी !’ ब्रह्माले भने, ‘यी सबै उपवनहरू त्यसै मोटो विचित्रको जीवका हुन् । उसले यो सबै किनेको छ । अब यसका फल कसैले टिप्न पाउँदैन ।’

‘किन महाराज, यी वृक्षहरू के उसले रोपेका हुुन् र ? यी त सबैका हुन् ।’ ब्रह्माणीले साश्चर्य भनिन् ।
यत्तिकैमा संसारमा अँध्यारो भयो । ब्रह्माणीले के देखिन् भने दिनभरि कामले थाकेर लखतरान परेर घरमा आएको किसान निस्तो रोटी खाएर भत्केको छाप्राभित्र भाँचिएको खाटमा ढल्यो । उता त्यो नवीन प्राणी भने द्रव्य गनेर उठ्यो अनि स्वादिष्ट भोजन गरेर मखमलको बिछौनामा विशाल अट्टालिकाभित्र आरामले सुत्यो ।

ब्रह्माणीले भनिन्, ‘यो निकै विचित्रको कुरो रहेछ देव तपाईंको सृष्टिमा । काम गर्नेहरू दुःखी र काम नगर्नेहरू सुखी !’
‘यही मेरो नवीन योजना हो प्यारी ! अब भन त मेरो संसार एकदम नवीन छ नि ? स्वर्गको नक्कल त हैन ? ब्रह्माले अभिमानपूर्वक भने ।
‘हो देव, पुरै नवीन । तर कति भयङ्कर ..!’ ब्रह्माणी मलिन मुख लिएर फर्किन् ।

०००
(यो रचना परसाई रचनावली-  २ बाट लिइएको हो । यसमा एउटा उपन्यास, लामा कथा, कथा र लघुकथाहरू छन् । यो कथा वर्गको रचना हो ।)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
इनाम र इमान

इनाम र इमान

हरिशंकर परसाईं
सम्मान र फ्रेक्चर

सम्मान र फ्रेक्चर

हरिशंकर परसाईं
एउटा अशुद्ध बेकुप

एउटा अशुद्ध बेकुप

हरिशंकर परसाईं
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
उत्तरआधुनिक दशैँं

उत्तरआधुनिक दशैँं

रामप्रसाद पन्थी
ङिच्चपुराण

ङिच्चपुराण

रमेश समर्थन
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
0
Would love your thoughts, please comment.x
()
x