रामशरण न्याैपानेबाआमाको महिमा
आशा छन् उनका विशाल मनका भाषा झनै निर्मल, आफ्ना सन्ततिका सवाल कति छन् गर्दै नगर्ने छल, इच्छा ती मनका बुझेर सबले सेवा गरौं कञ्चन, जो पाल्ला जननी बुबा सकल त्यो मान्छे भयो सज्जन ।

विष्णु भण्डारी :
यो संसार रहे बुझिन्छ दुनियाँ पाइन्छ धेरै कुरा
माया प्रेम लिएर शान्त मनले फक्रिन्छ रे आँकुरा
बाआमा नभए गयो नि सपना संसार निस्सार छ
हुन् है देव समान ती जगतमा हो बाँच्न आधार छ ।१।
मायामा दुनियाँ अडेर धरती सृष्टि चलेको छ रे
पाका वृद्ध सबै निहाल सबले रुन्छन् नि हेलाँ गरे
बाआमा गुरु हुन् हिमाल सरिका आँटी गुनी बेहद
तिन्कै पालन गर्नु हो सब कुरा अग्लिन्छ हाम्रो कद ।२।
यौटा जीवन हुर्कियो मखमली पाएर माया जब
आमाको ममता पिता सकलको कर्तव्यले वास्तव
के पायो उसले पिता र जननी राखेर बृद्धाश्रम
ती हा्म्रा भगवान हुन् र गुरु हुन् ठानौं उनै वैभव ।३।
पीडा छन् अभिभावकै बनिकनै सन्तान हुर्काउन
गल्ती हुन्छ भने दिएर ममता लागे नि सम्झाउन
फर्कौं है जति छौं सुदूर जगमा सम्झेर आमा बुबा
पढ्छौ धेर किताबका नियम ती मान्छे भने बुर्जुवा ।४।
आशा छन् उनका विशाल मनका भाषा झनै निर्मल
आफ्ना सन्ततिका सवाल कति छन् गर्दै नगर्ने छल
इच्छा ती मनका बुझेर सबले सेवा गरौं कञ्चन
जो पाल्ला जननी बुबा सकल त्यो मान्छे भयो सज्जन ।५।
०००
तनहुँ
Subscribe
Login
0 Comments
Oldest




































