सकसोलोजी
म, यो प्रोफेसर जगमोहन आजादको मितवा, अभिनय न्यूनीकरण अभियानमा छु । नो झूट, नो खुराफात, नो छलछाम ! जय नेपालको न्यानो लालसलाम कमरेड पवित्रजी ! यही हो सकसोलोजी !”
धनराज गिरी :
दाइ बन्दाबन्दै भाइ बन्न पुगेका एक मित्र, पवित्रकुमार नेपालीसित विदेश आएपछि प्रोफेसर केशवनारायण सापकोटोपाध्याय आनन्दको आत्मीयता अझ घना भयो । वार्ता हुन थाल्यो, भार्ता भनेर । एक दिन, अचानक पवित्रको सुन्दर जोडीको ‘टिक्टक’ ले प्रोफेसरको ध्यान तान्यो । “आखिर रमाइलो कसलाई चाहिन्न ? आखिर कसको मन रोमान्टिक हुन्न ?” उसले सोच्यो ।
अक्सर गीता नै पढ्न रुचाउने नेपालीले गीततिर पनि ध्यान दिएको देख्दा आनन्दको मन रमायो, “साथीले जिउन जानेको रहेछ” यस्तै सोच्यो । मन मानेन, भिडिओ कल गर्यो, नमस्कार गुरुदेव !” उज्यालो अनुहार र मुस्कान आयो, प्रोफेसर बोल्यो, “अभिवादन कमरेड !” एकछिन अर्का आत्मीय बन्धु ‘श्रीसम्पाकेश्वर महादेव डी आर सन्तोष’ को चर्चा भयो । उनी पनि उज्याला । सबै आलोकनगरवासी !
००
“पवित्रजी, आज तपाईंको लीलाले मोग्याम्बो खुश हुवा । सारै आनन्द आयो । जिउने कला यही हो । नत्र भने हामी सरोकार नै नभएको विषयमा दिमाग लगाएर तनावको भारी बोक्ने नि ! यसो बिचार गर्दा काम लाग्ने उत्पादकत्व भएको कुराहरूमा मात्र ध्यान दिने हो भने यो ‘सकसोलोजी’ जीवनमा न्यून हुने नि । पोखराको तनाव पनि यही मगजमा, ककने पनि यही मगजमा, बालेन, हर्क, रवि, गोपाल, ओली, माधव, शेर, के के के के, आफ्नो मन र मगजलाई डम्पिङ साइड बनाउने नि, हरि अधिकारी दाजीको ‘फक एन्ड फर्गेट’सूत्र लगाए आनन्द । होइन र ?”
“क्या चित्त बुझ्दो कुरा गर्नुभयो सर । हो नि, बेकारको ठेक्का ! बरू यो ‘सकसोलोजी’ भनेको के हो नि सर ? हजुरको भाषा बुझ्न् गाह्रो हुन्छ । मेरो अनुज, दाजी अनुज उज्याला पर्वतेले मात्र बुझ्ने हो कि हजुरलाई ? लौन सर !”
“पवित्रजी, सकस छ, हामीलाई धरतीमा ल्याउन, पहिला, आमालाई सकस भयो । बाको शिर कति ठाउँमा निहुरियो होला, सन्तानको निम्ति ! यो जीवन नै एक सकसयात्रा हो । कहाँ छैन सकस ? साथी, यही अनन्त सकसभित्रको “ ‘बकस’ हो जिन्दगी । यही ‘सकसोलोजी’ बुझेर तदनुसार व्यवस्थापन गर्नु नै विवेक प्रयोग गर्नु हो । पवित्रजी, नामजस्तै मन पवित्र बनाउन सजिलो छ ? छैन । धनराजहरूसित धन छ ? छैन । साथी, यो जिन्दगी एक सत्ता हो भने, यो शरीर पहिलो प्रतिपक्ष हो, वैरी हो, रोगको घर ।
त्यसपछि “अविवेकी, अयोग्य र अकर्मण्य आफन्त अर्को प्रतिपक्षी । बाहिरी दुनियाँ त केही होइन, उही हरिबोल “फक एन्ड फर्गेट” प्रयोग गरे हुन्छ । आफन्त नालायक भएमा सकस हुन्न र ? यही हो सकसोलोजी ! पत्नीसुख र सन्तान सुख भए “सकसमुक्त” जीवन बनाउन सकिन्छ । होइन भने यो मुस्कान एक अभिनय मात्र हुन्छ । गीत, साहित्य र मित्रमिलनले सकसोलोजीको पीर कम गराउने हुन्छ । म, यो प्रोफेसर जगमोहन आजादको मितवा, अभिनय न्यूनीकरण अभियानमा छु । नो झूट, नो खुराफात, नो छलछाम ! जय नेपालको न्यानो लालसलाम कमरेड पवित्रजी ! यही हो सकसोलोजी !”
“हा हा हा, हजुरसित कुरा गरेपछि झापा न गौर, कुछ और, सारै आनन्द लाग्छ । हो नि सर, यसरी रमाउन जान्नुपर्छ । अब मेरो गीता पाठ शुरू हुन्छ है, धन्यवाद सर ! मज्जा आयो ।”
“म पनि सीतामणि जानु छ, सकसोलोजीमाथि प्रवचन दिन ! जय हो पवित्रजी ! आजको नास्ता भुइँ कटहर !”
“हा हा हा, सरले फेरि अर्को सकसोलोजी सम्झिनु भो ! जय नेपाक सर !”
यसरी रमाउने गर्छन् यी दुई मित्रहरू, जमानामा “सीता और गीता” सिनेमा हेरेका थिए गणेश चलचित्र मन्दिरमा । प्रोफेसर ’सकसोलोजी’ माथि चिन्तन गर्न थाल्यो, पवित्र मन बनाएर ।
०००
चितवन