खोलाघरे साहिँलोेपाकाहरूलाई केही सल्लाह
जो होला ओखतीको नियम समयको ख्याल राखेर खानू गल्तीले अन्य पर्ला अलग अलग गरी राख्नमा होश गर्नू के खाने के नखाने हकिमसित बुझी ठोस सल्लाह मान्नू आफैंले स्वास्थ्यआफ्नो नियमित रहने सीप जान्नू,नभुल्नू ।

खोलाघरे साहिँलो :
पाकाले बुझ्नुपर्ने अलिकति गफ छन् सुन्नुहोस् चित्त लाई
जो होलान् सावधानीसित अमल गरे गर्न सक्ने भलाइ
उठ्नू एकाबिहानै,मलरहित हुनू, गर्नु व्यायाम केही
जे सक्ला गाथले ती नियमसित गरे स्वस्थ बन्नेछ देही । १।
सिद्ध्याई योग, व्यायाम र नियमित नै मिल्छ ता स्नान गर्नू
पूरापूरा नमिल्ने स्थिति यदि छ भने जे छ सम्भाव्य गर्नू
पूजा वा ध्यान गर्ने चलन छ यदि ता दैनिकीमा परेको
सो गर्नू सो चलेको स्थिति यदि नभए व्यस्त भै राख्नु राम्रो । २।
आफ्नै खुट्टा सधिन्छन् नियमसित सधैं एक घण्टा त डुल्नू
बाटामा भेटिएलान् रथ, शकट कुनै लोभले ती नचढ्नू
लामो यात्रा भएमा सहज र भरको यान खोजेर चढ्नू
आफैं जान्ने भएमा पनि शकट कुनै हाँक्न चासो नराख्नू ।३।
आफूमा क्रोध पारो यदि सजग भए व्यक्त गर्दै नगर्नू
छोड्नू गर्दै नगर्नू बहस फजुलका तर्क सुन्नू न गर्नू
धेरै जम्मा नगर्नू जमिन र धनका लागि हत्ते नगर्नू
के जान्नू काल ढुक्तैछ कि नजिकतिरै पर्छ वा झट्ट मर्नू ।४।
थप्नाले काम्य, इच्छा सुखकर सपना देख्नुले शान्ति दिन्न
अड्दा आफ्नै ढिपीमा पनि कतिपयको दृष्टिमा ग्राह्य हुन्न
छोरा वा नातिपुस्तासित वचन मिठासाथ हाँसेर बोल्नू
सानाले भूल गर्दा पनि सहज लिनू तुच्छ गाली नगर्नू ।५।
जस्तो देलान् पकाई घरपरिजनले त्यो खुशीसाथ खानू
खानामा दोष देख्ने लत यदि बनिए बन्छ मान्छे बिरानू
पानी पर्याप्त खानू, रुचिसँग सजिला पथ्यका खाद्य खानू
आफैं सङ्कल्प गर्नू बनिन दृढव्रती,नीति मान्नू,नछोड्नू । ६।
चिल्लो खाँदै नखानू,यदि छ रहर वा पच्छ ता थोर खानू
मीठाको लोभ लागे पनि कम गुलियो होश राखेर खानू
आफ्ना जे छन् दवाई समयसमयका ठिक्क पारेर राख्नू
आफूले चिन्नलाई सकस यदि भए जो छ जान्ने पुकार्नू ।७।
जो होला ओखतीको नियम समयको ख्याल राखेर खानू
गल्तीले अन्य पर्ला अलग अलग गरी राख्नमा होश गर्नू
के खाने के नखाने हकिमसित बुझी ठोस सल्लाह मान्नू
आफैंले स्वास्थ्यआफ्नो नियमित रहने सीप जान्नू,नभुल्नू । ८।
यस्ता धेरै कुरा छन् कति त असजिला लाग्न सक्लान् तथापि
गर्ने अभ्यास थाले अलिकति सजिलो बन्न सक्ला प्रणाली
आफ्नो नाता र साथी, घरपरिजनमा रम्न खोजौं विशेष
आफैंलाई हुने हो यति मनन गरे शान्ति होला अवश्य ।९।८८८
०००
काठमाडौं










































मीठो । मननीय उक्ति।पाकालार्इ मात्र होइन ठेट्नालार्इसमेत उपयोगी लाग्छन्।