दीनानाथ पाेखरेलबाबुआमा (काव्यांश- ३४)
सारा संसार हेरूँ नित मन करले प्राप्ति सङ्ला समाऊँ । नौला आशा उमार्दै भवभर म डुलूँ योग्य मान्छे भनाऊँ ।। धर्ती रम्ने सुबाटो खुरुखुरु म हिँडूँ कृत्य ऊर्जा उमारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

दीनानाथ पोख्रेल :
मान्छे हो पाउ पर्ने मनमल नहुने उड्छ आकाश माथि ।
मान्छे हो माथ टेक्ने खल पशु भवको पोख्छ झर्को नजाती।।
दुर्छे बानी हटाई कृत पथ म बढूँ दिव्य आँखा उघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६६।।
जम्मै संसार टोक्ने मनमल ननिको चेत छानेर फालोस्।
मान्छे हो योग्य भन्ने जननयनविषे शिष्टता दीप बालोस् ।।
हेरोस् संसार जम्मै मनबह ननिका काट्न लागोस् कटारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६७।।
रुन्छिन् नेपाल आमा धुरुधुरु जहिल्यै दुख्छ छाती कुनामा ।
दुख्ने नेपाल आमा खुद पथ म हिँडे सौख्य पर्छन् थुनामा।।
उम्दा पारूँ क्रियाले मृदु सुख घरमा मिल्छ चिन्ता पछारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६८।।
खोजूँ सत्कर्म बाटा हितमय बटुली साधना सार पोखूँ ।
सङ्लो सायुज्य पक्री कृत फल असुली हर्षको हार बोकूँ।।
बन्नै पर्नेछ अग्लो गुणयुत कृतमा नित्य आँखा उघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।६९।।
सारा संसार हेरूँ नित मन करले प्राप्ति सङ्ला समाऊँ ।
नौला आशा उमार्दै भवभर म डुलूँ योग्य मान्छे भनाऊँ।।
धर्ती रम्ने सुबाटो खुरुखुरु म हिँडूँ कृत्य ऊर्जा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७०।।
०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम
Subscribe
Login
0 Comments
Oldest





































