घनश्याम रेग्मीकुसेऔंसी र बाबा !
आफू भोक खपे सहे नियतिका काला अँध्याराहरू सन्तानोन्नति मार्गचित्र खिचियोस् भोगे उकालाहरू संस्कारादि दिएर बाल मनमा बत्ती उज्यालो दियौ बाबाको छ महत्त्व के यति कुरा हामी सबैले बुझौँ ।

घनश्याम रेग्मी :
धर्तीमा अहिले छु मानव बनी घुम्दै र फिर्दै यता
बाबाकै सब योगदान बलले हुर्की बढेका कथा
बाबा सर्जक हुन् ठुला अवनिका हुन् देव सच्चा पुजौँ
हाम्रा सर्जकको महत्त्व पहिले हामी सबैले बुझौँ ।।१
हाम्रा साथ अनन्त छन् हृदयमा साना छँदाका कथा
बाबा साथ हुँदा र फेरि नहुँदा भोग्दा अनेकौँ व्यथा
जो सन्तान उठाउने विषयले कर्तव्य गर्छन् युगौँ
बाबाको छ महत्त्व के यति कुरा हामी सबैले बुझौँ ।२
सल्ला आज सुसाउँदै अतितका गाएर भाकाहरू
तिम्रै पौरख फूर्ति जाँगर फली हाँसेर पाखाहरू
तिम्रा ती सपना फुलेर अहिले बाला झुले हुर्कियौँ
बाबाको कति हो महत्त्व अब लौ हामी सबैले बुझौँ ।।३
बाबाको करुणा कृपा सब मिली हामी भयौँ मानव
बुझ्दैनन् उनको महत्त्व जसले नित्कृष्ट हुन् दानव
सच्चा कर्म सिकाउने जनकका सङ्घर्ष सिक्दै बढौँ
आफ्ना सर्जकको महत्त्व पहिले हामी सबैले बुझौँ ।।४
लाए जीर्ण लुगा नयाँ वसन ती सन्तानका निम्तिमा
बाला दिव्य झुलून् यही नियतले कोर्दैरह्यौ भूमिमा
आफ्ना जीवनमा सधैँ श्रम गर्यौ सन्मार्ग रोपी गयौ
फुल्छौँ दिव्य बगान आज कलिका फर्की नहेर्ने भयौ ।।५
आफू भोक खपे सहे नियतिका काला अँध्याराहरू
सन्तानोन्नति मार्गचित्र खिचियोस् भोगे उकालाहरू
संस्कारादि दिएर बाल मनमा बत्ती उज्यालो दियौ
बाबाको छ महत्त्व के यति कुरा हामी सबैले बुझौँ ।।६
०००
भरतपुर ५, नारायणपुर, चितवन
Subscribe
Login
0 Comments
Oldest







































