रामशरण न्याैपानेआमा नै हुन् सृष्टिकर्ता विधाता
बस्छिन् रोजै स्नेह गङ्गा बगाई छोरा छोरी हुर्किदा झन् रमाई राजी बन्ने खोल्न वात्सल्य खाता आमा नै हुन् सृष्टिकर्ता विधाता॥

रामशरण न्यौपाने :
हाँस्दै नाच्दै कर्मको गीत गाई
खम्बा बन्दै त्यो गृहस्थी सजाई
धोई पोती राख्दछिन् रम्य हाता
आमा नै हुन् सृष्टिकर्ता विधाता॥१
पीडा भोगी गर्भ बोकेर भारी
रक्षा गर्दै मास नौ पूर्ण पारी
पैदा गर्ने रक्तको जोड्न नाता
आमा नै हुन् सृष्टिकर्ता विधाता॥२
राख्छिन् छोपी दुग्धधारा चुसाई
छातीभित्रै च्याप्प च्यापी घुसाई
बन्छिन् आफैँ ढालझैँ वज्र गाता
आमा नै हुन् सृष्टिकर्ता विधाता॥३
ताराबाजी गीत मीठो सुनाई
काटी आफ्नै पेट आधा बचाई
दिन्छिन् खाना आँतलाएर ताता
आमा नै हुन् सृष्टिकर्ता विधाता॥४
छोरा छोरी पीठ हाली नचाई
गर्दै आफ्नो काम भ्याई नभ्याई
राख्ने पानी घाम ओतेर छाता
आमा नै हुन् सृष्टिकर्ता विधाता॥५
बस्छिन् रोजै स्नेह गङ्गा बगाई
छोरा छोरी हुर्किदा झन् रमाई
राजी बन्ने खोल्न वात्सल्य खाता
आमा नै हुन् सृष्टिकर्ता विधाता॥६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































