घनश्याम रेग्मीवृद्ध पुस्ताको सेवामा जुटौँ
पूजा र तीर्थ यै हो सन्तानको धरामा लाग्ला सराप बिर्से भोग्छौ यही गरामा कर्तव्य गर्न थालौँ हेमन्त पार्न राम्रो वृद्धादि गर्नु सेवा कर्तव्य हुन्छ हाम्रो ।।

घनश्याम रेग्मी :
प्यारो थियो शरद्को माधुर्ययुक्त घाम
आनन्दपूर्ण लाग्थ्यो त्यो शारदीय याम
हेमन्त भित्रिएको ल्याई रुघा र खोकी
लुक्दै यहाँ घुसेको व्याधी र शीत बोकी।।१
वृद्धादिमा थपिन्छन् सङ्कष्ट यो पलामा
खोकी जमी बसेको फोक्सो तथा गलामा
पानी चिसो हुनाले गाह्रो बिहान साँझ
हेमन्त राज गर्दै मस्किन्छ लोकमाझ ।२
पानी चिया र खाना तातो सुअन्न मेवा
वृद्धादिमा दिएमा सो हुन्छ दिव्य सेवा
न्याना लुगा झिकाऔँ हामी बजारबाट
पाकाहरू बचाऔँ हेमन्त मारबाट ।।३
नानीहरू ससाना पैह्रेर वस्त्र एक
कष्टादि भोग्दछन् ती राखौँ त्यहाँ विवेक
टोपी जुता र मोजा बाक्ला सके जुटाऔँ
हेमन्तसाथ लड्ने सामर्थ्य यो दिलाऔँ ।।४
आगो धुनी जगाई न्यानो गरेर बास
राम्रो गरौँ व्यवस्था बासा नहोस् प्रबास
सामर्थ्य हीन हुन्छन् वृद्धादि शक्ति घटदा
यस्ता कुरा बुझौँ लौ हामी समीप बस्दा ।।५
पूजा र तीर्थ यै हो सन्तानको धरामा
लाग्ला सराप बिर्से भोग्छौ यही गरामा
कर्तव्य गर्न थालौँ हेमन्त पार्न राम्रो
वृद्धादि गर्नु सेवा कर्तव्य हुन्छ हाम्रो ।।६
०००
विकास चोक ५, चितवन
Subscribe
Login
0 Comments
Oldest







































