सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भैरव दाइ मेरा लागि महा-हास्यव्यङ्ग्यकार

हामीले देशविदेशमा अनगिन्ती पुरस्कार तथा सम्मान पाइसकेका थियौं । तर हाम्रै ‘रोलमोडल’ भैरव दाइको नामसँग जोडिएको पुरस्कार पाउन भने हामीले वर्षौ कुर्नुपर्‍यो । - हरिवंश आचार्य

Nepal Telecom ad

मेलै भैरव दाइका कृतिहरू पढेको २०३०-३१ सालतिर हो । जयभुँडीलगायत भैरव दाइको सबै कृतिहरू मैले पढेको छु । त्यो पनि एक पटक मात्र होइन, दोहर्‍याएर, तेहर्‍याएर समेत पढेको छु । तर बिडम्बना भैरव दाइसँग मेरो प्रत्यक्ष भेट चाहिँ हुन सकेन । म लोकभाका, लोकबोलीमा हुर्केको मान्छे, भैरव दाइका लेख पनि त्यस्तै लयमा भएकाले म उहाँको कृतिहरूतर्फ सानैदेखि निकै आकर्षित भएको हुँ । बाल्यकालदेखि नै राजधानीमा बसेको हुनाले म काँठे, झरुवा खालको भाषा बोल्थें । भैरव दाइका कृतिहरूमा पनि त्यस्तै भाषा हुन्थ्यो जसबाट म प्रभावित मात्र हुन्नथिएँ कि, एकदमै हाँसो पनि उठ्थ्यो ।

मेरो विचारमा हरेक हास्यव्यङ्ग्यमा केही रहस्य (सस्पेन्स) हुनैपर्छ । पछाडि आशै नगरिएका कुराहरू बोलिदियो भने सबैजना हाँस्छन् । पछाडिको कुरा अगाडि नै थाहा पाए भने पाठक-दर्शक हाँस्दैनन्, त्यसैले अप्रत्याशित शब्दहरू आएमा मात्र पाठकलाई हँसाउन सकिन्छ । त्यो बेलमा भैरव दाइले पक्कै व्यवसायिक हिसाबले लेख्नु भएको त होइन तैपनि मैले माथि भनेका जस्ता सबै विशिष्ट गुणहरू दाइको लेखमा छ । त्यसैले पनि भैरवदाइ मेरा लागि महा-हास्यव्यङ्ग्यकार हुनुहुन्छ । लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनेझै भैरव दाइ महा-हास्यव्यङ्ग्यकार हो । हुन त अरु पनि प्रभावशाली हास्यव्यङ्ग्यकार हुनुुहुन्छ तर मैले चाहिँ शीरमा राख्नुपर्दा भैरव दाइलाई नै राख्छु । भैरव दाइबाटै प्रेरित भएर मैले लेख्न थालेको हुँ । अहिले पनि मेरो कार्यकक्षमा उच्च सम्मान सहित आदरणीय भैरव दाइको तस्विर राखेको छु ।

धेरै साहित्यकारहरूले जनबोलीमा प्रयोग भएका शब्दहरू समेटेर तयार पारिएको आलेखलाई साहित्य मान्दैनन् । साहित्य भनेकै एकदमै गम्भीर हुनुपर्छ भन्ने मान्यता धेरैको पाइन्छ । शब्दहरू समेत शब्दकोश नै पल्टाएर हेर्नुपर्ने, सितिमिति मान्छेले नबुझ्ने कुरा लेख्यो भने मात्र त्यो साहित्य हुन्छ भन्ने मान्यता धेरै प्रतिष्ठित साहित्यकारहरूको हुन्छ । सरल लेखनीलाई साहित्य नै होइन भन्ने जमात यहाँ ठूलो छ । तर आममान्छेले जति सरल लेखमा आनन्द पाउँछ, अन्यमा विलकुल पाउँदैन । साहित्य भनेको बोलीचालीको भाषामा हुनुपर्छ भन्ने मेरो भनाइ हो । यी सबै कुरा भैरवदाइको साहित्यमा म पाउँछु । जस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटोको ‘मुनामदन’ कति सरल भाषामा लेखिएको छ, त्यसैले ७-८ कक्षामा पढ्नेले पनि सजिलै यो कृति पढ्न सक्छन् । मदनमणि दीक्षितको कृति ‘माधवी’ अत्यन्त राम्रो पुस्तक हो तर मान्छेलाई बुझ्न अत्यन्त कठीन छ । पढ्नै पर्छ माधवी भनेर जब पढ्न थाल्छु, बीचमा पुगेपछि अल्छी लाग्छ । यस्ता कृति पढ्दा दिमागको धेरै कसरत हुन्छ ।

राष्ट्रकवि माधव घिमिरेका गीतहरू निकै सरल शब्दमा लेखिएका हुनाले चर्चित छन् । कविशिरोमणि लेखनाथ पौडेलका कविताहरू पनि सरल भएकाले औधी मन पराइएका हुन् । तर नाट्य सम्राट बालकृष्ण समका नाटक बुझ्न जटिल छ । उहाँका नाटकहरूमा मैले पनि अभियन गरेको छु । तर संवाद घोक्नका लागि अति नै गाह्रो हुन्थ्यो । समज्यूले ‘जे लेखिएको छ, त्यही बोल है’ भन्नुहुन्थ्यो । अलिकित ट्विस्ट गर्न खोज्यों भने उहाँलाई चित्त बुझ्दैनथ्यो । त्यसैले समज्यूका नाटकका संवाद जस्ताको त्यस्तै घोक्न हामीलाई महाभारत नै पथ्र्यो । सरल शब्दहरू भयो भने आफैले पनि यतायता पारेर मिलाउन सकिन्छ । जस्तो कि विजयबहादुर मल्लका नाटकमा अभिनय गर्न सजिलो थियो । सरल साहित्यिक कृतिको कुरा गर्दा गुरुप्रसाद मैनालीको नासोलाई पनि सम्झन सकिन्छ । जस्तै मेरै कृति ‘चिना हराएको मान्छे’ पनि सरल भाषामा लेखिएको छ । यो कृति एक लाख भन्दा बढी प्रति विक्रि भइसकेको छ ।

यहाँ एउटा रोचक प्रसङ्ग पनि छ । एक जनाले मेरो कृति किनेर घर लैजानु भएको रहेछ, किताब हराएछ । खोज्दै जाँदा त भर्‍याङमुनि बसेर घरमा काम गर्ने नानीले पो पढ्दै गरेको पाइयो । सानी नानीले किन मेरो कृति पढ्नि त, सरल भएर पढिन् । तर बिडम्बना केहीले यसलाई साहित्य नै मान्दैनन् । मेरो विचारमा गहन साहित्यले अहिलेका युवा वर्गलाई किन छोएन भने, त्यस्तो साहित्य पढ्न मान्छेलाई गाह्रो लाग्छ । सरल शब्दमा आर्कषक शैलीले निकै पेचिलो व्यङ्ग्य गर्ने भएकाले पनि भैरव दाइ मेरो पहिलो रोजाइमा पर्नु भएको हो ।

प्रजातन्त्र पुनस्र्थापनापछि भैरव दाइको तस्विरमा माल्र्यापण गरेर मात्र हामी (म र मदनकृष्ण दाइ) ले मह गाईजात्रा शुरु गथ्र्यौ । यो विलुकल हाम्रो सोच थियो । कसैबाट हामी प्रेरित भएका थिएनौं । विशुद्ध हास्यव्यङ्ग्य हाम्रो कार्यक्रम । गीतिकार्यक्रम पनि होइन, नृत्यको कार्यक्रम पनि होइन, तर गीत पनि हुन्थ्यो, नृत्य पनि, सबै हास्यव्यङ्ग्यमा आधारित । अब सबै हास्यव्यङ्ग्य भएपछि कार्यक्रमको उद्घाटन कसरी गर्ने त भनेर सोच्यौं । अब कांग्रेसको कार्यक्रम भए पो बीपीलाई सम्झने, त्यस्तै कम्युनिष्टको कार्यक्रम भए पो पुष्पलाललाई सम्झने । हामी त राजनीतिमा आबद्ध होइनौ, त्यसैले आदरणीय भैरव दाइलाई अग्रज मानेर उहाँको तस्विरमा माल्र्यापण गर्दा उहाँप्रति सच्चा श्रद्धाञ्जली पनि हुने भएकाले हामीले त्यस्तो परिपाटी थालेका हौं ।

भैरव दाइका कृति पढ्नेहरूले हामीलाई भन्थें, ‘वास्तवमै तपाईंहरूले साँचो अर्थमा भैरव दाइलाई दिलदेखि उच्च सम्मान दिनुभयो । अग्रजलाई सम्मान गर्ने परम्पराको शुरुवात गरेर तपाईंहरूले उदाहरणीय कार्य गर्नुभयो । अब भविष्यमा तपाईहरूलाई पनि सम्मान गरिनेछ ।’ तर उहाँका कृतिहरू नपढ्ने, उहाँलाई नचिन्नेहरूले भने को हो भैरव अर्याल भनेर पनि सोधे । जवाफमा हामीले उहाँ प्रखर व्यङ्ग्यकार हो भन्थ्यौं । अहिले भएको भए आदरणीय भैरव दाइले नाटक पनि लेख्नुहुन्थ्यो होला, हामी उहाँले लेखेको नाटक मञ्चन गथ्र्यौ होला, सिनेमा पनि लेख्नुहुन्थ्यो होला, तर त्यो त्यतिबेलाको फेसन थिएन । त्यसैले ती विधामा हामीले उहाँलाई पाउन सकेनौं । हास्यव्यङ्ग्य निबन्धको हकमा उहाँलाई जति सम्मान अरुलाई गर्न हाम्रो मनले मान्दै मानेन ।

भैरव दाइको निधन (२०३३ असोज १९) को खबर सुनेर मेरो मन निकै खिन्न भएको मलाई सम्झना छ । आफ्नो मन परेको मान्छे, अब उहाँ हुनुहुन्न, उहाँका नवीनतम कृतिहरू अब फेरि पढ्न पाइँदैन भनेर म स्तब्ध भएको थिएँ । त्यति बेलासम्म मैले खासै लेख्ने काम गरेको थिइँन । तर जब लेख्नथालेँ, तब भैरव दाइको महत्व अझ बुझ्न थालें । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा काम गर्न थालेपछि मेरो सम्पर्क भैरव दाइका आदरणीय पिता (होमनाथ उपाध्याय) सँग पनि भयो । हिसाबकिताब अत्यन्त दुरुस्तै राख्ने उहाँ ‘सुब्बाबाजे’ को नामले पनि प्रख्यात हुनुहुन्थ्यो ।भैरव दाइको बुबा भन्ने थाहा पाएपछि उहाँप्रति मेरो सम्मान अझ बढेको थियो । उहाँले मलाई निकै माया गर्नुहुन्थ्यो, किन कि २०३४-३५ सालबाट त म गाईजात्रा कार्यक्रममार्फत स्थापित कलाकार भइसकेको थिएँ । भैरव दाइको विषयमा म बुबासँग कुरा पनि गर्थे । ‘राम्रो मानिस थियो, कमलो मन थियो, खै के गर्‍यो, गर्‍यो’ बुबा संक्षिप्तमा भन्नुहुन्थ्यो । कोमल हृदयका भैरव दाइ कार्यालय (गोरखापत्र संस्थान) मा सहकर्मी तथा वरिष्ठ भनाउँदाहरूको पेलानमा परेको भन्ने मैले पनि सुनेको थिएँ ।

२०३७ सालबाट हाम्रो (महजोडी) लोकप्रियता निकै चुलिएको थियो । तर हामी स्थापित भएको निकै पछिमात्र २०६१/६२ मा हामीले भैरव पुरस्कार पायौं । हामीले देशविदेशमा अनगिन्ती पुरस्कार तथा सम्मान पाइसकेका थियौं । तर हाम्रै ‘रोलमोडल’ भैरव दाइको नामसँग जोडिएको पुरस्कार पाउन भने हामीले वर्षौ कुर्नुपर्‍यो । हामीलाई किन त्यति लामो समयसम्म कुराएको होलाजस्तो लाग्दथ्यो, मन-मनमा । जे होस् भैरव दाइकै थातथलो जोरपाटीमा उहाँको सालिक अनावरण गरिएको दिन पुरस्कृत हुनपाउँदा म र मदन दाइ निकै खुशी भयौं । मदन दाइले पनि भैरव दाइलाई निकै सम्मान गर्नुहुन्छ ।

म अन्त्यमा के भन्न चाहन्छु भने अभिनय गरेर हसाउँन पनि पहिला त लेख्नै पर्‍यो नि, त्यसैले लेख्न गाह्रो । म के भन्छु भने कतिपय मान्छेले हामी साहित्यकार होइनौ भन्छन्, उनीहरू साहित्यकार होइन, कलाकार हो भन्छन्, नि । उनीहरूलाई हाम्रो प्रश्न छ, यमलोक, अंशवण्डा, १५ गते, लक्ष्मी, चिरञ्जीवी कस्ले लेख्यो त, पहिला त हामीले लेख्यौं नि । हामीसँग त्यसको सबै पाण्डुलिपि छ, अब हामी किताबै निकाल्दै छौं । मेरो विचारमा लेख्नु नै सृष्टिको सबैभन्दा पहिलो खुड्किलो हो ।

(तस्विर  : हरिवंश आचार्यको कार्यकक्षमा राखिएको भैरव अर्यालको तस्विर ।)

०००
प्रस्तुति— निर्मल अर्याल
‘नयाँपत्रिका झन् नयाँ’ बाट जस्ताको तस्तै

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा