साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म प्रधानमन्त्री भएपछि

काठमाडौं खुलामञ्चमा वर्षभरिमा सबभन्दा बढी भाषण गर्नेलाई ‘भाषणभट्ट’ को उपाधि दिइनेछ र त्यस्तै राजधानीमा वर्ष दिनभरिमा सबभन्दा बढी जुलुस निकाल्नेलाई ‘जुलुस मास्टर’ नामको सुनको तक्मा दिइनेछ ।

Nepal Telecom ad

आगे फलानाको नाति, ढिस्कानाको छोरा आदिकवि भानुभक्त आचार्यको यस अमरावती कान्तिपुरी नगरीमा एउटा निजी झुपडीसम्म पनि नभई कहिले डल्लु त कहिले चुच्चेपाटी अनि कहिले हाँडीगाउँ त कहिले कालीमाटी गरी डेरा चाल्दै हिँड्ने, विगत त्रिपन्न–त्रिपन्न वर्षदेखि साहित्यसाधनामा लागेर टट्टनटाटका टट्टनटाट नै रही घरको न घाटको भएको म डुकूलन्ठू केशव पिँडाली आजका मितिदेखि यो बिच्छुकी साहित्यिक क्षेत्र छोडी राजनीतिमा फालहालेको घोषणा गर्दछु ।

सर्वप्रथम म टुटपुँजिया बज्जिया देशमा बहुदलीय व्यवस्था ल्याउन आत्माहुति दिने समस्त सहिदहरूको श्राद्ध बिनापिण्ड यसै लेखनीले गर्दछु र राजालाई संवैधानिक राजा बनाई देशमा साँचो प्रजातन्त्र स्थापना गर्न संघर्षरत सबै महानुभावहरूलाई पनि यसै लेखनीबाट सहस्र–सहस्र धन्यवाद दिन्छु ।

बहुदलीय व्यवस्थाको संसद्का लागि अब छिटै हुने निर्वाचन बालिग मताधिकारको आधारमा हुने हुँदा व्यवस्थाको ढोका अब बिनाधोका सबैका लागि खुला रहने भएको छ । यसबाट अब मजस्तो तुलेगाँडो पनि संसद्का चुनावमा खडा हुन सक्ने भएको छ ।

अबउप्रान्त नेपालको प्रधानमन्त्री संसद्का सदस्यहरूले आफूमध्येबाटै सिफारिस गरेको व्यक्ति हुनेछ र मन्त्रिमण्डल संसद्प्रति उत्तरदायी हुनेछ । यसरी अब अहिलेको यो व्यवस्था पूर्ण प्रजातान्त्रिक व्यवस्था भएको हुँदा म डुकूलन्ठू पिँडाली अब यो पनि घोषणा गर्दछु, आगामी निर्वाचनमा म भानुभक्तको यही अमरावती कान्तिपुरी नगरीबाट निर्वाचित हुनेछु र निर्वाचित भएपछि प्रधानमन्त्रीका लागि पनि उमेदवार हुनेछु ।

पञ्चायती व्यवस्थाले देशको राजनीतिलाई भाँड्नुसम्म भाँडेको थियो । ‘जति जोगी आए कानै चिरेका आए’ भनेझैँ पञ्चायती व्यवस्थामा जति पञ्च आए छद्मभेषी नै आए । देखाउँदाचाहिँ आफूलाई सन्तसाधु देखाएर फलफूल खाने र धुस्सा ओढ्ने तर भित्रभित्र भने मालका माल उडाउने र मूसा हग्ने गरेका थिए । तर, म पञ्चायती व्यवस्थाको देन यो फरेबी राजनीतिलाई त्याग्नेछु र जो भन्नेछु त्यो गर्नेछु र जो गर्नेछु त्यो भन्नेछु ।

मैले आफ्नो साहित्यिक जीवनमा आफ्ना अनुभव र अनुभूति स्पष्ट भन्ने गरेको थिएँ । त्यसैले अब राजनीतिमा पनि म सदा स्पष्ट र खुला रहनेछु । अब आउने चुनाव जितेर प्रधानमन्त्री हुन्छु भन्नाको मेरो एक मात्र उद्देश्य हो मोक्ष प्राप्त गर्नु ।

यसो भन्दा सके अब तपाईंहरू भन्ठान्नुहोला, मूलाले यति भाँती कुरा गरेको त संसारबाटै सडकसीताराम हुनका लागि पो रहेछ ! संसारबाट सडकसीताराम मेरा शत्रुहरू होलान्, म किन हुन्छु ? आफ्नू यहाँ अहिलेसम्म खाऊँखाऊँ लाऊँलाऊँ भन्ने कुनै धोको नै पूर्ति भएको छैन, म किन छोड्छु यस संसारलाई ?

मेरो मोक्ष प्राप्तिको अर्थ त हो निर्धनताबाट मोक्ष र के खाऊँ के लाऊँ भन्ने चिन्ताबाट मोक्ष । म त्रिपन्न–त्रिपन्न वर्ष पर्यन्तको लामो साहित्यिक साधना र तपस्यामा यति भोकाएको छु, यति भोकाएको छु, प्रधानमन्त्री भएपछि अरू थोकको त के कुरा उड्नेमा चंगा र गुड्नेमा ढुंगासम्म पनि खान बाँकी राख्ने छैन ।

सबैको घट्टमा यस कुराको पनि टहटह घाम लागोस्, म कृष्णप्रसाद भट्टराईजस्तो चोखो र त्यागी तथा सन्त प्रधानमन्त्री सपनामा पनि हुने छैन । म त पीताम्बर पहिरेर सुनको पालकी चढेर हिँड्ने भोजनभट्ट महन्त प्रधानमन्त्री हुनेछु । त्यसैले म प्रधानमन्त्री भएपछि खाने मामलामा कसैलाई काखा र कसैलाई पाखा पनि गर्ने छैन ।

मलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने सबै सांसद्हरूलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क पद्धतिको जस्तै वर्णानुक्रमबाट एक–एक महिनाका लागि मन्त्री बनाउने छु र तिनले मसँग फिप्टी–फिप्टीका हिसाबले जति सकेको खान पाउनेछन् ।

यसका अतिरिक्त पनि म प्रधानमन्त्री हुनासाथ, एउटा ‘सामान्य प्रशासन तथा घूस संकलन मन्त्रालय’ को पनि स्थापना गर्नेछु । यो मन्त्रालय सोझै प्रधानमन्त्रीको मातहतमा रहनेछ ।

अधिराज्यभरि घूस संकलनको यावत् कार्य यसै मन्त्रालयले गर्नेछ र संकलित घूस ‘भागसान्ती जय नेपाल’ का हिसाबबाट प्रत्येक महिना प्रत्येक मन्त्रीको टेबिलमा घूस प्याकेट नियमित रूपमा पुग्नेछ ।

म प्रधानमन्त्री भएपछि अध्यापक तथा प्राध्यापकहरूले क्लास नलिएर तलब पकाउन सक्नेछन् । त्यस्तै, विद्यार्थीहरूले उत्तीर्ण हुनका लागि परीक्षा दिनुपर्ने छैन । कर्मचारीहरूलाई मीनपचासभर दिनको तीन घण्टा कार्यालयमा घाम ताप्न दिइनेछ । किसानहरूले मालपोत तिर्नुपर्ने छैन ।

कारखानाका मजदुरहरूले मागमाथि माग राख्दै हड्ताल गर्न पाउनेछन् । सरकारी कर्मचारीहरूलाई पनि कार्यालय बन्द गरी जिन्दावाद, मुर्दावाद भन्ने अधिकार हुनेछ ।

काठमाडौं खुलामञ्चमा वर्षभरिमा सबभन्दा बढी भाषण गर्नेलाई ‘भाषणभट्ट’ को उपाधि दिइनेछ र त्यस्तै राजधानीमा वर्ष दिनभरिमा सबभन्दा बढी जुलुस निकाल्नेलाई ‘जुलुस मास्टर’ नामको सुनको तक्मा दिइनेछ ।

यी सबका अतिरिक्त पनि म प्रधानमन्त्री भएपछि प्रज्ञा पुरस्कार, मदन पुरस्कार र जगदम्बा पुरस्कारकै ढर्रामा दुई लाख रुपियाँको एउटा ‘पिँडाली पुरस्कार’ को पनि स्थापना गर्नेछु । मेरो प्रशंसामा जसले सबभन्दा बढी लेख्नेछ, मेरो चाकरी गर्नेछ र गुणगान गर्दै हिँड्नेछ त्यसैलाई यो पुरस्कार दिइनेछ ।

०००
(२०४७ कात्तिक)
‘प्रसन्न हुनुहोस्’ (२०….)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जेल

जेल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x