पिँडालु पण्डितलोग्नेवाद जिन्दावाद
यी यावत् कारणले ‘लोग्नेवाद’ अब ‘मेरो नारा’ बाट ‘हाम्रो नारा’ हुनेछ । ‘लोग्नेवाद’ को वकालत अब मेरो मात्र नभएर हाम्रो कर्तव्य हुनेछ । ‘लोग्नेवाद’ अब कुरा बुझ्ने जति सबै लोग्ने मान्छेको साझा मुद्दा र बहसको विषय हुनेछ । लोग्नेवादको पुनर्स्थापा अबको हाम्रो सङ्कल्प र सङ्घर्षको नारा हुनेछ ।
पिँडालु पण्डित :
हिन्दु नारी र अरू नारीमा धार्मिक, सामाजिक र अरू केही हिसाबले कुनै न कुनै भिन्नता हुँदा हुँदै पनि लोग्नेवादका अगाडि यी सबैमा समानता रहँदै आएको थियो हिजोका दिनसम्म । जो कोही पनि पुरुष आ-आफ्ना अधिकारले सुसज्जित थिए । अधिकार सम्पन्न तिनै पुरुषलाई अहिले उनीहरूकै खिलाफमा महिला अधिकारका कुरा उठाएर तहसनहस पार्न खोजिँदैछ । पारम्परिक लोग्नेवादलाई यतिखेर क्षतविक्षत पार्न खोजिँदैछ । हुनै नसक्ने कुरा यो कसरी हुन सक्छ ? हिजोका दिनसम्म पाई आएका सुविधा, भोगी आएका व्यवस्था, चलिआएका चाल चलन र परम्परालाई भताभुङ्ग पार्ने गरी एक्कासि यसरी निमोठ्न पाइन्छ ? पाइँदैन । एक पाइँदैन, दुई पाइँदैन, तीन पाइँदैन । यसका विरूद्ध अरू लडे लडुन् नलडे नलडुन् मलाई मतलब छैन तर म चाहिँ अधिकार प्राप्तिको अन्तिम क्षणसम्म एक्लै भए पनि लडिरहन्छु । नउठाउनु कुरा उठाइसकेपछि त्यत्तिकै लत्रने मान्छे म पनि कहाँ हुँ र ?
हिजोका दिनसम्म पोइटिङ्गे्र भएर पोइका काखमा जे भन्यो त्यही कुरामा लडिबुडी गरेको देख्दा देख्दै आज म जोईटिङ्गे्र भएर गल्ली रक्षक हरूवा श्वानभैmँ उनैका अगाडि उत्तानो टाङ लगाउन कहाँ सक्छु ? मेरो पाई आएको सुविधा र अधिकार कटौती गर्न कसले सक्छ ? न्यायालय गए पनि मेरा पक्षमा फैसला हुन्छ । त्यहाँ पनि महिला अधिकारका मारमा परेर भित्रभित्रै मुकुरिएर बसेका लोग्ने मान्छे हुन सक्छन् नि । त्यस्ताले पक्कै पनि लोग्नेवादलाई फलेफुलेको देख्न/हेर्न चाहन्छन् नै । घरभित्र होस् कि घर बाहिर होस् सबैतिर श्रीमान् कहलिएकाहरू बाहिरकासँग मात्र श्रीमान्मा सीमित हुनु पर्दा तिनको मन नकुँडिएको होला र ? पक्कै कुँडिएको छ । त्यसैले मैले गएर एउटा नालिस दिने बित्तिकै के निहुँ पाउँ कनिका बुकाउँ भनेझैँ भइरहेका न्यायमूर्तिहरूले मलाई न्याय दिए जस्तो गरी खासमा उनैका पीडाका पक्षमा फैसला गर्न के बेर ? मलाई लाग्छ यस्तो उजुरीमा पक्कापक्की त्यस्तै फैसला हुन्छ, मैले त्यही बुझेको छु । नपत्याए लेखेर राख्नुस् भोलि फैसला भएपछि थाहा पाउनु हुन्छ ।
एउटै ओछ्यानमा सुतेपछि गोडा लाग्छ नि, सधैँ ढोगिरहनु पर्छ ? भनेर दिनदिनै सम्झाउँदा र अर्ती उपदेश गर्दा पनि नमानेर – “महिलाका लागि त पति भनेका परमेश्वर हुन् । परमेश्वरलाई गोडा लागेपछि नढोगेर हुन्छ ?” भनेर चिच्याउँदै जाइलाग्ने महिला पत्नीज्यू आज एकाएक बदलिएर “तिमी उठेर यसो कुच्चोसुच्चो लाउनेओर्ने काम गर्दै गर, म एकछिन मर्निङ वाक गएर आउँछु” भनेर ठमठम बाहिरिँदा कुनचाहिँ लोग्नेको मन नअमिलिएला र ? अमिलिन्छ नि । कतै तपाईं नै पनि यो मोराले ठ्याक्कै मेरो कुरा लेखेछ भनेर दङ्ग पर्न के बेर ! आखिर तपाईं हामी सबैको समाज यही हो । चालचलन र संस्कृति उही हो ।
ठाउँ कुठाउँ पत्नी भनेपछि पुग्नेमा जान्ने भएर किन महिला पत्नी भनेको होला यो पण्डितले ? भन्ने शङ्का पनि तपाईंका मनमा कर्कलोको गुभो टुसाएझैँ टुसाएको हुनु पर्छ । त्यसको एउटै कारण छ, त्यो के भने अहिलेको बदलिएको समाजमा समलिङ्गी विवाहका कुरा छन् । तेस्रो लिङ्गीले दोस्रो लिङ्गी भनेर ठाउँ ठाउँमा झुक्याएका पनि हुन सक्छन् । त्यसैले पिँडालुलाई महिला पत्नी भनेर सम्बोधन गर्नै पर्ने वाध्यात्मक परिस्थिति सिर्जना भएको हो । बढी जान्ने भएर होइन । मेरो कुरा यही हो, तपाईंलाई चित्त बुझ्नु नबुझ्नु आफ्ना ठाउँमा छ ।
“थाकेर आ’छु, एक कप तातो कागती चिया ख्वाऊ त” – भनेर कौचमा पल्टने महिला पत्नीज्यूलाई साविकको पैँचो तिर्नैका लागि पनि तपाईंले एक कप चिया ख्वाएर काम फत्ते गर्नै पर्छ । होइन भने तपाईंको खैरियत छैन । यति गर्नु भएन भने सके अहिले एक्कैछिनमा, नसके दिउसो वा भरेसम्म र त्यतिमा पनि नसके भोलिसम्म त पक्कै तपाईंले महिला अधिकार उल्लङ्घन अदालतमा उपस्थित हुनै पर्छ आफ्नो भनाइ पेश गर्नका लागि । यसरी तोकिएको समयमा स्पष्टीकरणका लागि उपस्थित हुनु भएन भने तपाईंका करङले पक्कै पनि एकाकार भइरहने मौका पाउने छैनन् ।
“हेलो, हेलो, हेलो । ए अँ, छ नि भरे म आउन अलिक ढिला हुन्छ होला । दस एघार नै बज्छ होला । अफिसको पार्टी छ । केटाकेटीलाई बेलैमा बनाइतुल्याई गरेर ख्वाउनु । खेर फाल्ने गरी पकाउने पनि होइन, ठिक्क पकाउनु । मलाई खाना राखिरहनु पर्दैन । सम्झेछु भने आउने बेलामा एक कल फोन गरूँला । बिर्सेछु भने सोझै आउन पनि सक्छु । झ्याल ढोका राम्रोसँग लाउनु । मस्त सुतौला र फेरि … … ।” फौजी अनुशासनमा जस्तो दोहोरो कुरा गर्न नपाउँदै महिला पत्नीज्यूको आदेशले विश्राम पाइसक्छ ।
बिचरो लोग्ने ! हिजोका दिनसम्म भाले भएर बेला न कुबेला क्वाँक क्वाँक गरेर बासिरहेको बानी अहिले महिला पत्नीज्यूको आदेश सुनेर हस् सा’ब भन्न मात्र बाँकी राखेको छ । हेर्दाहेर्दै समयले कोल्टो फेरेर यस्तो अवस्था भोग्नु पर्दा के तपाईं सहन सक्नु हुन्छ ? म त सक्तिन । यसो भनेर मैले तपाईंलाई उकास्न खोजेको होइन । महिलाहरूका विरूद्धमा भड्काउन खोजेको पनि होइन । आ-आफ्नो सोचको कुरा हो । आ-आफ्नो विचारको कुरा हो । आ-आफ्नो वादको कुरा हो । म त लोग्नेवादमा हुर्के बढेको मान्छे । यस्तो कुरा म कदापि सहन सक्तिन । त्यसैले लोग्नेवादको पुनस्र्थापना मेरो एउटै मात्र ध्येय हो । एउटै मात्र अभीष्ट हो । त्यसैले लोग्नेवाद मेरो आदर्श हो । विचार हो । र, अन्तिम गन्तव्य पनि त्यही हो ।
राष्ट्रसेवाबाट अवकाश नलिउन्जेल भान्सामा खानु बाहेक मेरो अर्को काम हुँदैनथ्यो । अहिले बढारकुँडार, तरकारी केलाइकुलाइ, मसला पिसाइ, पकाइतुल्याइदेखि भाँडा मझाइसम्मको सबै जिम्मेवारी आफ्नै काँधमा छ । आफ्नै जिम्मेवारीमा छ । पत्नीज्यू चट्ट कौचमा बसेर टीभी हेर्नमै व्यस्त । टीभीमा यदाकदा भजन आउन थाल्यो भने टीभी फुटाउँलाझैँ गर्ने बानी परेकी उनलाई कुन सिरियल कहिले आउँछदेखि कुन सिरियल कहिले सकिन्छसम्म कण्ठै छ । चलचित्र पात्रका नामनामेसीदेखि तिनका प्रत्येक डाइलग मुखाग्र छ । आफूलाई भने घरधन्दाले एकछिन फुर्सत छैन । केटाकेटीका लुगा धुनेदेखि फोहोर स्याहार्ने कामसम्म बिनाप्रतिवाद आफैंले सुसम्पन्न गर्नु पर्छ । बच्चाबच्चीलाई स्कुल पुर्याउन जाने मात्र होइन, लिन जाने काम पनि मेरै कार्य क्षेत्रभित्र पर्छ । महिला अधिकारका नाममा पेलिएका पुरुषको हर हबिगत देखेर ममा अब विद्रोह जन्मिन थालेको छ । लोग्ने मान्छेको अधिकार पुनप्र्राप्तिका लागि अघि बढ्ने अठोट जाग्न थालेको छ ।
यति अठोट लिएर अघि नबढ्ने हो भने भोलिका दिनमा हाम्रो हबिगत अभैm के होला ? कसैले विचार गरेको छ ? हुँदा हुँदा अब राजनीतिमा भाग लिएर लोग्ने मान्छेको लिदी कढाउँछन् रे महिलाले । यी महिलाको जमघटमा कस्ता कस्ता कुरा हुँदा र’छन् । सप्पै कुरो बाहिर नआ’र पो । अहिले लोग्ने मान्छे समेत लागेर बनेको कानुनमा नै चालीस प्रतिशत सिट निर्वाचनमा छुट्टिइसकेको छ । अब भोलि हाम्रो सहभागितामा बन्ने कानुनमा हिजोका दिनमा हामीलाई गरेको व्यवहारको पैँचो तिर्ने गरी कानुन बनाउन नसके हामी महिला नै होइनौँ भन्दा र’छन् । पुरुषलाई बढीमा बीस प्रतिशत सिट दिने हो । निहुँ खोज्न थाले भने अझ त्यसमा पनि कटौती गर्नु पर्छ भन्ने तिनको योजना छ रे । अनि यो कसले सहन सक्छ ? सहेर बस्नुको पनि एउटा हद हुन्छ नि । भोलि बीस प्रतिशतमा सीमित गरिसकेपछि आन्दोलन र विरोध गर्नुभन्दा अहिल्यै लोग्नेवादको पक्ष लिएर अघि बढ्नु वेस हुन्छ । तर, हाम्रो पनि भित्री कुरो तिनलाई बताउनु हुन्न । यो कुरो थाहा पाए भने अहिल्यैदेखि सबका घर घरमा महिलाबाटै प्रतिक्रान्ति सुरु हुन थाल्छ । त्यसैले यस कुरालाई बिस्तारै तर दह्रो तालले अगाडि बढाउनु पर्छ ।
नेता हुने मन मलाई छैन । तैपनि भइएछ भने भइएछ, भइएछ । त्यसमा कुनै गुनासो हुन्न । लोग्नेमान्छेको अधिकार प्राप्तिका नाममा लोग्नेवादको पक्षपोषण गर्दै जाँदा आधा आकाश ढाकेका पुरुष जातिले मलाई नै नेता बनाएछन् भने पछि हटिनै हाल्ने कुरो चाहिँ आउँदैन । त्यसो भनेर एकाबिहानै म कसैलाई ढाँट्न चाहन्न । त्यो के भने भित्री मनको कुरा गर्नु हुन्छ भने मलाई नेता हुने मनचाहिँ पटक्कै छँदै छैन ।
वाद अनुसार संस्कार पनि त परिवर्तन गर्नु पर्यो नि भन्दै लोग्नेवाद अँगालेदेखि यता म कहीँ कतै भाषण गर्ने क्रममा सुरु सम्बोधन गर्नु पर्दा सबैले भन्ने गरेको ‘आदरणीय महिला तथा सज्जनवृन्द’ को ठाउँमा ‘आदरणीय भद्र पुरुष तथा उपस्थित अन्य महानुभाव’ भन्न थालेको छु । हाम्रो संस्कृतिलाई लोप गराउने उद्देश्यले कुनै विदेशीले ‘लेडिज फस्ट’ भनेर घोकाइदियो भन्दैमा हामी स्वाट्टै त्यसैका पछि दौडिनु पर्छ भन्ने कहाँ छ ? ती त अनेक छिद्रबाट हामीभित्र प्रवेश गरेर हाम्रो सामाजिक परम्परा, चालचलन र संस्कृतिलाई छिन्नभिन्न पार्न चाहन्छन् । ‘लेडिज फस्ट’ पनि यही क्रमको तिनको एउटा कुटिल चाल हो भन्ने मलाई लाग्छ ।
हाम्रा मनुले मनुस्मृतिमा – “यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता” (जहाँ नारीहरूको सम्मान/नारीहरू पुजिन्छन्, त्यहाँ देवताहरूको निवास हुन्छ) भनेर खुला दिलले उल्लेख गरेका छन् भनेर तपाई नारीहरूका पक्षमा वकालत गर्न तम्सिनु होला । सोझो अर्थमा तपाईंले यसो भन्नु/गर्नु अन्यथा पनि हुने छैन तर यथार्थमा के हो भने मनुले महिलाहरूलाई साविक बमोजिम कज्याई राख्नका लागि यसो भनेर फुस्ल्याएका हुन् । आफ्नो काम पट्ट्याउनलाई फुरुङ्ङ पारेका मात्र हुन् । त्यसमा मनुको मन बोलेको नभई मुख मात्र बोलेको हुन सक्छ । अथवा, अठार पुराणका रचयिता व्यासले गणेशलाई लेखन्दासमा नियुक्त गरे जस्तो मनुले पनि कोही नारीलाई लेखन्दासमा नियुक्त गरेर लेखाउँदै जाँदा ती नारीले यत्ति कुरामा चाहिँ झेल गरेर आफ्ना पक्षमा लेखेको पनि हुन सक्छ । यदि त्यो लेखाइ साँच्चै मनुकै हस्तलेखन रहेछ भने पनि कहिलेकाहीँ तपाईं हामी केटाकेटी वा अरू कसैलाई ‘आहा ! क्या राम्रो’ भनेर फुस्ल्याउँछौँ नि, हो त्यत्ति मात्र गरेका हुन् उनले । अब मनुको यस लेखनमा संशोधनको आवश्यकता छ । नहोस् पनि किन ? दुई वर्ष अघि हजारौँको मथिङ्गल मथेर जारी भ’को संविधानमा चाहिँ हामी संशोधनका लागि मरिमेटेर लाग्ने, लाखौँ वर्ष अगाडि मनु एक्लैको विचारले साँझ बिहान अल्छी गरी गरी लेखेको मनुस्मृतिमा चाहिँ कहिल्यै केही संशोधन गर्नु नपर्ने ? जस्ताको तस्तै राखिराख्नु पर्ने ? मानिराख्नु पर्ने ? गजब छ बा !
यी यावत् कारणले ‘लोग्नेवाद’ अब ‘मेरो नारा’ बाट ‘हाम्रो नारा’ हुनेछ । ‘लोग्नेवाद’ को वकालत अब मेरो मात्र नभएर हाम्रो कर्तव्य हुनेछ । ‘लोग्नेवाद’ अब कुरा बुझ्ने जति सबै लोग्ने मान्छेको साझा मुद्दा र बहसको विषय हुनेछ । लोग्नेवादको पुनर्स्थापा अबको हाम्रो सङ्कल्प र सङ्घर्षको नारा हुनेछ । कुनै नारीले हाम्रो मर्मलाई स्वीकार गरेर पुरानै अवस्थामा फर्कने सकारात्मक सोच राख्छन् भने ती पनि निर्विवाद रूपमा हाम्रा सहयात्री हुन सक्ने छन् । तिनलाई तिरस्कार गर्ने नीति लोग्नेवाद पक्षधरहरूको हुने छैन तर हाम्रो जासुसीका लागि मात्र प्रवेश खोज्ने नारीहरू भने हाम्रो सहयात्रामा संलग्न हुन सक्ने छैनन् । हामी हाम्रो अधिकार प्राप्तिमा दृढ भएर लाग्छौँ, लाग्छौँ । हाम्रो एकतामा अब कसैले घुन पुतली लाउने प्रयास नगरोस् । कसैले नबिर्सौँ, अबको हाम्रो एक सूत्रीय नारा हुनेछ – ‘लोग्नेवाद, जिन्दावाद ।’ ‘जिन्दावाद, जिन्दावाद ।’ ‘महिला अधिकार, कटौती गर् ।’ ‘कटौती गर्, कटौती गर् ।’ ‘लोग्नेवाद, जिन्दावाद ।’ ‘जिन्दावाद, जिन्दावाद ।’
०००
‘हिमाली गुराँस’, (२०७५ माघ-फागुन)
Subscribe
Login
0 Comments
Oldest







































