ठाकुरप्रसाद अधिकारीठालु बनेको कालु
माछाका भुरा कालुका थाङ्ना कुरा भएपनि दैवलाई सुकेको गालामा आनन्द र खुशी छ । जसले कालु नाम राख्न सक्छ त्यो नै कालु हो । बलले होइन डाँडाकाँडामा कालुको नाम दश पुस्तासम्म मौलाउनु पर्छ ।

ठाकुरप्रसाद अधिकारी :
कालुको नाम कसले पो कहाँ कसरी गर्न पुगे । त्यो नामशास्त्रीहरूले जान्लान् । लगभग उनीहरूको नाम त सुन्दर र कोमल नै हुन्छन् । तर उनीहरूको आचरण प्रौढका वातावरणले नै प्रभाव पारेका हुन्छन् । कालुको सवालमा यसरी सरसर्ति हेर्दा नामाकरण गर्न न त बाजेहरूले चिना टिप्पनमा अक्षर गोब्र्याएर साइत जुराउनु पर्छ । न त आकर्षक ढङ्गले सुहाउने पार्न कसैको सहाराको ठूलो भर्याङ नै चाहिन्छ । पानीको स्वभाव फेरिए झैं न त रङ्ग फेरेर कालु नाम काटेर बोलाउनु पर्छ । हामीले देखेका र सुनेका कालुहरूको नाम राख्न न त दान दक्षिणा नै संकल्प गर्न भोट तिब्बतलाई हाल्नुपर्छ । न त देश भर ठूलो राणा कालको घण्टाघरको घण्टी बजाएर शहरको नाम मन्त्र मन्त्रिनु पर्छ । यसको व्याख्या गर्न न त अँध्यारोमा घामको तर्कना गर्नु नै पर्छ । न त अँधेरी रातमा टहटह जूनको कल्पना गर्नु पर्छ । न त खोलको कलकल बग्ने खोलको उज्यालो वेग कुर्नु पर्छ । तपाईं पनि आफ्नो टाउको कन्याएर जिब्रो फट्याई कुरा भन्न कुनै असम्भव छैन । कालु निबन्ध भैरव अर्यालको आलु निबन्धकै रुपान्तरण हुन् । कालु बुच्चो छुच्चो मानिसकै मन मस्तिस्ककै हिस्सा हुन् । उसको विवेकमा यो देशमा कति कालु छन् । कति ठालु महामहिम र महसुर छन् । कालुमा हुने रसले यिनको बेरूप सबैले मनन गर्नै पर्छ । कालुको परिचय कालुले नै दिन सक्छ ।
आजकल कालुहरू ठालु हुन छाडेका छन् । बरु उनीहरू बिरालोलाई बाघ र डेरीलाई सर्प ठान्ने गर्छन् । कालुले बाघ परेवा ढुक्कुर मयूर काग हाँस बाजहरूलाई उछिनेका छन् । ठालुहरूलाई कालुले खाएको देख्छु । कालुको नाम रङ् देख्दा भोक जाग्नु सात कोषको बाटोको दूरीलाई तीन कोषमा झर्नु । रातभर विपना देख्नु । परेला नजोडिनु । कालुहरू घरमा बसिरहदैनन् पनि । कालुको चरित्र फरक भएकोले दैनिक केहि न केहि गर्न घर बाहिर निस्कन्छन् । यो श्रृङ्खलामा कालु कसलाई भन्न खोजेको हो ? मल र जल नपाएको बिरुवाले पनि ठालु हुन कालु नै भन्छन् । कालुको बारेमा ज्ञान ध्यान दृष्टि खिच्न सक्ने ज्ञान र इलम नभए पनि कालु आफ्नो नामले कहलिन्छ । कालुले जे गरेपनि त्यो ठुलो विषय हुँदैन । उसले आफू बाँच्ने कला जानेको हुन्छ । कालु नाम सिर्जना होइन, यो त एउटा गहना हो ।
अचेल कालु मान्छेको सम्बन्धमा मेरो कलमको जोर नचले पनि सभ्य भाषामा अनेक अवधारणा बनेका छन् । कालु ठालु भएपनि महत्व बुझेकाले कालु नाम तिखारेर जन्माउन छाड्दैनन् । कालु नाम राखेर उद्योग गर्न नसके पनि कति कालुहरू स्वर्ग पुगे । कति चाहिँ अलकापुरीमा डुबे । हो, त्यही कुरा लेख्न थाल्दै छु । कालुको नामाकरण बारे थरीथरी मत भेदका कुरा छन् । कतै तार्किएर कतै पोलिएर कतै छाँटिएर कतै लादिएर । कतै छादिएर । छालाको जिब्रो तीन धार्नीको पड्काउन कालु नाम राखेर मित लाउने धेरै छन् ।
एकछिन भैरव अर्यालको आलु निबन्धमा कल्पना गरेझैँ तपाई पनि आलु निबन्धमा झैं उठबस गरेर पालैपालो सोचेर तर्क विर्तक तान्न सक्नु हुन्छ । तपार्इं भन्नु होला कालुको नाच रमाइलो मेलाभरि बिना पैसा देख्न सकिन्छ । हामी एक पटक कालु भए पनि यहाँ पटक पटक कालु हुने पनि छन् । कालुको नाम खुसुक्क भन्न सक्नु हुन्छ । खहरेको पानी बगे झंै तपाई पनि तीन धार्नीको टाउको हल्लाएर विवेक केलाउन सक्नु हुन्छ । मरेको स्यालले कुखुरो ताने झैँ तपाईं पनि खोसिएका कुरामा बुद्धि लडाउन सक्नु हुन्छ । शब्द दुब्लो पातलो जे भएपनि तपार्इंले झिना मसिना कुरा कोट्याइ मिल्दोजुल्दो झटपट शब्द झिकेर देवकोटाको भलाद्मी निबन्धमा झैं भलादमी कालु बन्न पनि सक्नु हुन्छ । पिँडालीले लेखेको खै खै निबन्ध भंंmैं यो सन्दर्भ साराशंमा तपाईं हप्काई दप्काई जोड्न सक्नु हुन्छ । यो मायालु भाषामा अलपत्रिएको पोको खोेलेर कालु भन्न सक्नु हुन्छ । कालु नाम भन्न जे मतमतान्तर भए पनि तपाईले कालु भनिदिए पुग्छ । कतै चुरोट सुर्तीको गुड्खामा अलमलिएर खाली पेट छड्काउनु पर्दैन ।
संसारमा कालुको नाम लिँदा मलाई हलुवाई ठालुको याद आयो । हुने खानेको नाम जन्मजातनै कालु नै हुनुपर्ने हो । तर हलुवा खाने कालुलाई जान्न अनेक विचार पहिला देखि सकसकाएको छ । एकदिन कालु खोज्दै हलुवाई दाजुकोमा पुगँे । मनमा बेसरी कालुको हलुवा बारेमा कुरा खेल्यो । उनको मिठाइको डल्ला डल्लामा कुन कालुले खेलाइरहेछन् सोच्न थालेँ । प्लेटमा केही मगाएर खान बसँे । कुनचाहिँ कालुका डल्ला हुन् छुट्याउनै सकिनँ ।
कालु नामले उसको विशेषता दक्षता पनि जान्न आज कालुको टुप्पोबाट शङ्ख फुक्दैछु । घरकाज र राजकाजमा जसले जे काम गरे पनि कालुको नाम कसले पो राखे । मलाई यसमा कुनै सरोकार छैन । कसैले प्यासको ठ्वास्स स्वादमा सुन्तलाको आनन्द लुट्न यसो भने होलान् । यहाँ कालु नाउँको यहा भागबण्डा गर्न खोजेको होइन । यस सम्बन्धमा डरलाग्दा इसारामा पोलहरू पनि छन् । कालुको सफलताको आधार पनि यही पनि हुनसक्छ । अचेल कालुको नाम कसले पो बुझे अणु बम झैं कसले पो विष्फोट गरे । यो अलकापुरीमा कान्तिपुर झैं कसले पो पत्ता लगाए । यो अलकापुरिमा कालु मान्छे गल्लीभरि पाइन्छन् । सुट किनेर झुट बोल्ने झुट बोल्यो संसदमा पुग्ने युग मैले देखिरहेछु । कालुको स्थिति कति कमजोर छ । यसको लागि पुकार सुन्न तरकारी बजार पस्न पर्ला जस्तो भो ।
चाउरी परेको निधार उचाल्न होस् वा कम्मर बङ्गयाएर मकै नङ्ग्याए झैं नाङ्गो पार्न होस् सबै कालु नै खोज्छन् । जँड्याहालाई साथी चाहियो कालु । ड्राइभरलाई साथी चाहियो कालु । हाकिमलाई पियनदेखि पिएसम्म चाहियो कालु । ठेक्कापट्टा गर्नु पर्यो कालु । नेपालको सांसदको जस्तो बहुमुखी प्रतिभा छ कालुमा । रोडमा पनि फिट हाउसमा पनि फिट हुने । उसलाई कुरा बोकाइ दिनुस् मेची महाकाली झट्टै पुगिहाल्छ । हावा भन्दा छिटो हिँड्ने कालु सौभाग्यको वस्तु मात्र होे ।
मनमा अनमोल खेलमा रुचि राख्नेको छोराले यो ओखलेलाई पूणर् पार्न ओखलेका मुलाले पनि कालु भन्न कठिन नै छ । एक पानाभरि लेख्न नजान्ने लेखकले विद्वानको मगज घुमाएको कुराले मलाई अभाव होइन प्रभाव पारेको छ । कालुको नाम कसरी गुजुल्टेर रहन गयो पखालेका चनाले के जानून् ।
यस बिषयमा रोचक पक्ष पनि छन् । धेरै समय अघि निसन्तान भएका मानिसले तीन बिस पछि जन्मेको सन्तान रिठ्ठाजस्तो कालो जन्मेको हुनाले उसलाई प्रेम पूर्वक बोलाउँदा कालु नाम आएको पनि हुन सक्छ । यसो हेर्दा कतै भैरव अर्यालले आलु निबन्धमा भने झैं नामको अनिकाल परेको बेला यस्तो अपभ्रशं भएर जन्मेको नाम पनि हुन सक्छ । नामको समस्या भएका कारण जुँघामा ताउ लाउने तरकारी चलाउने तारका सुरका स्त्रीहरूले राखे वा जुँघा नहुने कान्तिपुरका पुरुषहरूले राखे । खसोखास मलाई मेरो बुढो विचारमा जानकारीमा छैन । न त घमण्डको बलले कालु नाम राखे । वास्तवमा ठालुलाई नै कालु भनेको हुन सक्छ ।
कसैलाई गाली दिन जनप्रिय जिब्रोले कालु भनेको सुन्दा अचम्म लाग्छ । धुरीको घोडा चढेर कालुको चुरीफुरी म कति भनूँ, संसदको कालो भत्ता भन्दा फरक छ कि बृद्ध भत्ता भन्दा सस्तो छ । कोही कालु कुच्चा छन् कोही बुच्चा छन् । मानिसमा कालु आलुमा ठालु हुने कुरा मेरो यो ढुँडे कलमले भन्न सक्दैन । कालुको महत्व जहाँतहीँ छ । जहाँ पनि सुटेट बुटेट हुने कालु । म यसो दिमाग घुमाउँदै जान्छु उति कच्चा घडिको सुई घुम्छ । कालु गोरो फट्याङ्ग्रोजस्तो, फट्टिकजस्तो सेतो छ वा छ्याके छ । कालु न त लोखर्के जस्तो बुचुरो छ उसलाई नामको केहि चिन्ता छैन । मेरो अर्को थरि विचार भिन्दै छ । कालुजस्तो भए पनि हाम्रो देशमा कति काइदाका काम लिने कालु छन् । ती मध्ये कति ठालु छन् । ऐनामा अनुहार हेर्न नमिल्ने कति ध्वाँसे कालु छन् । त्यो गोरे लोखर्केलाई नै सोध्नुहोस् । छेपारोजस्तो रङ फर्ने ठालु दुनियाँलाई हेर्नुस् । ऊ कसरी जन्म्यो उसको जात के हो उसको बेलिविस्तार लाउन नपर्ला । मैले थोत्रो कलमबाट घोत्लिन मात्र खोजेको हूँ ।
म यहाँ रामको कुरा होइन कालुको परिचय खोजिरहेछु । साँघुरो गाउँ शहरका कति भुसुनाजस्ता कालु छन् । भान्साको चुलाको ढाड ढुकेर दुध सिध्याउने कालु पनि छन् । रोग र शोकले डुबेको समाजमा सबैलाई बैंकको ब्यालेन्स बढेको या बैंकको पैसा मिलाउन कालु चाहिएको छ । वरको सिन्को पर सार्न पर्यो कालु । ठूला देशले सानालाई मिच्ने कालु । लुच्चा ठालुलाई साथी चाहियो कालु । विवाह भोजभतेरमा जान पर्यो अपटु डेट हुने कालु । ऊ हरेक कुरामा हरेक समय फिट हुन्छ । कुखुरालाई दिवाको खाजा खुवाउनु पर्यो कालु । चरालाई बगानमा उडाउन पर्यो कालु । अरुको सम्पत्ति र घरवारी उडाउनु पर्यो कालु । लोग्ने मान्छेलाई स्वास्नी मान्छे बनाउनु पर्यो कालु । भान्सामा तरकारी चलाउनु पर्यो कालु । बेलुनले मान्छे उडाउन पर्यो कालु । यहि कुरा मलाई काइदा लाग्छ । हरेक कुरा मागी खाने कालु । यो कालु विवेकी होइन त ?
जे होस् मेरो कलम कालुतिरै रुमलिँदै जाँदा ऊ कहाँ तुच्छ हुन पुगेको छ र… । कालुमा कुकुरको जस्तो निद्रा । कागको जस्तो चतुर्याइँ । बकुल्लाको जस्तो ध्यान नभए पनि ठालुको दौरोको फेरो समाउँदा कालुलाई निकै ठूलो भएको भान हुन्छ । साँच्चै भन्ने हो भने हरेक ठालुलाई ठूलो भान्छे बनाउन कालुकै मद्दत चाहिन्छ । कालुको बहुआयामिक तत्वले उसको गुनको कारण ऊ कसरी बैगुनी भन्ने ? त्यो पनि अप्ठ्यारो जवाफ छ । यो दुनियाँ पनि कालु विना यो समाज बाँच्न सक्दैन । युवा अवस्थाको कालु बृद्ध अवस्थामा फरक हुदा अचम्म लाग्छ । उसको आन्तरिक र बाह्य परिवर्तन उमेरसँगै हुनु हो । झलक्क हेर्दा ठालुले कहा कालुलाई पोस्न सक्छ र ? कालुको नाम एक नम्बरमा आउला जस्तो छ । आज एउटा कौवालाई कालु भनिएला । भोलि अर्को छेपारोलार्ई कालु भनिएला । पर्सि भुँडीवालालाई कालु भनिएला । निकोपर्सि चाउरी परेको चमेरोलालाई कालु भनिएला । कानेपर्सि अर्कोले नाक थेप्चोलाई पनि कालु भन्लान् ।
हामी कहाँ पाइने कालुको बयान परिचयमा तपाईंको हकको हिस्सा पनि मेटिदेला । समाजको जाल पनि र मेरो चासो पनि यहि विषयमा भूगोलको नाता नातामा पोखिन्छ । कालुको नाम जसले राखेको भएपनि कालुलाई कसले लुच्याइँ गरेर हप्काई देला । उसको उत्साहको उत्पादन न्यायमा कसले न्यायपालिकामा कालु नाम राखे ? उसको पालन पोषण कसले गरे ? उसको तालु कसले मिचिदेला ? सबै कालु नाम राख्न तत्पर देखिन्छन् तर प्रत्यक्ष भन्न डराउँछन् । तर कालुको कस्तो राष्ट्रगान हुन्छ मलाई थाहा छैन । यो औडे खौडे जमानमा पनि कालु नाम फुत्किनाको कारण कालुवादी हो । आखिर हामी कालु नै हौँ । आजको जमानामा कालु नाम नराखे भूपरिवेष्ठित देशमा समुन्द्र खोजेजस्तै हो । कालुले गोरेलाई निलेको छ । अचेल मृत मान्छेहरू पनि घाटमा कालु देखेर मख्ख छन् । यसैले होला मरेको लाशलाई कालु भन्न थालेका छन् । मैले त्यो कुरा पचाउन सक्छु सक्दिनँ । यो तह नमिलेको नातामा कालु नाममा एउटा शक्ति अधिकारको निम्ति भक्ति छ भन्छन् ।
कालु सबै एकै किसिममा हुँदैनन् । समाजमा दुष्ट कालु पनि छन् । चुपचाप बस्ने सज्जन पनि छन् । ऊ शत्रु पनि हुन सक्छ, मित्र पनि हुन सक्छ । कालु समाजमा विना परिश्रम बाँच्न सक्दैनन् । स्वर्ग जाने कालु नर्क गएको कालुको चिन्ता छोडिदिनुस् । उसको खेलौनाले बाफ पनि श्रमले घर ढाक्नु पर्छ । अतःकालुको महत्व पनि छ । ठालुले बोल्यो भने पिठो पनि बिक्ने जमाना हो । यसको उपचार केही छैन । त्यसैले कालु पनि समाजको संघारको संरचनाभित्र बस्नु पर्छ । नजरअन्दाज गरेर कालुलाई ढाल बनाएर बाघलाई पोको पारेर स्याल बनाउछु भन्दा आत्मघाती हुन जानेछ । इमान्दार जर्जर कालुको मोडेल नाम एक जोडा राखेर तपाई पनि काइदाको प्रसिद्धि कमाउन सक्नु हुन्छ । मेरो तागतको कलम बुच्चो भए पनि यसले यही भन्छ । गाउँघरमा हैकम जमाएर बस्ने ठालु भएपनि यसबाट यहि माटोमा जन्मिएका कालुको सङ्केत नासिन गए पनि कालु बारेमा लेखिन गएको यो निबन्ध जनप्रिय छ भनियोस् ।
यो लेखले मह घिउ चिनी मख्खन दूध दहि जस्तो कालुवाद भन्ने छ भनेर भन्ने हिम्मत गर्दैन । आजको समस्या भनेको समाजको ढुसी हो । ढुसीबाट सिर्जना हुने समाजमा सेवकलाई भेटे पनि आजकोे कालु भोलि हैन आजै भनियोस् । उसको जहाँतहीँ हाइ हाइ छ । माछाका भुरा कालुका थाङ्ना कुरा भएपनि दैवलाई सुकेको गालामा आनन्द र खुशी छ । जसले कालु नाम राख्न सक्छ त्यो नै कालु हो । बलले होइन डाँडाकाँडामा कालुको नाम दश पुस्तासम्म मौलाउनु पर्छ । लाको र खाको घडीको सुई घुम्न पनि कालुकै महत्व बुझ्ने दुनियाँ हुन्छ । हात्तीको नाम पाइला पाइला नाप्दा पनि कालु लोकप्रिय छ । घडीको टिक टिक आवाज बज्न र सुन्दर बहार ल्याउन कालेलाई कालु भनियोस् । मेरो जमर्को पनि यसैमा हुनेछ । यसैमा मेरो धाक र रवाफ हुनेछ । खुकुरी हाने पनि बन्चरोले हाने पनि कालु नाम होस् तर खराब आचरण नहोस् । उसलाई सबैले मान्न पर्छ भन्ने छैन । कसैले राम्रो काम गरेको छ भने उपनाम कालु नै दिइन्छ । कालु नाम राखेर फन्दामा पर्नु पनि कालुको विशेष कुरा यहि हो । त्यसकारण मलाई लाग्छ मेरो सानो सोच, विचार, कल्पना र तर्क पनि कालुवादी नै हुन पुग्यो कि …!
०००
१० वैशाख २०८०
काठमाडौ- १५, हाल अस्ट्रेलिया
Subscribe
Login
0 Comments
Oldest








































