पिँडालु पण्डितनयाँ आइडिया नयाँ रोजगारी
यस किसिमको नयाँ आइडिया नयाँ रोजगारीले चौका चन्दलाई कहाँबाट कहाँ पुर्यायो भन्ने कुरा यमराजका अभिलेखालय प्रमुख चित्रगुप्तले पनि आफ्नाे ढड्डामा टिपोट गर्न भ्याएनन् । देख्नु भो आइडिया भनेको आइडिया हो ।

पिँडालु पण्डित :
तिहारका बेलामा बाउले चौका दाउ लिएर कौडा हानिरहेका बेलामा फुत्त जन्मेकाले उनको नाम नै चौका चन्द । चौका चन्द यतिविधि चलाख छन् कि कुरा गरेर साध्य छैन । मुलुकमा निर्दलीय व्यवस्था हुँदा त्यसैको वकालत गर्ने उनी मुलुकमा अहिले बहुदलीय व्यवस्था हुँदा यसैका होनहार पक्षपोसी भएका छन् । धुरन्धरका बहुदलवादी भएका छन् । उनीसँग जुन दलको मान्छे गएर कुराकानी गर्यो त्यही दलको नवीकृत सदस्यता रसिद खुरुक्क देखाइदिन सक्छन् उनी । जो कोहीले गर्न नसक्ने यस्तो काम उनी सजिलैसँग फत्ते गर्छन् । आगन्तुक विनाशङ्का उपशङ्का हाम्रै मान्छे रहेछ भन्दै फुरुक्क परेर फर्किन्छ । पछाडिबाट लात हानेको ऊ पत्तै पाउँदैन । उनको यस खरो खुबीलाई खुरुक्क सलाम गरे हुन्छ कत्ति पनि खेर जाँदैन । मौका परे टोलिया त त्यस्तै हो उनैको झोलिया हुन पाइन्छ उनी बाँचुन्जेल ।
उनले एक पटक यस्तो खुराफाती नयाँ आइडिया (यसलाई जानी जानी मैले विचार भनिनँ किनकि यो नयाँ आइडिया नै हो) निकाले, जसले उनलाई छोटो समयान्तरमै एकै चोटि अरबपतिबाट खरबपति बनाइदियो । अन्तर्राष्ट्रिय पेय कम्पनी कोकाकोलाले बजार लिएको जस्तो जताततै उनकै मात्र बजार । अरू हेरेका हेर्यै ।
चौका चन्द जुनसुकै राजनीतिक दलको बन्द अभियान, भाषण भट्ट्याइ कार्यक्रम, सडकपाक (सडकका बिचबिचमा टायर बाल्ने) कला अभियान, सडक कुर आन्दोलन, घुर्की/धर्ना कार्यक्रम, कुर्सीखोस अभियान, बाधाविरोध दौडधुप जस्ता कुनै पनि कार्यक्रममा उपस्थित हुन्थे र हाजिर पड्काएर एउटा न एउटा निहुँ देखाउँदै त्यहीँबाट कुलेलम ठोक्थे ।
अब कुरो रह्यो उनको नयाँ आइडिया र अरबपतिबाट खरबपति हुने उपायका विषयमा गरिएको करामतको कुराकानी । उनले एक दिन सातै प्रदेश र सतहत्तरै जिल्लामा एउटा विज्ञापन खोले । सञ्चारका आधुनिक प्रविधिका माध्यमबाट यो विज्ञापनको जानकारी मुलुकमा विद्यमान सात सय एकसठ्ठी सरकार प्रमुखका पन्ध्रसय बाइस आँखामा एकै चोटि पुग्थ्यो । जुन विज्ञापनले लाखौँ मानिसलाई रोजगार बनाउँथ्यो । रोजगारी दिन्थ्यो । विदेसिएका नेपाली मात्र हैन, स्वदेसिएका गैर नेपालीलाई पनि उनले पर्याप्त रोजगारी दिन सक्थे । पहिला उनले गरेको विज्ञापनका विषयमा जानकारी राखौँ । उनले गरेको विज्ञापनको बेहोरा यस्तो थियो –
विज्ञापन नं. : ८४०/०००/०००
पद : थपडीमार ।
सेवा/समूह/उपसमूह : राष्ट्रवादी सेवा/बेरोजगार बिकाउ समूह/सडक-चउर उपसमूह ।
न्यूनतम योग्यता : (क) कालो अक्षर भैँसी बराबरसम्म प्रस्टसँग भन्न सक्ने ।
(ख) शारीरिक रूपमा कुनै पनि किसिमको अङ्गभङ्ग भएको हुन नहुने ।
(ग) कुनै पनि राजनीतिक दल, गुट, उपगुट, समूह वा यस्तै प्रकृतिका अन्य कुनै पनि सङ्घसंस्था वा अन्यको सदस्यता नलिएको हुनुपर्ने ।
आवश्यक पद सङ्ख्या : हाललाई बढीमा सात लाखसम्म । यस विज्ञापनपछि थप माग पद सङ्ख्या प्राप्त हुन आएमा त्यो सङ्ख्यासमेत यसैमा समावेश गरी पदपूर्ति गरिनेछ ।
रोजगारको अवधि : पाँच बर्से स्थायी । राम्रो काम गरेमा प्रत्येक पाँच पाँच वर्षमा थप पाँच पाँच वर्षका लागि एकै चोटि नोकरी अवधि नवीकरण हुँदै जान सक्ने ।
कामको किसिम : लाठी, ढुङ्गा, इँटा, फलाम, टायरसँग परिचित भई तिनलाई निर्देशित निसानामा प्रहार गर्ने, सल्काउने काम गरी आफ्नो निसानामा फर्केर गडगडाहट थपडी/ताली बजाउन सक्ने ।
कामको विशेष सिप : अरूलाई पट्काउने/थर्काउने गरी आपूm सकुसल फर्कन सक्ने सिप/क्षमता ।
तलब : संस्थाको आम्दानीअनुसार ।
विशेष सुविधा : मौका परे मासु भात, हैन भने पुर्पुरोमा हात ।
काम गर्ने समय : सबै महिना, तिथी, बार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ।
ओभर टायम : संस्थाले खटाएको अवस्थामा दैनिक बढीमा १४ घण्टासम्म विनाबाधा अवरोध खटिनुपर्ने ।
ओभर टायम सुविधा : रोजगारदाता स्वयंले आप्mनो रोजगारदातासँग गरेको करार सम्झौताका आधारमा त्यसबाट प्राप्त हुने रकमको दशांशको दामासाहीबाट हुने रकम ।
दरखास्त आइपुग्नुपर्ने मिति र समय : यो विज्ञापन प्रथम पटक प्रकाशन भएका मितिले दुई महिनाभित्र रातको बाह्र बजेसम्म ।
नोट : अन्तरकुन्तरमा विशेष किसिमको भनसुन क्षमता भएका व्यक्तिका हकमा दरखास्त मिति र समयको यो प्राबधान लागु हुने छैन ।
आवेदन दस्तुर : प्रति आवेदन दस्तुर रु. दुई हजार पाँच सय मात्र ।
नोट : उम्मेदवारको दरखास्त फर्म भर्न भराउन कृपया कुनै पनि विचौलिया वा दलालहरूले कुनै कष्ट नगर्नु होला । कसैले त्यस्तो कष्ट गरे/गराएको पाइएमा सो वापत निजले प्राप्त गरेको सबै दैदस्तुर यसै संस्थाको हकदैयाभित्र पर्नेछ । यस सम्बन्धमा पछि कुनै अदालत वा अन्यत्र कतै कुनै किसिमको उजुरबाजुर लाग्ने छैन ।
दरखास्त पाइने स्थान : काठमाडौँ उपत्यकाको हकमा टुँडिखेलको चारैतर्पmको खाली चउर र काठमाडौँ उपत्यका बाहिरका स्थानका हकमा डब्लुडब्लुडब्लु.सिसिआर.एनपी बाट डाउनलोड गरी दरखास्त प्राप्त गर्न सकिने छ ।
कुनै समस्या परेमा : दरखास्त सम्बन्धी विषयमा कुनै द्विविधा भएमा ०००००००००१ मा सोभैm चौका चन्दलाई रातको दश बजेदेखि दुई बजेसम्म सम्पर्क गरी स्पष्ट हुन सकिने छ ।
निणर्य अन्तिम हुने : यस सम्बन्धमा कुनै विवाद आएमा संस्थाले गरेको एकतर्फी निणर्य अन्तिम हुने छ र त्यस्तो संस्था भन्नाले श्री चौका चन्दलाई मात्र जनाउँछ ।
दुई हजार पाँच सयमा यति राम्रो रोजगारी ! त्यो पनि आप्mनै देशमा । युवाहरू हर्षले पुलकित भए । परिणामस्वरूप विज्ञापनमा आवेदित पदका लागि दरखास्त दिन दुई महिनाको म्याद दिइएकोमा दरखास्त खुलेको दुई हप्ता पनि नपुग्दै आवश्यक पद सङ्ख्याभन्दा दशौँ गुना बढी दरखास्त प्राप्त हुन आयो । आवश्यक सङ्ख्याभन्दा बढी नै आवेदन हुँदा पनि आवेदन दर्ताको कामलाई रोकिएन । देश विदेश सबैतिरबाट सोचेभन्दा कति हो कति बढी आवेदन प्राप्त हुन आयो । यसले चौका चन्दलाई निकै हकर्षित बनायो ।
पदपूर्तिको काम तोकिएको समयभन्दा अगावै निर्वाध रूपमा सम्पन्न भयो । चौका चन्दले यसरी भर्ना गरिएका जत्थालाई कुनै पनि राजनीतिक दलको आमसभा, विरोधसभा, धर्ना, हड्ताल, तालाबन्दी, जुलुस, बन्द कार्यक्रम, घेराउ तथा अन्यले आयोजना गरेको शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, कृषि धर्ना, कर्मचारी आमसभा, उद्योगी व्यवसायी, मजदुर, नगरपीडित, गाउँपीडित, सुकुम्बासी जो कसैले पनि गर्ने कार्यक्रममा थपडी बजाउनका लागि यही जनशक्ति उपयोग गर्ने गरी सबै सरोकारवालासँग यसअघि नै करार सम्झौता गरिसकेका थिए । सोहीअनुसार यिनलाई तत्काल त्यस्ता कार्यक्षेत्रमा खटाइयो । अब राजनीतिक दललगायत जो कसैले आप्mना कार्यक्रममा थपडी मार्नका लागि कोही कसैले अनेकौँ खतरा मोलेर छुट्टै परिश्रमका साथ जनशक्ति बटुल्नुपर्ने अवस्थाबाट मुक्ति पाए ।
यस किसिमको कार्यले एकातिर चौका चन्दको अभीष्टअनुसारभन्दा पनि बढी रकम आम्दानी हुन थाल्यो भने अर्कातिर विदेसिएका युवा स्वदेश फर्केर रोजगारीमा लाग्न पाए, विदेश जाने तरखरमा रहेका र भविष्यका लागि यस्तो योजना बनाउँदै गरेका व्यक्ति स्वदेशकै रोजगारीमा अडकिए, विद्यार्थीहरूले पढ्नका लागि थप परिश्रम र लगानी गर्नु परेन । यसका अतिरिक्त सडकमा अलपत्र बनेर बसेका कसैले हेपेर खाते भनिएका, कसैले माग्ने भनिएका, कसैले सडकपति भनिएका, कसैले बेरोजगार भनिएका, कसैले अल्छीका घन्ट भनिएका सबैका सबै जनशक्ति यही काममा खपत भए । सबैका सबैले रोजगारी पाए । समाजमा रोजगारीको कुनै समस्या नै रहेन ।
आप्mनो वैचारिक वकालतलाई थाती राखेर यिनले जसकोमा जे पर्छ त्यहीँ गएर थपडी बजाउने काम गर्न थाले । यस किसिमको नयाँ आइडिया नयाँ रोजगारीले चौका चन्दलाई कहाँबाट कहाँ पुर्यायो भन्ने कुरा यमराजका अभिलेखालय प्रमुख चित्रगुप्तले पनि आफ्नाे ढड्डामा टिपोट गर्न भ्याएनन् । देख्नु भो आइडिया भनेको आइडिया हो । चौका चन्द छोटै अवधिमा कहाँबाट कहाँ पुगे ! यस्ता आइडिया छन् भने तपाईं पनि बेलैमा सोच्नुस् है । अरूले थाहा पाउलान् भनेर लुकाइराख्नु भो भने तपाईं जहीँको तहीँ हुने पक्का छ । त्यतिखेर कसैले पनि तपाईंलाई कुनै किसिमको सहयोग गर्न सक्ने छैन ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































