ठाकुरप्रसाद अधिकारीभेटघाटको सूत्र
बाँझो खेतमा काउली फलाउने अर्कै कुरा हो । कसैले राम्रो भेटघाट गर्यो भने फटाहा साबित हुन पुग्छ । यहाँ सज्जन काम गर्न डराउन पर्ने बेला आएको छ । अचेल निम्ठो भेटघाटमा कुरा गर्ने झुसी भएका छन् ।

ठाकुरप्रसाद अधिकारी :
आजकल कुनै पात्रलाई भेट्यो कि काम बन्यो भन्ने चर्चा चलेको छ भन्छन् । तर किन हो यसो भन्दा मेरो कलम सिप्रिकै हुन्छ । त्यसैले भेटघाटमा चुप लागेर बस्नु भन्दा भेटघाट गर्नु अर्कै आनन्द र मजा छ । बिस इन्चको छाती नफुले पनि हामीले भेटघाट गर्न छाडेका छैनौँ । फुस्रा ओठ हुने होस् वा तालुवाला आलु होस् लुच्चाको भेटघाट फुच्चाको भेटघाट जे भए पनि भेटघाट सामान्य कुरो होइन । गहिरिएर ध्यान दिने हो भने भेट र घाट अलि भिन्न कुरो हो । भेटघाट नगरेको मान्छे हुँदैन । ठण्डीमा मन्डी ओड्ने मान्छे भन्दा मुसा र बाँदरको भेटघाट अलि फरक पनि हुन्छ । एउटाले माटो काट्छ अर्को चरित्र च्यात्छ । एउटाको भेट अर्काको व्यख्या र वर्गीकरण भेटघाटमा हुँदोरहेछ । ओठ पिच्छे गफी गफ हुन थालेको छ । यिनै कुरामा म पनि दोषी छु होला । कलममा मसी टुटेको छैन । भेटघाटमा कोहि भड्किए भने के हुन्छ आफै सोच्नु होला ।
तपाईंलाई भेटघाटको कुरा गर्दा रनक्क रिस उठ्ला । भेटघाटको लागि मानिसले के गरेन । सुरुमा मायावादी संसारमा परिवारवादबाट सुरु गरी सयुक्त राष्ट्र सङ्घ बनायो । भेटघाटलाई सहज पार्न बम बारुद बनायो चाउरिएको मायाको छायाँ उक्सेर आउला भनेर । तपाईंको पनि फलाना तिलानाले भेटघाट गरेर फनफनाई रहेका होलान् मन । केही सोच्न थाल्नुस् । तपाईं पनि एकपल्ट भेटघाट गर्नुहोस् हाइसन्चो हुन्छ । भेटघाट समाजको पूँजी हो । निराशा र चिम्टाजस्तो चिन्ता भगाउने उपाय पनि हो । दुषित स्वभावलाई सरल बनाउने काइदा पनि हो । मैले पनि टोपी लाउनु भन्दा अगाडि भेटघाट गर्न जानेको थिइनँ । भेटघाट अलि सोझो हुनु पर्दथ्यो । यसको आकार र प्रकार लाम्चो होचो अग्लो चेप्टो छ भन्दैमा चिन्नु न जान्नु घचेडी माग्नुसित एक भेटघाटले सात बुद्धि हराउँछ भन्छन् । तपाईं पनि जसरी भए पटक भेटघाट गर्नु होस ख्याल मजा हुँदैन । तैपनि आजभोलि भेटघाटको अभ्यास रोकिएको छैन । मुसा र बाँदरको भेटघाट बुझिनसक्नु हुन्छ । बाँदरको संसार बाँदरकै हुन्छ मुसाको संसार मुसाकै हुन्छ ।
भूतपूर्वको भेटघाट, शिक्षादीक्षाको भेटघाट, राजनीतिको भेटघाट, किनमेलको भेटघाटमा पनि लुच्चाइँ हुन थालेको छ । कसलाई ठीक मान्ने । मान्छे पढ्दै र बढ्दै जाँदा भेटघाट पनि छुच्चो हुन पुगेको छ । यी सबै खैलीबैली मात्र होइन म पनि त्यसको उम्मेदवार हूँ ।
आजको विश्व भेटघाटको युग हो । चराचुरुङ्गीको भेटघाट जनावरको भेटघाट अलि फरक हुन् । मानवको भेटघाटमा मानवीय भन्दा दानवीय पक्ष बलियो हुँदै गएको देखिन्छ । भेटघाट गर्नु एउटा उखान जस्तै हो । भेटघाट सोझो हुनु पर्दथ्यो । किन घुमाउरो हुन पुगेको छ । यो लमतन्न विज्ञान पनि अनविज्ञ छ । उखान पनि मौलाउन छाडेको छ ।
अनाचारको भेटघाट । सोझा साधा जीवनकालाई चारैतिर बाट घेरिन्छ । यसमा साँठगाँठको कुरो छ यो कुरो सत्तालाई पत्तो छैन बेपत्ता छ । धनवादी भेटघाटसित डाँडा पौवामा बस्ने पुङमाङे काजीको भेट पुरानो भइसक्यो । कोही खित्त हाँसोमा भेटघाट गर्छन् । कोही नाँक राख्न भेटघाट गर्छन् । काम नपाउनेको भेटघाटले भव्य दिमागमा पेच कसे पनि विश्लेषण गर्दा हुन्छ । हुँदा खानेलाई भेटघाटको हाहाकार छैन । कसैले रमाइलोको लागि भेटघाट गर्छन् । कतै महत्ता देखाउन । भात भान्सा गर्ने चतुरानन्द चर्तुवेदी र रामानन्दको भेटघाटको कुरा गर्दो हो । त्यो पनि सेलाई सक्यो ।
सानो छानो हुनेको भेटघाट हेर्नाको हुन्छन् । राजनीतिका लुच्चा र फुच्चाको चाक्सीबारीमा राजनीतिको कुरा गरे पनि विषयगत कुरामा भेटघाट गरे पनि वर्तमानमा भेटे पनि भूत भइहाल्छ । भेटघाटको कुरो जति हेलमल र बेमेल भए पनि फुच्चो नै देखिन्छ । सिंहदरबार र बालुवाटार पनि भेट गरेर हात मिलाए भने अचम्म नमाने हुन्छ । घरकी स्वास्नीसित कुरा मिलाउन नजान्ने नाथेले अरुसित भेटघाट गरेको कुरा नठाए हुन्छ । जिन्दगिमा लपक्कै भेटघाटमा भडक गर्नेहरू र मजा लिने पनि छन् । बाह्रै महिना भेटघाट गर्नेहरू चिन्न नितान्त आवश्यक छ । भूतपूर्व भेटघाट सर्वत्र सुनेको छु भेट माने भेट्नु हो ।
आधुनिक समाजमा भेटघाटको मसिनो आशामा व्याख्या यसरी तीन चरणमा वर्गीकरण गर्न सकिन्छ । पहिलो विकृत भेट -विषय प्रसङ्गले अर्को अर्थ नखुलेमा विकृत भेट भनेको बिग्रिएको भेट हो । अरुको चियो चर्चो गर्ने । लाज छोपेर जति पनि अरुको चरित्रमा गिज्याउने । धमिलो पानीमा माछा मार्ने । नभएको काम र माम नास्सिए पनि कुरा घुमाउने । यो भेटघाट आधुनिक न्यूरोडदेखि न्यूयोर्कसम्म चल्दो रहेछ । यो भेटघाटले मुन्टो उठाउन थालिसकेको छ । जति लाजलाग्ने भाडोको कुरा गर्न सक्यो त्यो नै विकृति भेट हो । लङ्गौटी लगाएर धोती र टोपीको कुरा गर्ने स्वभाव यसमा हुन्छ । अरुको कुरा काट्न सक्ने चोसो पसारेर विकृति दिन सक्यो त्यो भेट विकृति भेट हो । आधुनिक शहरका मानिस बाख्राको लादी खाएर खसिको गिदी चपाउने कुरा गर्ने नै विकृति भेट भित्र पर्छ । यो नै विकृत भेट हो ।
दोश्रो स्वीकृति भेट- उपस्थित सदस्यहरूको मन जितेर जस्तो पहिरनमा सर्ट पाइट बेजोडा कमिज सुरुवाल खल्ती भएको दौरा जे लाएर पनि भेट गर्न सकिन्छ । खोक्रो पेट भए पनि यस्तो भएको भेटलाई स्विकृत भेट भन्न सकिन्छ । भेडाको भाउमा जुन बेला जस्तो चाहियो उस्तै हुने भेट स्विकृतिको भेट हो । त्यहाँ उपस्थित सदस्यको राय यसो उसो भनेर नपन्छाउने काल्पनिक गुण हुन्छ । नाकको टुप्पोमाकालो दले पनि स्वीकृत भेट बलवान हुने हुनाले यसलाई अस्विकृत गर्ने कस्को हिम्मत ।
तेश्रो परिष्कृत भेट- समाजमा धेरै देख्न र सुन्न पाइन्छ । अलिकति मौलिक भए पनि अपाच्य हुन्छ । किनकी त्यसमा जति कला कौशल भरे पनि समाजलाई नपच्ने पनि हुन्छ । त्यसमा देखिने खुबीनै खुशीको जड हुन्छ । गरिब होस् कि धनाढ्य विवाह व्रतवन्ध दशैँ, तिहार, छठ पर्व जति खर्च लागे पनि मन फुकाएर भेटघाट गरेको धेरै देखिन्छ ।
सारांशमा भन्नु पर्दा म पनि उपल्लो भेटघाटमा जान हतारमा छु । सबै भन्दा अग्लो कुरा कुन चाहिँ ठिक होला भन्न गाह्रो छ । यस्मा वादविवाद रहित भएको छैन । मान्छे मान्छेबिच भेटघाट नभएको भए यो स्थिति आउने थिएन । गोजी बलियो भएपछि बाबुको मात्र होइन फुपूको सराद्धे गर्ने पनि सस्तोमा भेटिन्छ । एक भेटघाटले सात बुद्धि पलाउन सक्छ । सत्ताको भेटघाट परम सोख हो । यो भनाई आजकल हराइसकेको छ । अचेल निम्ठो भेटघाटमा कुरा गर्ने झुसी भएका छन् ।
भेटघाट गर्न कुनै चरित्रको प्रमाण पत्र पेश गरिरहन पर्दैन । कुनै ओहोदा र पद चाहिँदैन अथवा भेटघाट गर्न दराज तख्ता सन्दुर कन्तुर टेबुल खाट पलग ताल्चा साचोको साइनो केहि र चाहिँदैन । सत्र थोक फेला परे हुन्छ । दुई चार थान गफको पोको फुकाए पुग्छ । भेटघाटले गल्लीको लुते कुकुरले पनि शहरमा इतिहास पल्टाएको छ । गणतन्त्रमा पछि बनेको र चलेको गठबन्धको सरकारको भेटघाट धार्नी न बिसौलीको भएको छ । न धार्नीमा पुग्छ न त बिसौलीमा झर्छ । हुँदा खानेहरूलाई भेटघाटको हाहाकार छैन । ठाउँ र नाउँमा भेटघाटको हाहाकार छ । नहुने कामलाई हुने बनाउन परिष्कृत बनाउने भेटघाटको अभियान जस्तै नै हो भन्न सकिन्छ ।
यो विश्वब्रम्हाण्डमा भेटघाट धेरै थरिका हुन्छन् । स्वादे भेटघाट वा काँचो भेटघाट हामीले गर्नै पर्छ । विकृत भेट अनअधिकृत भेट स्विकृती भेट निजी भेट अनुकृत भेट परिष्कृत भेट र किनुवा भेट धर्म निर्वाह भेट मलम पट्टी भेट गाइजात्रे भेट टाकटुके भेट अलमले भेट बुढ्यौली भेट कपटपूर्ण भेट शिक्षादीक्षाकोे भेट त्रुटीपूर्ण भेट, बेकामे भेट । अम्मली भेट, गजडी भेट, बल्ड्याङ्ग खाएको भेट । खासगरी आज भोलि बैंक लुड्याउने भेट विशेष चलेको छ । यो टिकाउन नसक्नु नै उहनीहरुको पौरख हो । भेटघाट आजको आवश्यकता के हो । यसैलाई नैतिकवान ठान्न थालेका छन् । बल्ल भेट हुन्छ फेरि ज्यालमा नमिलेको डुमजस्तो भेटघाट कतै बल्झेको हुन्छ । शहरको गाउ शभा सम्मेलनको भेटघाट यस्ता विषयमा शीर्षक राख्न कलम डोब्न समस्या हुँदैन । कलम मात्र होइन मलम पनि छर्लङ्ग सयर गर्छ ।
म पनि उदाशीन भएर होइन धर्म सङ्कटमा भेटघाट गर्छु । विराट विश्व भेटघाटले बनाएको छ । नपत्याउने नयाँ कुनै विषयले भेटघाटमा कतिको कठालो समाउने गर्छ । नपत्पाए एकपल्ट तपाईं पनि भेटघाट गर्नु होस् झेलको सेलमा कतै कुखुराले सुनको अण्डा पारिहाल्न सक्छ । भेटघाटमा झेल गर्नु अर्कै खेल हो । भेटघाटको अस्तित्व राख्न भेटघाट गर्नु होला । मान्छेको भेटघाट साँचो भेट नभए पनि समयको खाँचो टर्नेछ ।
एउटाले अर्कोलाई हियाउने पखाल्ने भेटमा डोको न डालाको गफ झिकेर गरिने भेट प्रख्यात छ । बाँझो खेतमा काउली फलाउने अर्कै कुरा हो । कसैले राम्रो भेटघाट गर्यो भने फटाहा साबित हुन पुग्छ । यहाँ सज्जन काम गर्न डराउन पर्ने बेला आएको छ । दुराचार अनाचार लुच्याईं फटाई अनधिकृत भेटघाट गर्न मलाई डर लाग्छ । तपाईं पनि एक पटक विशुद्ध भेटघाट गर्नु होला, घाटा हुने छैन । भेटघाटको धर्म घरमा गुन्द्रुक खाएर मासुको धाक लाउनु आजको कर्म हो । यस्तोमा सस्तो भेटघाट नगर्नु नै वेश होला ।
०००
काठमाडौं १५, हाल सिड्नी
६ डिसेम्बर २०२३
Subscribe
Login
0 Comments
Oldest








































