साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुखुरी काँ सबै कुरा आँ …!

सत्ताबाहिरको बासी भात होइन सत्ताभित्रकै ताजा मासु लुछ्न मुसा खोजेको भन्ने कर्मको लोलीमा आफ्ना सन्तान, दरसन्तानलाई सबल बनाउन लागिपरेको छल होइन भन्ने केही आधार छ र ?

Nepal Telecom ad

डा. सुकुम शर्मा :

कुखुरी काँ, बासी भात खाँ….भन्ने गीतको बोलमा रमाएर बालककाल काटेको पत्तै भएन । उमेर पाको हुँदै गएपछि बालकहरूसँग खेल्दै समयबोध गर्न थालेको पनि युग नै बितिसकेको छ । बितेको युगलाई सम्झेर भन्दा पनि बाँचेको वर्तमानलाई भोगेर हेर्दा बालककालको लोली र अहिलेको पाको बोली उस्तैउस्तै भएकामा कुनै आश्चर्य त होइन तर पनि समयको खेल भने फरक नै देखिएको छ ।

बाल्यकालको लोलीमा कुखुरी काँ, बासी भात खाँ भन्ने लय अहिलेको भुक्त समयसँग साट्दा रोचक मात्र होइन घोचक पनि बनेको छ । बालबोलीसँग आजको समय पढ्दाको मज्जा भने छुट्टै छ । बालबोलीमा कथिएको घटनासँग पाको समयको पौंठेजोरी मिलेको देख्दा म रनभुल्लमा परेको छु । यस कथनमा कुखुराको डाँको खानका लागि नै त हो ! अनि अहिलेको समयको कथनको डाँको पनि खानमा नै साटिएको छ भन्ने सार कुरो लुकेको छ । तलदेखि माथिसम्म साजीदेखि बासीसम्म लफुन्याउने समय अहिलेको मात्रै होइन कि ? गाँठी कुरो त साठी नकाटी कसरी पो बोध होला र ? तैपनि कुखुराको डाँकोमा फाँको मिलाएर समय सिउँदाको गर्व साटिनै पर्छ, होइन त !

आजको समाजमा सत्ता र शक्तिको गर्जन भएपछि बासी भात त डाँकैले छोपेर लफुन्याउन सकिन्छ । त्यसैले त अधिकारको बोलीमा प्रश्न सोधिन्छ, खोइ बासी भात ? बासी भातको खवाइमा हिस्स परेर फिस्स हाँस्न पर्ने दिनको कुरो बोध गर्न सहज त छैन तर पनि बालककालको लोलीबाट समाजले सिकाएको यो पाठ नै छलछामको जाहेरी होला भन्ने कुरा कसले पो सोचेको थियो र ? त्यसैले त डाँको छोडेर कराउने कुखुरालाई ‘बिरालाले खायो’ भन्दै दिएको उत्तरमा युग मात्र छलिएको छैन, कुखुरो मात्र डल्लिएको छैन- समाजको छली मनोविज्ञानमा समयको गति पनि अल्मलिएको छ ।

हो, हाम्रो समाजमा हिजोदेखि आजसम्म बिरालो भएर या ढाडे पल्टेर, साँढेझैं ढल्केर तर मार्नेले नै धेरैको खाना लफुन्याएको देखिएको छ । कुखुरी काँसँग बासी भात मात्र होइन सबै कुरा आँ गर्ने नीति नै आजको मानिसले मूल सिद्धान्त बनाएको छ । सत्ताको भत्ता होस् वा शक्तिको बल देखाएर बासी भात भन्दै साजी तर तन्काएर जुँघा मुसारेको ढाडे बिरालाको अस्तित्व कसले नबुझेको हो र ? कुखुराको डाँकोको मर्म बिर्सेर समय छल्न बिराला मार्काले सत्ता र पदको अहम् देखाएका छन् र बासी भात भए पनि खाऊँ न त भन्ने कुखुरालाई ढाडे बिरालो देखाएर तर्साउँदै समयको छलछाम गरेका छन् ।

यसरी बासी भनी हडपेको खाना पचाउन होस् या पेटको लयमा मिलाउन बुद्धिको खेल र पेटको तेल बाल्न यो सिद्धान्त उत्तम बनेको छ । उत्तम सिद्धान्तका मार्गमा अधम बनेर पछि पर्न पनि त भएन । न्यायको ढोंगमा समाजको मुल अर्थलाई छलमा बदलेका अनेक कथा पुर्पुरो ठोक्दै मानिससँग जिउँदै रहेका छन् । यी कथा जीवनका आदर्श मात्र होइनन् समयका आधार पनि हुन् भन्ने मान्यता डल्लिएको छैन । यसर्थ डाँको छोड्ने कुखुरो अनि साटो फेर्ने बिरालो नै त आजको समाजको मनोविज्ञान रहेछ ।

छलछामको शास्त्रलाई यथार्थको अस्त्रमा बदल्न बिरालो खोजेर उफ्रने कुखुरालाई खोई बिरालो भनी प्रश्न गर्दा सहज उत्तर दिइएको छ— ‘मुसा मार्न गयो ।’ कुखुरो र बिरालो समाजकै मत त हो नि भनेर मात्र पुग्दैन । बिरालो बासी भात चोर्दैन, मुसा मारेर बाँच्छ भन्ने कथनमा आफ्नै पौरखको गर्व गरिएको छ । बिरालो पाल्ने समाजमा छली प्रवृत्तिको यो मनोविज्ञान जिउँदो छ अनि समाजको यही आदर्शमा समय अल्मलिएको छ । अलमलमा परेर जीवनको आदर्श पनि छलिएको छ ।

सत्ताबाहिरको बासी भात होइन सत्ताभित्रकै ताजा मासु लुछ्न मुसा खोजेको भन्ने कर्मको लोलीमा आफ्ना सन्तान, दरसन्तानलाई सबल बनाउन लागिपरेको छल होइन भन्ने केही आधार छ र ? छलबलमा नै स्वाद जमाएकाको भाउ नै बेग्लै छ । डरमा तर्सेर होस् वा आदर्शमा गम्केर बासी भात नखाएकासँगको के नै अर्थ छ र ? सत्ता र तिघ्रेको बलमा मुसा तर्साएर किर्ना बनेकाहरूलाई जति नै फाइल खडा गरे पनि पर्दा हटाएको राग अलापे पनि कसैले देख्न सक्दैनन् । मुसाको बल चुँचुँमा र एक दुई कुरा काट्नमा भए पनि बिरालाका सामु पर्दा मुटुदेखि काँप्दै तर्सनमा र लुक्नमा नै सन्तोष चुलिएको देखिन्छ ।

त्यसै भएर त खोइ मुसा भन्यो भने ‘दुलो भित्र पस्यो’ भनेर जवाफ दिइन्छ । त्यो दुलो जीवन भन्दा ठुलो र लहरो तान्दा पहरो देखिने जस्तै लाग्छ । हो त दुलोभित्र के के छ के के ? त्यो हेर्न नखोजेकै जाती । हेर्नेले मुख मिठ्याउँछ, लुक्नेले स्वाद मार्छ अनि दुलाभित्र पस्ने मुसाहरूको खोजीमा को लाग्छ र ? आखिर मुसाहरू बिरालाको घाँटीमा घन्टी बाँध्ने पनि त होइनन् । मुसाहरू लुकेको दुलो खोज्दै या प्रश्न गर्दै ‘खोई दुलो ?’ भनिएमा त्यसको सहज उत्तर छ ‘गाईले कुल्च्यो ।’ गाई भन्ने बित्तिकै प्रश्न उठाउन पनि दसपल्ट सोच्न पर्ने नै हुन्छ । हो त गाईको साधुपनमा जीवनका अभीशप्त खेल लुकाउन पनि सहज नै हुने देखिन्छ । सुधोपनको फायदा उठाउन ढाडेहरू पहिलेदेखि नै सफल र टाठा देखिएका छन् ।

गाई समाजको अर्थमा साधु, कामधेनु, लक्ष्मी मानिएको छ भने त्यहाँ अनर्थ देखिँदैन । गाईले नै कुल्चेपछि बिरालाको ढाडेत्वमा कुनै शनिले आँखा लगाउँदैन । गाईको पवित्रतामा शङ्का उठ्दैन र बिटुलिएको पक्ष पनि गाईबाट सोझै चोखिने मान्यता समाजमा जिउँदो छ । गाईको पवित्रता र सुधोपनमा पनि शङ्का गर्दै प्रश्न गर्न कोही आउला अनि ‘खोई गाई ?’ पनि भनिएला । यसो भनिए पनि आपराधिक कर्म छोप्न सहजै उत्तर भनिन्छ— ‘खोलाले बगायो ’। खोलाले बगाएपछि टन्टै खलास । ढाडे बिरालाका कैला जुँघामा फेरि तरको चिल्लो लहर या घेरो थपिएला । न प्रमाण, न आदेश, न उजुर न बाजुर ! आफै ‘खोई खोलो ?’ भन्ने दिन आएमा ‘सुक्यो’ भनेदेखि पुगिहाल्यो । सुकेपछि के लाग्यो त ? फेरि मूल फुटाउन त अर्कै जुक्ति पो चाहिन्छ ।

खुप् डाँको छोडेर बोल्ने कुखुरो, लाटो बनेर तर मार्ने बिरालासँग जिल्लिएको त्यो बाललोलीको पाठबाट मान्छेले कहिल्यै शिक्षा सिकेन भन्न मिल्दैन । यसभित्र जीवनको रस फेला पारेको छ र त समयको आड मिलेको दम्भ चुलिएको छ । दम्भले पारेको प्रभावमा जीवनको गतिसँगै मति पनि बदलिएको छ । बदलिएको मतिमा समयको डाँकोसँर्गै अघि बढ्न पनि समय नै पढ्न पर्ने होइन र ?

मान्छेको जातसँग जोडिएको यस पाठमा गहिरिँदा हेर सुकुमे, तेरो आदर्श पनि त्यही ड्याङको मुला हो भन्दा फरक पर्दैन । सबैको मुख आँ भएको बेला तेरो आदर्शलाई बिरालो देखाएर तर्साइन्छ । बासी भातको डल्लोमा र्‍याल चुहाएर मुसाको स्वाद पर्खेको बिरालो पल्काएर जिल्लाइन्छ । बिरालाले तर मारेको समयलाई गाई लगाएर कुल्चाइन्छ र लेखातन्त्रको खोला देखाएर बगाइन्छ अनि सामसुम र खासखुसको रागमा तेरो आदर्शलाई एउटा मजाकको विषय बनाइन्छ ।

कानुनका आँखामा सबै ठिकठाक देखाएपछि र देखिएको बोध भएपछि केही गर्न नसक्ने यही आदर्श, समयको लय अनि दुर्गतिको पाठ भएको छ । उजुरीका कुखुराहरू बेरुजुको फाइलभित्र बासी भात खोज्दै कराउँदा बिरालाले खाएको भए पनि नदेखिने बिरालासँग जोडिएर मुसो, दुलो, गाई, खोलो हुँदै यो रहस्य सुक्छ । सुकेको रहस्यमा कुखुराहरू सबैको मुख आँ देखेर आफ्नो डाँको बन्द गर्छन् । कुखुराको डाँकोमा बिरालासित साइनो गाँस्न पर्ने बाध्यता कसरी सिर्जना भएको हो ? यो स्थिति सिर्जना हुनमा सानादेखि ठुलासम्मको सामाजिक भूमिका पनि त खोजीको विषय बनेको छ । त्यसैले त कुखुरी काँ, सबै कुरा आँ भएको समय बेलगाम भएको होला ।

अहिलेसम्म पनि समाजमा कुखुराको डाँको जति नै सुनिए पनि बिरालाहरूकै रजाइँ छ । बासी भातका अनेक पोकाभित्र समाजको साजी आँखा बन्द भएको छ । भ्रष्ट आचरण समाजको गतिभित्रको सुगन्ध ठानेर पुज्य भएको छ । गाईको सुधोपन सधैं नछलिएला । खोलो पनि सधैं नसुक्ला । यसो भए पनि कुखुराहरूको डाँको बन्द हुँदैन र यो डाँको समाजका जागरणमा विगुल फुक्न पछि पर्दैन ।

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x