माधव पोखरेल गोज्याङ्ग्रेसिद्धान्त नाली गए
सेतो वस्त्र लगाउँदै शहरमा घुम्दो भयो श्वानमा भागाभाग भए सबै जनहरू आए छ काल भ्यानमा श्वानैको त बनाइ भ्यान उसले जोड्यो नयाँ सम्पति दौडे गाउँ बजार चोक तिर यी जोडा मिली दम्पति ।

माधव पोखरेल गोज्याङ्ग्रे :
थोत्रो थाल ठटाउँदै जनहरू उठ्ने तयारी गरे 
भाग्यो पुच्छरभित्र टाङ तल भो बैरी सरी भो हरे
हामी मानवको चरित्र सजिलो धोखा दिने काममा
आफ्नै धर्म विरोधमा जुनकिरी उत्रे सरी नाममा ।
जागौँ हो अबता ढिला हुन गयो ओछ्यान फेरौ छिटो
गन्धे भो डसना र चाँदरहरू सत्ता विकामे तितो
नेता तागतहीन शक्ति नहुने लम्फू भयो डम्फु झैँ
ठूलो हाँक दिएर व्यस्त रहने माग्ने बुढा ताल झैँ ।
आए गाउँ घुमेर मुर्ख भतुवा पीडा थुपार्दै अति
हाम्रो देश रमाइलो भुवनमा जात्रा मनाऊँ कति
कात्रोसम्म नपाउने समय यो भोकाहरू शोकमा
पाको भैँ सकियो शरीर बलियो देखिन्छ यो रोगमा ।
बेहोरा धतुरे छ मानव छुचो नेतृत्वमा बस्दछ
आफ्नै राग भयो कडा मरिच झैँ तर्सेर ऊ भाग्दछ
फाल्यो जाल यता उता नजरले ढाँडे सरी बन्दछ
देख्यो मित्र भने सगोल जनको खेदो उही खन्दछ ।
सेतो वस्त्र लगाउँदै शहरमा घुम्दो भयो श्वानमा
भागाभाग भए सबै जनहरू आए छ काल भ्यानमा
श्वानैको त बनाइ भ्यान उसले जोड्यो नयाँ सम्पति
दौडे गाउँ बजार चोकतिर यी जोडा मिली दम्पति ।
ईमानी अनुशासनी मुलुकमा त्यो श्वान भन्दा भयो
दियौँ भोट जितेर गो सदनमा साँढे अनाडी भयो
मालाको अतिभार काँध उसको जात्रा भयो देशमा
भारी बोक्छ गधा सरी मतठगी जात्रा गरे देशमा ।
हाम्रो यो अधिकार कानुन सरी खोसेर लाने भए
खोक्रो नाटक मात्र यो मुलुकमा गोरा त काला भए
कालाकै सपना जता पनि यहाँ गोरा अमिल्दा भए
लौरो वा हतियार हुन्न कहिले सिद्धान्त नाली गए ।
०००
उदयपुर, गाईघाट
Subscribe
Login
0 Comments
Oldest







































