सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्रो संस्थाको गणतन्त्र दिवस

देख्नुभएन अस्ति पिकनिकमा ? चार सय कार्टुन हार्ड ड्रिङ्क्स सात सय कार्टुन बियर, तीन सय कार्टुन सफ्ट ड्रिङ्स । उल्टी आइञ्जेल धाेके मोरा मोरीहरूले । सो सेम । आई एम सो सरी ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

अस्तिको हप्ता हाम्रो संस्थाले पिकनिक आयोजन गरेको थियो । कुनै पनि सदस्यले पिकनिकको निम्ति खल्तीबाट कुनै रकम तिर्नु नपर्ने, पिकनिकको जम्मै खर्चपानी संस्थाका अध्यक्ष महोदयले स्पन्सर गर्ने सूचना जारी गरेपछि संस्थामा कुनै दिन अनुहारै नदेख्नेहरू पनि पिकनिक जान संस्थामा तोकिएको समय भन्दा अगावै हाजिर । तिनीहरूमध्ये मै पनि एकजना परेँ ।

अर्को हप्ता गणतन्त्र दिवसमा जतिसक्दो संस्थाका सम्पूर्ण मेम्बर्स उपस्थित भएर गणतन्त्र दिवस भव्य रुपले मनाउनु मात्र होइन अरु संस्थाहरूलाई हाम्रो सदसय सङ्ख्या देखाउनुपर्छ भनी अध्यक्ष महोदयले पिकनिक स्पटमै घोषणा गरे । कसैको अस्वीकृति भएन, सुनिएन । हाम्रा संस्थाका अध्यक्ष महोदय त्यसै पनि फुर्के । उनीसित हजारौंका सङ्ख्यामा सदसयहरू साथमा छन् भन्ने उनको धाक अर्कै थियो । अन्य सदस्यहरूले बाई चान्स संस्थामा उपस्थिति दिए पनि हाम्रा अध्यक्ष महोदय चैं महिना दिननै हाजिरी दिन्थे । ?

साहित्य वा सङ्गीतमा त्यति चासो नभए पनि बलैले साहित्यिक कार्यक्रम वा सङ्गीत कार्यक्रमतिर कविता पढ़ेरै, गाएरै छाड़्थे । साहित्यको स पनि नजान्ने त के एउटै नेपाली पुस्तक, पत्र-पत्रिका वा नेपाली सिडी एल्बम नकिन्नेको स्वर वा साहित्य कस्तो हुन्छ त्यो आफै बुझ्नुहोस्…तरै पनि उनको प्रशंसा गरिदिनैपर्ने ।

यसपाली गणतन्त्र दिवसमा वरपरका विरोधी संस्थालाई देखाउँछु भन्ने विचार लिएर उनी जङ्गिएका थिए । अन्य सदस्यहरू पनि के कम्ति र देखाउनुपर्छ सर भनी आगोमा घिउ हालेर उनलाई किङ्ग क्यानुटनै बनाए । म हेरिमात्रै रहेकी छु ।

जे होस्, गणतन्त्र दिवसको निम्ति मलाई फूल ल्याउने जिम्मावारी परेको थियो । बिहानै फूल दोकान गई पाँच हजारको फूलको माला लिएर बिहानै संस्थामा उपस्थित भएँ । कुनै सदस्यको उपस्थिति देखिनँ । गाड़ीको भाड़ा दिँदैथिए अध्यक्ष महोदय टाई सुटमा सेतो दाँत देखाउँदै आइपुगे । नमस्तेको आदान प्रदान पछि उनले घड़ी हेर्दै भने, म्याम ! खोइ अहिलेसम्म कोही आएका छैनन् ? मैले तुरुन्तै जवाब दिएँ, खोइ सर ! यहाँ त म तपाई र मलाई मात्र देखिरहेकी छु ।

एक मुठी गुटखा क्वाप्पै मुखमा हाली जिब्रो गुजुल्टाएर अध्यक्ष महोदय बोले, यसरी काहँ हुन्छ ? यत्रो ठूला महान पर्वमा यसरी लेट गरेर हुन्छ भन्नुहोस् त म्याडम । यिनीहरू सबैलाई सो कज् गर्नुपर्ने । इट इज भेरी ब्याड य़ । गणतन्त्र दिवसको महत्त्व नबुझ्ने, गणतन्त्र दिवस धुमधामले मनाउने संस्थाप्रति लोयल हुन नसक्ने के को सदस्य, के को भारतीय नागिरक । साह्रै लाजमर्दो हगि म्याम । घड़ी हेर्दै उनले फेरि भने, अहिले आवोस् मात्रै न यस्तो झपार्छु कि…यिनीहरूले मलाई यस नामी संस्थाको प्रेसिडेण्ट भनेर चिनेकै छैनन् ।

म बोलिनँ । मनमनै भनेँ, सर यो सरकारी संस्था होइन । एकक्षणमा सचिव महोदयको आगमन । त्यसपछि कोषाध्यक्ष । निकै बेरपछि फाटाक फुटुक सदस्य । तर कसैसित पनि चुइँ बोल्न सकेनन् हाम्रा प्रेसिडेण्ट साहब । बरू उल्टा मलसाप्रोको छेउमा साँप परेजस्तो लट्टिएर सबैलाई गुड मर्निङ भन्दै हात मिलाउन आफ्ना दाहिने हात अघि सारे । मनमनै भनेँ, माछा देख्दा दुलामा हात साँप देख्दा बाहिर हात । मात्रै हामी चारजना सदस्य बारेक अरु सदस्य कोही आएनन् । जबकि हाम्रो संस्थामा हजार भन्जा बढ़ी सदस्यहरू छन् । अस्ति पिकनिकमा भने संस्थाका जम्मै सदस्यको उपस्थिति थियो ।

छैन मान्छे गणतन्त्र दिवसमा । प्रेसिडेण्ट, सचिव, कोषाध्यक्ष र म गरी चारजनाले मात्र कसरी ध्वजारोहण गर्ने । प्रेसिडेण्ट लाजमर्दो भए । उनी रिसले रातै भएका थिए । रिसको झोंकमा भनिहाले, मोराहरू पिकनिकमा आउँछन् नि…सबै फ्रि अन्त । हाम्रा सदस्यहरूले फ्रि खानु पाए अलकत्रा पनि छोड़्दैनन् । देख्नुभएन अस्ति पिकनिकमा ? चार सय कार्टुन हार्ड ड्रिङ्क्स सात सय कार्टुन बियर, तीन सय कार्टुन सफ्ट ड्रिङ्स । उल्टी आइञ्जेल धाेके मोरा मोरीहरूले । सो सेम । आई एम सो सरी ।

छैनन् अरु कोही मान्छे । प्रेसिडेण्ट हाँकिएर बाहिर गए…अनि एकक्ष पछि रेल स्टेशनको स्लम एरियाबाट पचासजना भन्दा धेर मसिना मसिना नानीहरू गाड़ीमा खाँदाखाँद गरेर ल्याएछन् । सबैलाई लाइनमा उभ्याई राष्ट्रिय गीत गाउन लाए । मलाई मात्र होइन हाम्रा प्रेसिडेण्ट, सचिव र कोषाध्यक्षलाई राष्ट्रिय गीत गाउनै नआउँदो रहेछ । अझ यी भाड़ामा ल्याइएका स्लम एरियाको नानीहरूलाई राष्ट्रिय गीतको कुन चराको नाम हो के थाहा ?

तैपनि जसोतसो राष्ट्रिय गीत गाउने जमर्को गरेर । त्यसभन्दा पहिले नानीहरूलाई एटेन्शनमा उभ्याइयो । झण्डोत्तोलन भयो । प्रेसिडेण्ट महोदय मुण्टो चुँड़िने गरेर चिच्याए….जय हिन्द….। हामी तीनजना पनि सकिञ्जेल चिच्यायौं । नानीहरूलाई जय हिन्द के हो के हो ! झण्डोतोलन भएपछि प्रेसिडेण्ट गणतन्त्र दिवस, भारतीय संविधानबारे डुक्रिनु थाले । बलैले हामीले उनको रिकर्ड गरिएको भाषण सुन्यौ । तर स्लम एरियाका नानीहरूको आँखा अलिक पर राखिएको मिठाइमाथि नै थियो ।

एकक्षण पछि एकजना सदस्यले प्रेसिडेण्ट साहबलाई फोन गरे, सर…आज लुज मोसन भएर आउन सकिनँ । गणतन्त्र दिवसको निम्ति ल्याउनु भएको मिठाई, सिङ्गाड़ा पठाइदिनोस् है । म घरको काम गर्ने केटा पठाउँदैछु ।

प्रेसिडेण्टले उपस्थित सबैलाई आफूले पैसा खर्च गरी ल्याएका मिठाइ सिङ्गाड़ाहरू बाँड़े अनि रहल जति सबै दारा किट्दै नालामा फ्याँक्दै भने, पठाउलास् तेरो काम गर्ने केटो । लु गणतन्त्र दिवस । लु मिठाइ सिङ्गाड़ा गणतन्त्र हुँ तिमीहरू ।

मिठाइ र सिङ्गाड़ा भूइँमा लड़ेका देखेर स्लम इलाकाका ती नानीहरू भूइँको सिङ्गाड़ा र मिठाइ टिप्न धुरिए । प्रेसिडेण्ट केही नबोली आफ्नो गाड़ीभित्र पसी गाड़ी हाँके । उनको गाड़ीको चक्काले भूइँमा लड़ेका केही मिठाइ र सिङ्गाड़ा चेप्टिए ।

सविच सर बोले, लु सिङ्गाड़ा र मिठाइको गणतन्त्रको हत्या भयो ….।

०००
जलपाईगुड़ी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाइन

लाइन

नगिता लेप्चा राई
मुड

मुड

नगिता लेप्चा राई
ब्याकबाइटिङ् क्विन

ब्याकबाइटिङ् क्विन

नगिता लेप्चा राई
आफ्नो डम्फु आफै बजाउन थालेँ है

आफ्नो डम्फु आफै बजाउन...

नगिता लेप्चा राई
झिल्के पण्डित

झिल्के पण्डित

नगिता लेप्चा राई
(बी)३ = बी क्यूब बडा

(बी)३ = बी क्यूब...

नगिता लेप्चा राई