साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुस्केका कुरा

जो दलको दलाल भएर बिके ती टीके पदधारी के के न पाए भनेर सुहाओस् न तुवाओस् कागले मयूर प्वाँख जडेर राम्रो ठूलो भएको ठान्छन् र त्यहाँबाट झर्दा आफ्नैले लोपुवा ख्वाउँदा जिउँदै खुस्कन्छन् ।

Nepal Telecom ad

रामकुमार पाँडे :

मलाई झुलुक्क देख्ने बित्तिकै काकाले पुलुक्क हेरे । म पनि के कम हेर्‍या हेरै गरेँ । भैँसीसिङे जुडा मुठ्याएर मुसार्दै काकाले भने- के हेर्छौ लाटाले केरा हेरे झैं क्वारक्वार्ति ?

मैले भनेँ- काकाको नाक हेरेको काका । काका रिसाएको र खुसाएको म नाकैबाट पत्ता लगाउँछु । काकाले नाकै बजाउनुभएन ।

काकाको नाकमा कुनै कालो दाग नभएकाले मैले फेरि भनेँ- नाकै कसरी जोगाउनुभएको छ काका ?

काकाले भने- नाकै ठाडो पार्न त्यसै हुन्छ ? पुरुषार्थ नगरी नाकै मात्र फुलाएर हुन्छ ? के मान्छे तौल्न पहिला नाकै दर्शन गर्नैपर्छ ? आजभोलि नाकको काम कुकुरले भन्दा बढी प्रहरीले गर्छ ।

प्रहरीहरू सुँघेरै कुन ब्रान्ड भन्न नसके पनि रक्सी धोकेको मापसे पत्ता लगाउँछन् र सके रक्सीको सिसि समेत बरामद गरेर हाकिमकहाँ मद मात्सर्यको अवसर जुटाउँछन् । त्यति नभए एक सिसि बोतललाई पुग्ने त पक्कै असुल्छन् । मादक पदार्थ सेवन कर्ता अर्थात् मापसेको नाममा दर्ता गर्दै बर्ता राजस्व उठाउन लागेका छन् । अन्ततः हाकिमको भोजन भत्ता जुटाउँछन् । भोजमा मादक पदार्थ नै नकिनी हुन्न । अर्थात् मादक पदार्थ विना भोजन भोजन जस्तै हुन्न । यस्तै हुने हो भने हाम्रो देशको राजस्वको मूल स्रोत मादक पदार्थ हो भन्नै पर्छ । पुलिसको पकेट खर्च दिएपछि सङ्कट टर्छ ।

यस दृष्टिले हेर्दा अर्थमन्त्री बुद्धि भएका आए भने राजस्वको नयाँ स्रोत बढेको देख्नेछन् र चुसे (चुरोट सेवन गर्ने), गासे (गाँजा सेवन गर्ने), र ड्रसे (ड्रग सेवन गर्ने) पनि करको दायरामा आउनेछन् । अचेल बडे बडे मुँडे पनि देखापर्ने गरेकाले तिनले सिर्जना गर्ने भान्छाको खानामा चाप, वस्त्रको अनौठो नाप, जत्ति प्रयास गरे पनि बन्न नसक्ने नामर्द बापको कुरा गर्दा भुडीको परिधिको नाप अनुसार, लुगाको छाँट अनुसार राजस्वको शुल्काइन नेताको नाक र पातर्निको केजातिको सम्भावित नयाँ करको दायरा फराकिलो पार्न सके टाक्सेका नेतालाई उक्सेको भुँडीवाला बनाउन नसकिने हैन । यस्ता नाना रडका रोगको घर बासिन्दालाई करको दायरामा दर्ता गर्नैपर्छ । खोपि खेल्नेदेखि क्यासिनो पुग्ने र दाइजो देखि उपहारसम्ममा करको भर हुनेछ ।

तीरले लागेर घाइते बनेका नेताले मादक पदार्थ सेवन गरी विक्रि वितरण प्रवद्र्धन गरेकोमा वा मापसे नै भएर हिँडेको हुँदा तिनलाई हेरेर हाँस्ने कुरा गर्ने (हापसे) पनि चलन चलाउनुपर्छ । हेर्नोस्, हाँस्न त हाँस्नोस् हाँस्दा भुँडीमा आठ रिक्टरको कम्प छुट्ने गरी, नेताको दिमाग भुट्ने गरी हाँस्नोस् । मापसेले राजस्व बढाउन योगदान गर्नु कम गौरवको कुरामा हैन । म त भन्छु भतिज, गाईजात्रामा मात्र किन हो ३६५ दिनै हाँसो छुटोस्, लुट्नेले पनि हाँसो नै लुटोस् । हाँसैले हास्य-व्यङ्ग्य जोकको भोक मेटोस् ।

अचेल दैलो नदेख्ने थैलो मात्र देख्ने पैलो स्तरको नेता छन् । फोहर मोहर बन्नु त कताकता शहर सबै ढाक्ने र नाकै पाक्ने रोग लागिहाल्छ । अनि नेताले कुन नाकले मुख देखाउने ? दुइ इन्चिको मुख पाँच इन्चि बनाउँदा नै हास्यरसले भिज्दछ । पहिले मान्छेहरूको मोबाइल ट्वाइलेट हुन्थ्यो अहिले त ट्वाइलेट बनाएँ पनि ढोकैमा सुइँक्याउनेछन् । यसलाई कार्यबाहि नगरी कार दिन सकिन्छ र ? त्यत्रो सिंहदरबारमा कोपरा नहुँदा छुक्क पर्नु के पर्नु ? महानगरमा त कुहिगन्ध विनाको एउटै ट्वाइलेट छैन । मान्छे नचाहिँदो सबै ट्वाइ भएर इन्ज्वाइ गर्न खोज्ने फ्रेण्डमा गर्लस् र ब्वाइ नभएका हुन्नन् ।

काकाको गन्थन चर्कियो, मेरो दिमाग काकातिर फर्कियो- हैन काका राणाले त केही बनाए, पछिका युग हाक्ने भन्नेले बिगारको शिकार बनाए काका ।

ए ल सुन, सुनभन्दा बहुमूल्य प्रवचन मैले आजै सपना देखेको कुरो हो । म कताबाट कताबाट स्वर्गको नगरमा पुगेछु । मेरिबास्सै । त्यहाँ त दलका झन्डा मुर्दाका ताँती पो आउँदै गरेको देखेँ । कोही जागिर खुस्केका, कोही दिमाग खुस्केका, कोही झाडा खुस्केका, कोही इंजार फुस्केका, अनेक तालका कार्यकर्ता । मलाई लाग्यो दलका दलाल सबै सिद्धिए भनेर, हैन र’छ । आ’को छ आ’को छ । उता चित्रगुप्तलाई मान्छे छानेर स्वर्ग, नर्क वा फिर्ता पठाउने निणर्य गर्ने गाह्रो ।

चित्रगुप्तले एक एकसँग सोधपुछ गर्न लागे, तिम्रो रिकर्ड खराब छ । घरमा आगजनि गरेको, सडकमा टायर र भोज भतेरमा सायर बालेको, कुहिगन्धि फोहर जथाभावि फालेको। पैसा त अर्को मान्छे सालोको पालोमा राखेछौ । देशमा एउटा भिङ्गो मारेको छैन दिग्गज भएछौ । छानबिनले तिम्रो कल्याण गरेन । यत्तिका वर्ष खायौ, सक्यौ । बन्यो के ? के बन्यो ?

काका ! के दलले जनता झुक्काएकै हुन् त ?

हैन भन्नेमा प्रमाण के छ ? झन्डामा तारा राखेर जनतालाई आकाशका फल जस्तो आकाशका ताराको आशा देखाए । आकाशका फल, साँढेको पछि लाग्ने स्यालको जस्तै कार्यकर्ताको छ भने जनताको के कुरा गर्ने ? उता आधुनिक युगको विकास छोडेर भुत्ते हँसिया र हतौडा । आज ठोकठाक र काटकुट गरेर राजनीति चल्छ ? बरु गाउँ गए हलो भलो गर्ला । आजको आइटि र कटिमा कट्टू हुने ठिटीको जमानामा आइप्याड र माना पाथिको के काम । तिनका बिग्रेका विचार । जिन्दगीभर प्रजातन्त्रको नाममा लडे भन्ने कुरा गर्ने बेलामा एउटा झिङ्गो मार्न नसक्ने । जेलमा जति धेरै बस्यो त्यति चोर डाँका र पकेटमारा ज्यानमाराको सङ्गतले कहीं मान्छे जान्ने बुझ्ने हुन्छ ? नेता कहिले बुद्धिजीवी, विद्वान्को घरमा गएर सङ्गत गरेका छन् र २ ढलेको अडखोरा उठाउन छोडी रक्सीको सिसि समाउनेले के गर्छ काम ? काम गर्छ के ?

औतारि काका गम्भीर भए ।

भनेँ- काका गम्भीरलाई गम्दा पछि भीर देखापर्छ भन्छन्, श्रीमान् गम्भीर हुनुको कारण के हो ?

उनले भने- प्रचन्डप्रतापी भए । प्रतापीले प्रताडना गरेकाको तापलाई तापी के होला फलिफाप । मान्छे पदमा बस्दा खुस्कन्छ भको ठान्दैन, चुरिफुरि गर्छ । जब आसनबाट झर्छ त्यो जिउँदै मर्छ । मान्छेले झर्नुपर्छ मात्र हैन मर्नुपर्छ भन्ने मात्र ठानेको भए केही गर्नुपर्छ भनेर असल कामको पसल खोल्थ्यो, तसल गर्नतिर लाग्दैनथ्यो र असल बन्थ्यो । मान्छे जति मर्छन् ती एक न एक कुरामा खस्केकाले नै भद्रगोल भएको हो त काका ?

हो नै । काकाले भैंसीसिडे जुङ्गो ठाडो पार्दै भने- मान्छे पद, प्रतिष्ठा र पैसा पाउँदा खुस्कन्छ । जो दलको दलाल भएर बिके ती टीके पदधारी के के न पाए भनेर सुहाओस् न तुवाओस् कागले मयूर प्वाँख जडेर राम्रो ठूलो भएको ठान्छन् र त्यहाँबाट झर्दा आफ्नैले लोपुवा ख्वाउँदा जिउँदै खुस्कन्छन् । पैसाको तुजुक गर्ने भ्रष्टाचार लाग्दा खुस्कन्छन् । आफ्नै सन्तान बिग्रँदा खुस्कन्छन् र पैसाले सबथोक किन्न सकिने ठानेर जबरजस्ती आफै बिक्छन् अनि उठ्न नसक्ने गरी थचिंदै खुस्कन्छन् । खुस्केको कुरा गरेर के साध्य ।

भुँडीमा अपच भएर खुस्केको अत्तोपत्तो हुन्न । के के न गरौँला भन्दै आँखामा फुलो पर्दा दाँत झर्दा र चाउरि पर्दा पनि कोही अदालत धाउँदा, कोही प्रोजेक्ट पाउँदा र कोही औतालि आउँदा भोग गर्न नपाइने खुस्कने दिन आयो भनेर एक छिन सोच्दैनन् । यही नसोच्ने, बेलामा बुद्धि नआउने, खप्पर राम्ररी नचल्ने नै खुस्केका हुन्छन् । कतै तपाईं पनि खुस्कनुभएको छ कि ?

०००
जावलाखेल, ललितपुर
‘जोकतन्त्र जिन्दावाद !’ (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x