मुक्तिनाथ शर्मामिश्र मामाकाे प्रश्न
असली कुरा बुझेपछि राजाले भनेछन् जार काट्न पाइन्छ । काट्दे जारलाई । साधुले खुकुरी चम्कायाे । जार भाग्याे । साधु लखेट्दै गयाे जारलाई । तर भेटाउन सकेन ।

मुक्तिनाथ शर्मा :
असार महिना जान जान लागेकाे थियाे । कामकाे माचाे थियाे । प्राय मान्छेहरू बेफुर्सदी थिए । कहाँ जाउँ के गरुँ काे माथि जरुँ जस्ता भएर काममा दाैडेका दाैड्यै थिए । म एक्लै टाेलाएर बसेकाे थिएँ।
हिजाे मात्र बुढी माइत गएकी हुन् । तेसै हुँदा एक्लै हुन परेकाे थियाे । रुइ र फुइ भए पनि म दुई नभएकाे अवस्थामा थिएँ । कसैलाई डाकाैं डाकाैँ पनि नभएकाे त हैन तर पनि आफ्नू उमेर र हैसियतले नदिँदाे रहेछ । तसर्थ केही गर्न नसकेकाे हुँ । तर पनि बाटाेमा हिँड्नेहरूकाे मुख आँखा मुस्कान निहालेर आनन्द भने लिँदै थिएँ । मिश्रमामा टुप्लुक्क उदाउनुभाे ।
आज मिश्रमामाकाे अनुहार उज्यालाे थियाे । शरीरमा न लुगाफाटामा, न त दारी कपालमा बेसारकाे पहेँलाे पन नै थियाे । उहाँ भर्खर भाषण छादेर आएकाे नेता जस्ताे पाे देखेँ त मैले ।
खुसी पनि लाग्याे कारण मामा कुनै कालाे व्यापारी हाेइन, न कुनै सरकारी जमिन हडप्ने अर्वपति हाे । न हाँडीगाउकी राणाकाे झ्यालबाट छिर्ने कामी मन्त्री पनि हाेइन र देशै बेच्न खाेज्ने भ्रष्ट नेता पनि हाेइन । विशुद्ध पसिना बगाइ खाने साधारण मान्छे । तसर्थ आज मैले अण्ट सण्ट कुरा गरेर मामालाई खसाल्ने प्रयत्न गरिनँ । ससम्मान कुरा गर्न थालेँ । कुरै कुरामा देशकाे राजनीतितिर पनि पुगियाे।
कुरै कुरामा बहकिँदा बहकिँदै मामाले एउटा कथा सुनाउनुभयाे मलाई । कथा यस्ताे थियाे:-
उहिल्यैकाे कुरा हाे त्यतिबेला नेपालमा एकलाैटी हुकुमी राणा शासन थियाे । अइन कानुन गतिला थिएनन् । शासकले जे बाेल्छ त्यहि हुन्थ्याे । काट मारकाे सजाय समेत सजिलै दिनसकिन्थ्याे त्यतिबेला । त्यस्ताे डरलाग्दाे अवस्थामा एउटा सिधा साधा मान्छेकी पत्नी अर्काे मान्छेले लगेछ । पहिलाे पतिले फर्काउन सकेन । ऊ राजा गुहार्न गयाे । राजाले कुरा बुझ्दै गए । असली कुरा बुझेपछि राजाले भनेछन् जार काट्न पाइन्छ । काट्दे जारलाई । साधुले खुकुरी चम्कायाे । जार भाग्याे । साधु लखेट्दै गयाे जारलाई । तर भेटाउन सकेन । साधुले एउटा अल्काे ठाउँमा बसेर भएभरका गाली गरेछ । गाली गरी सकेर साधु फर्क्याे, राजा भएकाे ठाउँमा ।
राजाले प्रस्न गरे काटिस् त जारलाई ?
साधुले भनेछ- काट्न त सकिनँ । मर्ने गरि गाली गरेर आएँ सायद मर्याे हाेला त्याे ।
यति भनेर मिश्रमामाले मलाई भन्नु भाे काट्न गएकाे मान्छेलाई गाली गरेर मार्न खाेज्ने बुद्धु अहिले हाम्राे राजनीतिमा पनि छन् रे हाे भाञ्जा ? मैले जवाफ दिन सकिनँ । प्रश्न काँचै छ ।
०००
नयाँवानेश्वर, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































