साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता बेच्नु पर्छ अब

अमेरिकालाई पनि नेपाली नेता कार्यकर्ता चाहिएको छ ! उसले नेपाली माथि विश्वास गरेको छ । करोडौं तिरेर जोखिम मोल्दै तल्लोबाटो नजाउन् भन्ने अमेरिकाले पनि सोच्यो होला ।

Nepal Telecom ad

विदुर दाहाल :

व्यापारको स्वरुप परिवर्तन गर्नु पर्छ भन्ने अनुभूति भइरहेको थियो पछिल्ला दिनमा । केको व्यापार गर्ने होला अब ? गहन सोचाइमा थिएँ म । म्यानपावर कम्पनीले केही वर्ष अगाडिसम्म राम्रै कमाई गरिदिन्थ्यो । अहिले जे प्रगति भएको छ त्यसैको परिणाम हो । बिस्तारै विदेश जाने श्रमिक घट्दा चिन्तामा थिएँ । घर व्यवहार कसरी चलाउने ? कसरी कमाउने ? सोच्दा सोच्दै अफिसमै उघेछु म ।

न्युयोर्क टाइम्सले एउटा विज्ञापन निकालेछ त्यो मैले देखेँ । त्यसमा लेखिएको थियो “राजनीति गर्न नेता चाहियो” ! विज्ञापन पनि ताल तालका ! कामदार चाहियो वा अफिसमा काम गर्ने कर्मचारी चाहियो वा कलेजमा पढ्ने विद्यार्थी चाहियो भनेर विज्ञापन गरेको थाहा थियो । तर आज राजनीति गर्न नेता चाहियो रे ! अरु देशका मान्छेलाई अमेरिकामा राजनीति गर्ने अवसर पनि प्राप्त हुन थाल्यो । कस्तो अचम्म… !

दुनियाँकै लागि उदाहरण ! अमेरिकाले सबैलाई अवसर दिन्छ भन्थे । दियो । साँच्चिकै अमेरिका अवसरहरूको भूमि रहेछ । समय पनि के आयो आयो । भाडामा राजनीतिज्ञ ! उत्तर आधुनिक विश्वमा यस्तै हो । सबै कुरा सम्भव ।

ट्रम्पलाई आफू जस्तै योग्य सहयोगी चाहिएको हुनु पर्छ । कल्पना गरे मैले ! विज्ञापनमा हाइलाइट गरिएको थियो ! नेपालीलाई पहिलो प्राथमिकता ! अमेरिकामा पनि नेपालीलाई आरक्षण ? गज्जब छ बा ! नेपालको आरक्षण नीतिको प्रभाव त्यहाँ पनि रहेछ ! लौ जय होस् । हाम्रो नीति दुनियाँमै उत्कृष्ट रहेछ ! आज त्यसले पनि फल उपभोग भयो ।

त्यसो भए काम चकाचक हुने भयो मेरो ! बाटो मोड्नु परेन । पुरानै कामले निरन्तरता पाउने भयो । “काम नेता बेच्ने !” अर्थात विदेशमा राजनीतिक नेता- कार्यकर्ता निर्यात गर्ने ! नेपाली नेता- कार्यकर्ताको कमाल अमेरिकाले पनि देखोस् अब ! नेता- कार्यकर्ता उत्पादन गर्ने फ्याक्ट्री नै हो नेपाल । अमेरिकाले पनि नेता-कार्यकर्ता उत्पादनको रहस्य पत्ता लगाउन अवश्य कोशिश गर्ला । अन्तरीक्ष अनुसन्धान भन्दा नासालाई यो बढी चुनौतीपूर्ण काम हुनेछ !

देशमा जे धेरै उत्पादन हुन्छ त्यही निर्यात गर्ने हो । त्यो नै धन हो । नेता- कार्यकर्ता धेरै उत्पादन गर्ने देशले तिनैलाई निर्यात गरी दीगो आर्थिक स्रोत बनाउनु पर्छ । फेरि माग पनि त उच्च रहेछ अमेरिकामा ! गज्जबको अवसर !

ट्रम्प चलाख छन् ! चुनाव जिताउने नेता- कार्यकर्ता खोजेका होलान् ! नेपालका नेता कार्यकर्ता दुनियाँमा बढी अनुभवी र पोख्त छन् भन्ने कुरा विश्व राज नेतालाई जानकारी हुने नै भयो ।

ढुङ्गो खोज्दा देउता मिले झै भयो मलाई ! वाउ.. ! अब भने व्यापार जम्ने भयो ! “आफ्नो काम मान्छे बेच्ने हो” ! विगतमा लुम्रे – झुम्रे बेचियो । बल्ल गतिला बेच्ने दिन आए ! गतिला बेच्दा दाम पनि गतिलै आउला ! व्यापार राम्रो हुने पुर्वानुमान लगाएँ मैले ।

हरेक देशहरूका आम्दानी स्रोत फरक फरक हुन्छन् । कुनै देशले औधोगिक वस्तु निर्यात गरेर कमाई गर्छन् भने कुनैले कृषिजन्य वस्तु निर्यात गरेर कमाउछन् । नेपालले मान्छे निर्यात गर्छ । झन्डै ८५ वर्ष अगाडिदेखि यसरी नै कमाएको हो । पहिलो र दोस्रो विश्व युद्धमा सेना भाडामा उपलब्ध गराएर कमाएको झल्झली याद आयो मलाई ! अब पनि त्यसरी नै कमाई गर्छ । राज्यको ठूलो आम्दानी स्रोत मान्छेहरू हुन् ! देशले कलाकार बेच्यो ! खेलाडी बेच्यो ! कर्मचारी बेच्यो ! विद्यार्थी बेच्यो ! श्रमिक बेच्यो ! शिक्षक बेच्यो ! वास्तवमा देशले तन्नेरा-तन्नेरी बेच्यो ! पालो आएछ नेता बेच्ने ! अब नेता बेच्नु पर्छ । आम्दानी व्यापक बढ्नेमा ढुक्क भएँ म !

नेता निर्यातको सेवा – शुल्क कति लिने होला ? चण्डाल र इमानदार नेता – कार्यकर्ताको शुल्क एउटै गर्ने कि फरक गर्ने ? अल्मलिएँ म !

पासपोर्ट बनाउँदा पनि देशले आम्दानी गर्छ । प्रति पासपोर्ट रु ५०००- का दरले हिसाब गर्दा खर्बाैँ हुन्छ । पाँच वर्ष पछि फेरि बनाउनु परिगो ! पासपोर्ट नबनाउने नेपाली पाउन मुस्किल छ ! तिनैले देशमा रेमिटेन्स पठाउछन् । वास्तवमा अर्थव्यवस्थालाई सहज बनाइदिने भगवान हुन् तिनीहरू !

समय बलवान् छ…! नेताले जनता बेच्थे अब तिनैलाई बेचेर कमाउने भइयो ! आवेदन दिएँ भने भुटानी शरणार्थी बनाएर अमेरिकामा बेच्नेलाई पहिलो लटमा निर्यात गर्नु पर्ला ! देशको लागि खुसीको खबर हुनेछ । देशले पनि राम्रो आम्दानी गर्ने मौका पाएको छ।देशको जय् होस ।

अनौठो लाग्ला ! अनौठो नमान्नुस् ! देशले कसरी आम्दानी गर्छ भनेर ? उत्तर सजिलो छ । देशमा भ्रष्टाचार गरेर विदेश लान्थे अब भने विदेशबाट नेपालमा आउछ ! नेता- कार्यकर्ता निर्यात गरेपछि देशमा स्वतः भ्रष्टाचार कम हुने भयो ! गिजोल्न कम हुने भयो ! हुने काम नहुने र नहुने काम हुने अवस्थाको अन्त हुने भयो । देशको स्थायित्व, विकास र सुशासनका लागि यो सुनौलो अवसर हो । फाईदै फाईदा ! देशको सुन्दर भविष्यको चित्र मेरो अगाडि आयो ! एकाएक देशप्रति आशावादी भएँ म !

जनसङ्ख्या वृद्धिदर घटे पनि नेता- कार्यकर्ताको उत्पादन घटेको थिएन ! गाउँ गाउँमा छन् । गाउँमा सर्वसाधारण रित्तिँदा पनि तिनीहरू छन् ! सहरका घर घरमा छन् । अफिस अफिसमा छन् । क्याम्पस क्याम्पसमा छन् । साच्चै भन्ने हो भने नेपालमा ओभर पपुलेसनै नै छ नेता- कार्यकर्ताको ! कुनै न कुनै रुपमा व्यवस्थापन जरुरी थियो । समय आएछ । विश्वको शक्तिशाली देशमै नेता हुने भए ! भाग्य ल्याएकै हुन् क्या नेपाली नेताहरूले ! लडिलडी आउँछ भाग्य भनेको हो रहेछ ! पुष्टि भयो ।

जनसङ्ख्या घटेर सर्वसाधारण युवा निर्यात गर्न कठिन भएको अवस्थामा दरिलो स्रोत हाता पर्दा खुसी नहुने कुरै भएन ! दङ्ग भए म ! सुकिला मुकिला र टाठाबाठा निर्यात गरेर कमाउन सकिने भयो ! व्यापारमा नयाँ चमत्कार हो यो । मेरो लागि मात्र होइन; देशको लागि अझ सुनौलो अवसर हुने भयो !

भोलिपल्ट त्यही न्युयोर्क टाइम्सको विज्ञापन फोटो कपि गरेर नेपालको राष्ट्रिय दैनिकमा छाप्न दिएँ ! सम्पर्क नम्बर अफिसको पुरानै तार फोन राखिदिएँ । पत्रिकामा विज्ञापन छापिए पछि लगातार तार फोनमा घण्टी बज्न लाग्यो । नेताहरूले सोधे ! कति पैसा लाग्छ ? कति वर्षको राजनीतिक अनुभव चाहिने हो ? कुन उमेर समूहले प्राथमिकता पाउँछन् ? आदि आदि ।

सोधपुछ गर्नेलाई उमेरको हद बन्दी छैन । १८ देखि ९० वर्ष सम्मका योग्य हुन्छन् । जति बढी अनुभव त्यति बढि प्राथमिकता भनिदिएँ । पैसाको सल्लाह आपसी सहमतिमा हुन्छ । मिलाउँला ! नेता- कार्यकर्ता निर्यात गर्ने म्यानपावर मेरो मात्र छ ! अझ भन्नू हुन्छ भने मेरो एकाधिकार छ । मौकामा चौका हान्नु पर्ला ! तिनले जनताको घाँटी निमोठेको मैलै पनि कहाँ बिर्सेको छु र ? मनमा नेता र कार्यकर्ताप्रति घृणा भाव जाग्यो ।

अरु देशमा नेता र कार्यकर्ताको खडेरी रहेछ । बल्ल थाहा पाएँ । नेपालमा जनता भन्दा नेता र कार्यकर्ता बढी थिए ! यसको व्यवस्थापन जरुरी थियो । राज्यले व्यवस्थापन गर्नु पर्नेमा त्यो जिम्मा मैले पाएँ ! म पनि भाग्यमानी नै हूँ । कुनै दिन राज्यले मलाई सम्मान गर्ने छ । मनोवाद गरे आफ्नै मनसँग !

जे बढी छ त्यही बेच्ने हो । जे बिक्छ त्यही बेच्ने हो ! यो बिक्रीको सिद्धान्त हो । अब भने नेता-कार्यकर्ता बेच्ने हो ! सबै कुरा बिक्दा रहेछन् ! नेपालका नेता- कार्यकर्ता पनि बिक्री हुने भएँ ! कुर्न मात्र सक्नु पर्ने रहेछ । दिन आएँ ।

साची ट्रेड युनियनका नेता- कार्यकर्ता यसमा समावेश गर्ने कि नगर्ने ? तिनीहरू पनि अरु नेता जस्तै त हुन् नि ! फोन आयो भने के भन्ने होला.. ? दोधारमा परेँ म !

बिजुली र गाजा बेचेर भन्दा नेता बेचेर देशलाई छिटै समृद्ध बनाउन सकिने रहेछ ! हाम्रा प्रधानमन्त्रीको समृद्धि पनि छिटै आउने भयो ! अमेरिकालाई पनि नेपाली नेता कार्यकर्ता चाहिएको छ ! उसले नेपाली माथि विश्वास गरेको छ । करोडौं तिरेर जोखिम मोल्दै तल्लोबाटो नजाउन् भन्ने अमेरिकाले पनि सोच्यो होला । त्यहि भएर वैधानिक बाटो खुला गरिदियो नेपालीलाई ।

अब चाहिँ कुइरेहरू नेपाल आउने छन् ! नेपाल बस्न योग्य मूलुक हुनेछ ।….

अफिसको फोन धेरै बजेर दिक्क लाग्यो ! एक्लै थिए अफिसमा खाजा खाने समय समेत पाइनँ । फोनमा कुरा गर्दा गर्दा हैरान भएर अर्को कोठामा गएर बसे म ! घरबाट श्रीमतीजीले किन हो ? मोबाइलमा लगातार फोन गरिन् ! मोबाइलमा भाइब्रेसन सहितको आवाज आउँदा झस्किएँ म ! कस्तो मीठो वर्तमान !? प्लेनका प्लेन कार्गो गरेझैँ दैनिक रूपमा नेता – कार्यकर्ता निर्यात गर्न पाए… !

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x