नीलहरि काफ्लेलाहुर
झुपडीको छानो चुहियो के हेर्नु भकारी मानो रित्तियो तर आज किन हो आफ्नाहरु विरानो बने र गए काखी बजाए खुच्चिङ भने र गए अब त किनेको नाता मिति सकियो ।

नीलहरि काफ्ले :
बा म लाहुर जान्छु है
आमाको कोख भर्न पाएँ
बा को काख भर्न पाएँ
फुर्काउनु भो र फुर्किन पाएँ
हुर्काउनु भो र हुर्किन पाएँ
तर आज बाध्य भएँ
ममता र आदर्शले शिर उचो पारेर
बा म लाहुर जान्छु है
बा… विवशताले खुसी किनेन
देश चिनेँ तर उसले चिनेन
परिवारको निराहार, हेर्न सकिनँ
आफ्नो हुनुको पहिचान, फेर्न सकिनँ
तर आज किन हो
मेरो माटोमा चोट देखेँ
मेरो खेतीमा खोट देखेँ
म छु मेरै माटो, मेरो छैन रे
म छु मेरै खेती, मेरो हैन रे
त्यसैले
म मेरै माटोमा ऊर्जा चाहान्छु
म मेरै नामको पुर्जा चाहान्छु
हो अब
आफ्नै आदर्श धितो राखेर
म लाहुर जान्छु है ।
म दुखेको छु, मेरो मन दुखेको छ
बाँधेको पटुकीले, डोभ छुपेको छ
डोभ होस् खत नहोस् आँत भर्नुछ
शत्रु होस् शत्रुता नहोस् माथ गर्नुछ
तर आज किन हो
सपनाले निंद्रा खोसेको छ
आँखाले सपना रोजेको छ
त्यसैले
दिनसँग हितले गाउनु छ
रातसँग मितेरी लाउनु छ
आफ्नाहरूलाई मनमा राखेर
म लाहुर जान्छु है
बा…
चेलीको शरीरलाई चोली छैन
दुखेको शिरलाई गोली छैन
उधारो मागौँ साहु दिँदैन
नगदी मागौँ पैसाले चिन्दैन
तर आज किन हो
बेकामे म छु म बिक्री हुन्न रे
लिलामी धन निस्फिक्री हुन्न रे
त्यसैले होला
प्रमाण पत्र, भाउ घटेको छ
स्वाभिमान, रद्दीमा अटेको छ
बरू मलाई
देशले किनेन त्यसले किन्छ भने
भोगेको अभाव बरू दिन्छ भने
बजारमा मै, बेचिन तयार छु
मर्नु परे मै, रेटिन तयार छु
हो बा
मेरो देश छातीमा राखेर
म लाहुर जान्छु है !
झुपडीको छानो चुहियो
के हेर्नु भकारी मानो रित्तियो
तर आज किन हो
आफ्नाहरु विरानो बने र गए
काखी बजाए खुच्चिङ भने र गए
अब त
किनेको नाता मिति सकियो
रुझेका आँखा आँसु रित्तियो
त्यसैले
मै टाढिन्छु कतै खुसी फिर्नलाई
बोकेको बोझ ऋण तिर्नलाई
सबैका
सम्झना मनमा राखेर
म लाहुर जान्छु है ?
०००
सिन्धुली, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































