साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिफारिस माहात्म्य

तिमीले चा‌ह्यौ भने मलाई बिगारिदिन्छ्यौ, भताभुङ्ग पारिदिन्छ्यौ, मामाघरमा पुऱ्याइदिन्छ्यौ । मलाई पनि कृपा गर, मलाई पनि निगाहा गर- सिफारिस देवी ! म तिम्रै शरणमा छु !!

Nepal Telecom ad

शारदा काेइराला :

सिफारिस – अहा ! तिमी कति राम्री छ्यौ! अझ योभन्दा पनि राम्रो त तिम्रो कार्य छ, जो मजस्तै तिम्रो प्रशंसकले मात्र जान्दछ । हो, मलाई थाहा छ तिमी आफ्‌नो प्रशंसकलाई नोकरीदेखि छोकरीसम्म मिलाइदिन्छ्‌यौ । तिमीलाई घृणा गर्नेलाई भने दुखको टोकरी बोकाएर खेद्छ्यौ ।

नातावाद तिम्री बहिनी हो क्यार । चुक्लीचाहिँ तिम्री छोरी । मलाई लाग्दछ – तिम्रो बुढोको नामचाहिँ पक्कै पनि चाकरीप्रसाद हो, किनकि तिम्रो बूढो ससुरालाई तेल लगाएर नै तिमीलाई उम्काउन सफल हुन्छ । पैले तिम्रा वूढाले तिमीलाई माग्न जान्छ, कतिचोटि धाएपछि बल्ल तिमी आउँछ्यौ ढसमस्स हात्तीपाइला सार्दै । तिमीलाई देखेपछि सप्पै मोहित हुन्छन् । तिमी जहाँ जान्छ्यौ, सप्पै तिम्रो पछाडि कुदछन् जसरी कुद्छन गाईको पछाडि साँढे गोरु । तिमीलाई पाउनेहरू, तिम्रो कृपाले मान्छे बन्नेहरू, तिम्रो गुणगान गाउँदै भन्छन्- “सिफारिस देवो नमः ।” नगद नारायण तिम्रो भूतपूर्व प्रेमी हो, किनकि कहिले काहीं तिमी ऊसित टाँसिन जान्छ्यौ । कहिले त तिम्रो बूढाले नै हँसाइदिन्छ- काम पट्‌याउनका लागि । आखिर ठूलो कुरोको लागि सानुतिनु कुराको त त्याग गर्नुपर्दछ नि । कतिपय ठूल-ठूला अफिसियल समस्या यसै गरी पनि त मिलेका छन् नि …..!

योग्यता सिंहलाई तिमी देखिसहन्नौ- सायद पहिले तिमीले उसलाई पनि घुमाएर छोडेकी होला । त्यसैले जहाँ उसको अलिकति पनि मौका पर्दछ, अलिकति पनि टाउको उठाउन पुग्दछ त्यहाँ तिमी कुदेर गएर त्यसलाई पछारिदिन्छ्यौ, लौ खा त ! सुखा वोकस कागजी डिग्री र योग्यता भनेर । योग्यता रुन्चे मुख पार्दैछ, तिमी खितिति हाँस्दछ्यौ अनि वाइफाले आइमाईझै उसैसँग आँखा झिम्क्याएर उसैका ठाउँमा बस्न पुग्दछ्‌यौ । ऊ फेरि पैलेझै आफ्‌नो बाटो तताउँछ ।

कहिले-काहीं योग्यता तिमीलाई फकाउन आइपुग्छ- गाउले सोझी केटीलाई शहरी गुन्डाले फकाएझै । तिमी फकिन पनि पुग्दछ्‌यौ । प्रायः त तिमी दुवैको रामै सम्बन्ध चल्दछ । कहिले काही त तिमीलाई लात मारेर हिँडिदिन्छ, अपमान गरिदिन्छ- यदि तिम्रो माइतिचै गरीव परेछन् भने । यदि तिमी धनी खानदानकी परिछ्‌यौ, तिम्रो कार्यक्षेत्र ठूलै परेछ भने त यति राम्री दूध दुहुने गाईलाई उसले आफ्‌नो छातीभित्र नै टाँसेर राख्दछ । किन छोड्छ र ऊ ? वरु कहिले-काही लात्ती सहँदै गर्दछ ।

तिमी अलिकति सन्काहा टाइपकै छ्यौ । तिमीलाई खुस उठ्‌यो भने तिमी कति राम्ररी काम गरिदिन्छ्यौ भने देख्नेले मात्र के ? सुन्नेले पनि तारिफ गर्दछ । रिस उठ्‌यो भने के भन्ने ? भा’को तिम्रो कति राम्रो घर पनि भताभुङ्ग पारेर पोइला हिंडिदिन्छ्‌यौ । यसलाई तिम्रो गुण भन्ने कि दुर्गुण ? न तिमी जहाँ पनि छ्‌यौ स्वर्गदेखि नर्कसम्म । वेददेखि दास क्यापिटलसम्म । सभ्यता नपसेको देश होस्, सभ्यताले विकास गरेर मङ्गल नै टेकिसकेको किन नहोस् ! कुल्ली कामदेखि लिएर हाकिम काम हुँदै कुन्नि केजाति कामसम्म किन नहोस् । तिमी आफ्‌नो चर्तिकला देखाउँछ्यौ । सानोभन्दा सानो तहको जे जागिरमा ठूला-वडाकी छोरी भएर पनि आफ्‌नी सौतासँग झगडा गर्न आइपुग्छ्‌यौ । तिमी र तिम्रा सौताको खानदानमा कुनचाहिं ठूलो छ- त्यसैको आधारमा नै झगडाको निर्णय हुन पुग्दछ।

कहिले काहीं त तिमेरु दुवै हिस्स पर्दछौ । योग्यता सिंहले उछिट्याउँछ, तर यस्तो कहिले काहीं मात्र पर्दछ नि ! सयमा एक । त्यति भयो भने पनि काफी मान्नुपर्छ, तर प्रायः योग्यता सिंह आफ्‌नो योग्यता र कागजी डिग्री हल्लाएर बीचमा चेप्पिरहेको हुन्छ । तिमीले उसलाई उछिनिसकेकी हुन्छ्‌यौ ।

अँ ! तिमी भएपछि अरु केही चाहिँदैन । तिमी आफैमा बत्तीस लक्षणले युक्त छ्यौ । तिम्रो कृपा पाएपछि तीनचोटि फेल गरेर थर्ड डिभिजन ल्याएको नै किन नहोस् अमेरिका जाने स्पेसल प्लान पाउँछ । फस्टक्लास फस्ट गर्नेहरू हेरेको हेर्यै हुन्छन् । महत्वपूर्ण पदहरू तिम्रो नै सहयोग पाएर उम्काउन सजिलो पर्दछ । योग्यताको त केवल औपचारिकता मात्र भए पुग्दछ, थर्ड क्लास सर्टिफिकेट, नक्कली सर्टिफिकेटले काम पाउँछ । राम्रो सर्टिफिकेट, राम्रो नै नम्बर ल्याएको भए पनि काम नै लाग्दैन । तिम्रो निगाह छ भने जागिर खुलेपछि यताबाट स्पेसल मगाइएका नेपाली बोल्नै नजान्ने दरभङ्गा र विहारका शरणार्थीहरूले काम पाउँछन् । नेपाली योग्यता पुगेको नागरिक ङिच्च दारा देखाउँदै फिस्स अनुहार लिई खिस्स पर्दछ ।

कसैको दोष छैन, सप्पै यो तिम्रो नै काम हो, तिम्रो नै माहात्म्य हो। अफिसमा जाँदा, सानोदेखि ठूलो काम गराउँदा यदि तिमीले सहयोग गर्यो भने त काम यति छिटो हुन्छ, भन्नै पर्दैन ! तर यदि तिमी छैनौ, तिम्रो बूढो छैन, तिम्रो प्रेमी नगद नारायण छैन, तिम्रो शाखा-सन्तान छैन भने पछि त महिनासम्म पनि सानो काम बन्दैन । कहिले यता मिलेन हुन्छ, कहिले उता मिल्दैन । कहिले हाकिम साप बाहिर जानुहुन्छ, कहिले’ सुब्बा साप अफिस आउनुहुन्न । कहिले फायल नै भेटिएन, कहिले फुर्सद नै हुँदैन किनकि सापका कर्मचारीहरू गफ गर्नमै बिजी हुन्छन् । मतलव कि आफिस धाउँदा- धाउँदा कुकुरले नपाउने दुःख पाइन्छ ।

त्यस कारण सिफारिस देवी तिमी धेरै राम्री छ्यौ (तिम्रो रूप कुरूप भए पनि, तिम्रो मन कालो भए पनि मैले राम्री भन्नै पर्दछ, किनकि तिमीले चा‌ह्यौ भने मलाई बिगारिदिन्छ्यौ, भताभुङ्ग पारिदिन्छ्यौ, मामाघरमा पुऱ्याइदिन्छ्यौ । मलाई पनि कृपा गर, मलाई पनि निगाहा गर- सिफारिस देवी ! म तिम्रै शरणमा छु !!

०००
युगज्ञान साप्ताहिक, झापा
वर्ष ९, अङ्क ३० (२०३५)
पोथी बासेको घर (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पिउनुको मज्जा !

पिउनुको मज्जा !

शारदा काेइराला
कुकुरदेखि सावधान !

कुकुरदेखि सावधान !

शारदा काेइराला
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x