हृषीकेश बरालजीवनको अस्थिरता
कस्तो अचम्मको ऊ, जाँदैन पाठशाला लीला रच्यो अनेकौं, धर्ती छ नाट्यशाला । आदेश गर्छ के के, भाषा बुझिन्न केही आएर लान्छ सारा, चोरेर जीव देही ॥

हृषीकेश बराल :
आफन्त शत्रु बन्दा, यो जिन्दगी सकिन्छ
वैरी सबै भएमा, हामी कहाँ जिइन्छ ।
आधार जिन्दगीका, हुन् इष्ट मित्र हाम्रा
सद्भाव राख्न बिर्से, भोग्छौँ दशा नराम्रा ॥१
सोचौँ भलाइ गर्ने, छाडौँ अरू बिगार्न
बाँचौँ सबै बँचाई, अर्को जुनी सपार्न ।
अज्ञात जिन्दगी यो, सिद्धिन्छ भुल्छ मायाँ
राख्नै छ कीर्ति राम्रो, बिर्सेर आज काया ॥२
छोटो छ आयु हाम्रो, बाँचिन्न वर्ष धेरै
खाता हिसाब जाँची, लैजान्छ ऊ सबेरै ।
गर्ने कहाँ गुनासो, मेरो छ काम बाँकी
सुन्दैन ढोग बिन्ती, आएर लान्छ ताकी ॥३
आयो लुकी उडायो, बाँकी हुने रुवायो
मायाँ दया नदेखी, आत्मा झिकी लडायो ।
सामर्थ्य छैन हाम्रो, देख्ने कता पुर्यायो
यस्तो अचम्म लाग्ने, हो जिन्दगी सदा यो ॥४
स्थायी नियुक्तझैं ऊ, ठान्दैन कर्मचारी
बर्खास्त गर्छ आफैं, खाता सबै विचारी ।
पासो लिएर आयो, झुक्क्याउँदै फिँजायो
थाहा भएन केही, बेहोसमैं कुदायो ॥५
आई समात्छ घाँटी, लैजान्छ ऊ परानी
हामीहरू सबैको, यस्तै छ जिन्दगानी ।
बच्चा युवा र बूढा, गर्दैन भेदभाव
ज्यादै छ शक्तिशाली, लुक्ने बन्यो स्वभाव ॥६
कस्तो अचम्मको ऊ, जाँदैन पाठशाला
लीला रच्यो अनेकौं, धर्ती छ नाट्यशाला ।
आदेश गर्छ के के, भाषा बुझिन्न केही
आएर लान्छ सारा, चोरेर जीव देही ॥७
सिर्ज्यो सयौं बहाना, डुङ्गा र चीलगाडी
निर्दोष बन्छ आफू, चढ् भन्छ बाँस गाडी ।
के को घमण्ड फुर्ती, सम्मान खोज्छ मान्छे
मान्छे निमित्त मात्रै, र्कै छ गोप्य भान्छे ॥८
जदौ
०००
पोखरा -२६, कास्की ।
Subscribe
Login
0 Comments
Oldest






































