कृष्ण बजगाईंसम्बन्ध
अचम्म, जब उसले नट कस्न थाल्यो तब उसको र श्रीमतीको सम्बन्ध जस्तै खुकुलो भएर नट खुस्किरह्यो। त्यो नट कस्दाकस्दै अचानक ऊ पचास तलामाथिबाट फ्यात्त भुइँमा खस्यो ।

कृष्ण बजगाई :
लोग्ने स्वास्नीको सम्बन्ध नट बाेल्ट जस्तै हुनुपर्दछ । उसले विवाहमा पाएको आशीर्वादरूपी उपदेशको सोही वाक्य परदेशमा सम्झिरहन्थ्यो । आफूलाई नट र श्रीमतीलाई बाेल्ट मानेको थियो। विहे गरेको महिना दिनमै बोल्टलाई घरमा छाडेर नट चाहिँ अरब हिँड्नुपरेको थियो ।
संयोगवश अरबको तातो घाममा उसले नट बोल्ट कस्ने जागिर पाएको थियो । पचास तलाको बन्ने गगनचुम्बी घरको भुइँतलाबाट उसले नट बोल्ट कस्न थालेको थियो । म्यानेजरले सबै कामदारहरूलाई तीन वर्षमा काम सक्नुपर्ने समय सिमा तोकिदिएको थियो । इमानदार भएर उसले नट बोल्ट कसिरह्यो ।
पहिलो महिनाको तलबले श्रीमतीलाई नयाँ मोडलको मोबाइल फोन पठाइदिएको थियो । त्यही फोनमार्फत दैनिक रूपमा सम्बन्ध रूपी बाेल्टमा प्रेमको नट कसिरहन्थ्यो । फोनमा श्रीमतीले देखाउने घुर्की र नखरा उसलाई खुब मन पर्दथ्यो । जब उसको घर फर्कने दिन नजिकिन थाल्यो तब श्रीमतीले घुर्की र नखरा होइन विवाद गर्न थाली । ऊ चिन्तित बन्यो ।
भोलि साँझ घर फर्कने टिकट थियो । किन हतार गरेर घर फर्कनुपरेको होला । अझै दुईचार वर्ष उतै बसेर पैसा पठाउनु भन्ने श्रीमतीको कुरालाई उसले ठाडै अस्विकार गर्यो। सोही कारण श्रीमतीसंग फेरि झगडा पर्यो ।
अलिकति काम बाँकी भएकोले घर फर्कने अघिल्लो दिन दुःखी मन लिएर काममा गयो। तीन वर्षको समयमा त्यस भवनमा उसले हजारौं नट बोल्ट कसिसकेको थियो। उसले कसेको नट बोल्टमा अडिएको घरको पचासौं तलाको अन्तिम नट कस्न आँटेको थियो। विहान श्रीमतीसँग फोनमा भएको झगडा कानमा गुञ्जिए।
अचम्म, जब उसले नट कस्न थाल्यो तब उसको र श्रीमतीको सम्बन्ध जस्तै खुकुलो भएर नट खुस्किरह्यो। त्यो नट कस्दाकस्दै अचानक ऊ पचास तलामाथिबाट फ्यात्त भुइँमा खस्यो । ए…ए.. फेरि अर्को नट खस्यो ! छेउमै नट बोल्ट कस्न बसेको उसको साथीले भन्यो ।
०००
बेलायत
Subscribe
Login
0 Comments
Oldest








































