शेषराज भट्टराईमेरो मोटु मित्र
जरिवाना तिराइमा पर्नुभन्दा कोठै छोड्नु उत्तम उपाय सुझेर सिट्ठी लाग्दै गरेको तातो कुकर मोटुको हातमा थमाएर हामीले रातारात थानकोट काट्यौं तर गल्ती गरेको भनेर नाक काटेनौं।

शेषराज भट्टराई :
मोटु गुच्छा, गट्टा खेल्दादेखिको तनमन मिल्दो साथी । अहिले मोटाएर, फुलेर, फक्रिएर डेड कुइन्टल हाराहारी हुनाका कारण मोटु कहलाइन्छ । उसको सक्कल काया देखेर उसलाई जहाजले टिकट बेच्न मान्दैन । सानुमा पनि मानु नभइ नअघाउने उसलाई हत्तपत्त कसैले पनि पाहुना बोलाउदैनन् । खाजा खानु परे एक कार्टुन चउचाउ मिनेटमै मर्काउने क्षमता मोटुमा निहित छ । पढाइमा दुब्लो भए पनि बलबुतामा अब्बल भएको हुनाले ऊसँग हिँड्दा, सङ्गत गर्दा अधिक खान दिनुपर्छको पिरलोबाहेक अरू चिन्ता थिएन। मोटुको साथ सङ्गतका कारण न खिनाउरे भए पनि अरूले हेप्ने हिम्मत हत्तपत्त गर्दैनन्। हाम्रो हिमचिम, उठबस, खानपिन कलेज जीवनसम्म सँगसँगै चल्यो र चुल्होमा आगो पनि सँगसँगै बल्यो । राखनधरन एउटै ट्याङ्ङ्का मात्रै होइन हामी एउटै ड्याडका उटपट्याङ थियौं।
एक समयको कुरा बाबुआमाले कलेज पढ्न हामीलाई शहर पठाए । घना शहरमा हामी दुई जना एउटा कोठा भाडामा लिएर पढ्न थाल्यौँ। पाइखानामा पुत्रानो मोडलको प्यान थिएन नयाँ थचक्क बसेर बिस्टा विसर्जन गर्नुपर्ने रहेछ । प्यान बन्द थियो खोल निकाल्नुपर्छ भन्ने पनि थाहा थिएन र बटन थिचेर झोल निस्किन्छ भन्ने पनि थाहा थिएन । लोहोटामा पानी बोकेर प्यानमाथि ज्यानलाई थचक्क बसाएर लोहोटाको पानीले सूची शुद्धि भएर धेरै समय बितायौँ । यत्रो पढेको युवाले अनभिज्ञता पनि कसरी प्रकट गर्ने ? तर यस्तो थचक्कै बस्नुपर्ने पाइखानाको प्यानमा ज्यान पटक्कै मन परेन । तैपनि के गर्नु खाए खा नखाए घिच ।
एकपटक राति बाह्र बजे मोटुले ढोकाको चुक्कुल खोल्छु भन्दा चुक्कुले उखेलिएर हातमा आएपछि चुक्कुलै नलगाइ हामी सुत्ने गर्थेऊँ। यसरी धेरै समय गुजार्दा हामीसँग भएको सातु-सामल-जगेजा पुँजी बेलाबेलामा चोरको फेला पर्थ्यो। दशैंमा लगाउन भनेर बल्लतल्ल खरिद गरेको डेढ सयको जुत्ता कुन कुत्ताले उछिट्यायो पत्तै पाइएन । त्यसकै पिरलोले गर्दा करिब एक महिना भोक निद्रा हरायो । अनि टिनको ट्याङ्का किन्ने निधो गन्यौँ र साँझ पख टिनको बाकस किन्ने सकसका साथ असन बजार छिन्यौँ ।
“टिनको ट्याङ्का मोटो, बाक्लो, दरो, राम्रो हुन्छ” भन्दै मोटुले मलाई सम्झाइरहेको थियो । पसलमा गएर साहुजीलाई दरो, मोटो, बाक्लो ट्याङ्का देखाउनु न भन्यौँ। यही हो दरो, बाक्लो, मोटो भने । अझै बाक्लो, दरो ल्याउनु भनेर मोटुले भनेपछि साहुजी दरो, बाक्लो बक्सा निकाल्न माथिल्लो तलामा उक्लिए । यता मोटु चाहिँ कति दरो रहेछ भनेर बक्सामा थचक्कै बसिहाल्यो । ट्याङ्ङ्का डल्लो परिहाल्यो । धन्न साहुजीले देखेनन् र भाग्न पाइयो । जघन्य अपराधीले झै एकसासमा हामीले असन छोड्यौँ ।
कोठामा असिनपसिन हुँदै छिन्यौँ । अब ट्याङ्काको पीरभन्दा पनि पेट भर्नुपर्ने पिरलोले छपक्कै छोप्यो । मोटु मलमोचन हेतु चर्पी गयो । म मट्टितेलको स्टोभमा उसिना चामल उसिन्न थालें। यत्तिकैमा टिनको ट्याङ्का कुच्चिएको भन्दा पनि ठूलो आवाज आयो । लाग्यो साहुजी पछिपछि दौडिदै आएर टिनको बक्सा आँगनमा बजारे छ कि क्या हो भन्दै बाहिर निस्किएर हेरेको मोटुले बिस्टा विसर्जन गर्दा प्यान पनि विसर्जन भएछ । फुटेर चर्पी हेरी नसक्नु दुर्गन्धमय र घरबेटीको भयले होस् गुम होला जस्तो भयो । सातोपुत्लो गयो । जरिवाना तिराइमा पर्नुभन्दा कोठै छोड्नु उत्तम उपाय सुझेर सिट्ठी लाग्दै गरेको तातो कुकर मोटुको हातमा थमाएर हामीले रातारात थानकोट काट्यौं तर गल्ती गरेको भनेर नाक काटेनौं। उफ । कस्तो आपत् आफ्नो टाउको फुटे मितको टाउको बेलै समान ।
०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)
Subscribe
Login
0 Comments
Oldest




































