नन्दलाल आचार्यपुण्य कार्कीको ‘ठगको ताँती’ निबन्धमा हास्यव्यङ्ग्य चेत
यो निबन्ध पढ्दा म बारम्बार सोच्न बाध्य हुन्छु- अब म कसरी ठगबाट बच्ने ? अब मैले कसरी विश्वासको सही प्रयोग गर्ने ? अब मैले कसरी आफ्नै जीवनलाई ठगीको जालबाट जोगाउने ? यी प्रश्नले मलाई हल्लाउँछन् । अनि यही हल्लाइमा यस निबन्धको सफलता छ ।

नन्दलाल आचार्य :
पुण्य कार्कीलाई पढ्दा मेरो मनमा एउटा विशेष अनुभव जन्मिन्छ । लाग्छ, उनले मलाई चिहानजस्तो मौन समाजबाट हल्लाएर उठाइदिए । “ठगका ताँती” पढ्न थालेको क्षणदेखि नै लाग्छ, म कुनै सामान्य निबन्ध पढिरहेको छैन, बरु आफ्नै घरभित्र पसिसकेको ठगलाई भेटिरहेको छु । त्यो ठग मैले चिनेको मान्छेजस्तै लाग्छ । कहिले हातमा अक्षय पात्र बोकेर दान माग्दै आउँछ, कहिले भविष्यवाणी गर्दै मेरो मनमा डर बिउँझाउँछ, कहिले चुनावी सभामा उभिएर वाचा गर्छ । ती सब पात्रहरू मसँगै हिँडिरहेका छन् । त्यसैले यो निबन्ध पढ्दा म श्रोतामात्र होइन, भुक्तभोगी बन्छु ।
कार्कीका वाक्यहरूमा एउटा विशेष शक्ति छ । छोटा वाक्य छन् । सीधा वाक्य छन् । तर त्यस छोटाइभित्र व्यङ्ग्यको धार हुन्छ । जस्तो छुरी धारिलो हुन्छ, तर सानो खुकुरीजस्तो सजिलै काट्छ । उनका वाक्यले पनि त्यस्तै गर्छन् । सुरुमा रमाइलो लाग्छ । हाँसो आउँछ । तर तुरुन्तै त्यो हाँसोले पेट पोल्छ । किनभने त्यो हाँसो केवल रमाइलो होइन, त्यो हाम्रो जीवनको नाङ्गो यथार्थ हो ।
ठग भनेको को हो ? निबन्ध पढ्दा लाग्छ, ठग केवल सडकमा भेटिने बाबु होइन । ठग केवल भाग्य बताउने पण्डा होइन । ठग केवल वास्तु देखाउने अभियन्ता होइन । ठग त तिनै नेताहरू हुन् जसले चुनावअघि सपना देखाउँछन् । ठग त तिनै विद्वान हुन् जसले ज्ञानको आवरणमा अन्धकार बेच्दै हिँड्छन् । ठग त तिनै मानिस हुन् जसले हाम्रो सहज विश्वासलाई व्यापार बनाउँछन् । कार्कीले यसरी ठगलाई धेरै अनुहारमा देखाए । अनि मलाई देखाए कि ठग वास्तवमा हाम्रो वरिपरिको सबैभन्दा परिचित पात्र हो ।
म मेरो राजविराज बसाइँ सम्झिन्छु । रन्जितपुर गाउँमा मेला लागेको दिन, मेलामा आएका एक पण्डाले मेरो हात समातेर भनेको थियो; “तिमी विदेश जानेछौ, ठूलो मान्छे बन्नेछौ ।” त्यसबेला मलाई रमाइलो लाग्यो । विद्यार्थी पढाएर बटुलेको रुपियाँ त्यसलाई चढाएँ । उसले अरू अरू भन्दै गुलिया शब्द बाँड्दै मेरो खल्ती रित्यायो ।
साथीहरूसँग हाँस्दै भनेँ; “पण्डाले त मलाई भविष्य देखाए ।” तर आज कार्कीको निबन्ध पढ्दा त्यो दृश्य फेरि टल्किन्छ । लाग्छ, त्यो पण्डाले मलाई केही दिएको थिएन, बरु मेरो सपनालाई आफ्नो व्यापार बनाएको थियो । मेरो विश्वासलाई उसले पैसामा बदलेको थियो । त्यही ठग आज निबन्धको पन्नाभित्र भेटिन्छ ।
कार्की ठगलाई देखाउँदा डराउँदैनन् । बरु निर्भीक भएर उघार्छन् । जसरी सर्जनले रोगीको पेट चिर्छ, कार्कीले पनि समाजको पेट चिर्छन् । रोगीलाई पीडा हुन्छ, तर रोग देखाउनु जरुरी हुन्छ । यही कार्य उनको कलमले गरेको छ । ठगको स्वरूप देखाएर उनले हामीलाई लाज दिलाएका छन् । हाम्रो विश्वासको कमजोरीलाई उजागर गरेका छन् ।
यस निबन्धमा व्यङ्ग्य प्रचुर छ । तर त्यो व्यङ्ग्य केवल हँसाउने उद्देश्यले आएको होइन । त्यो व्यङ्ग्य चेतना जगाउने औजार हो । जब लेखक पण्डा, बाबा, धामीको वर्णन गर्छन्, वाक्य हाँसो लाग्दो हुन्छ । तर त्यो हाँसोले मन पोल्छ । किनभने ती पात्रहरू आज पनि हाम्रो समाजमा जीवित छन् । हिजो जसरी मानिस ठगिन्थे, आज पनि त्यस्तै ठगिन्छन् । अनि हामी अझै पनि त्यही फन्दामा फस्छौं ।
मलाई लाग्छ, कार्कीले ठगलाई एउटा ठूलो दर्पण बनाएका छन् । त्यस दर्पणमा हामीले आफ्नै अनुहार देख्छौं । कहिले हामी ठगिएर शिकार हुन्छौं । कहिले हामी चुपचाप सहने दर्शक बन्छौँ । कहिले त हामी आफैं पनि सानो ठग हुन्छौं । किनभने हामी पनि कहिलेकाहीँ आफ्ना साथीलाई, आफ्ना आफन्तलाई, आफ्ना अनुयायीलाई धोका दिन्छौं । त्यसैले यो निबन्ध पढ्दा मलाई लाग्छ- ठग केवल अरू होइन, ठग त म आफैं पनि हुन सक्छु ।
यसरी जब म निबन्ध पढ्छु, मेरो समाजको रूपान्तरण हुन्छ । म देख्छु- बजारमा भाग्य बताउने मानिस, टोलटोलमा धुनी ताप्ने बाबा, टेलिभिजनमा राशिफल सुनाउने विद्वान, संसदमा भाषण गर्ने नेता । यी सबैलाई एकै सूत्रमा बाँध्दा एउटा शब्द मात्र देखिन्छ- ठग । अनि म सोच्न बाध्य हुन्छु- कस्तो समाज हो यो, जहाँ ठगले राज गर्छ, जहाँ ठगले विश्वासको व्यापार गर्छ ।
पुण्य कार्कीले प्रयोग गरेको भाषा सरल छ । गाह्रो शब्द छैन । सजिलो नेपाली छ । तर त्यो सजिलो भाषामा गहिरो तिखोपन छ । उनको वाक्यमा चित्र बन्छ । लाग्छ, म दृश्य देखिरहेको छु । बाबा धुनीमा सेकेर बसिरहेका छन् ।
भक्तजन हातमा फूल बोकेर पुगेका छन् । पैसा हालेर आशीर्वाद मागिरहेका छन् । बाबा गम्भीर मुद्रामा शीर हल्लाइरहेका छन् । त्यो दृश्य मैले जीवनमै देखेको छु । तर कार्कीले शब्दमा उभ्याउँदा त्यो दृश्य अझै स्पष्ट, अझै तिखो हुन्छ ।
पढ्दा लाग्छ, ठगहरू केवल समाजमै नभएर म भित्रै पनि छन् । मेरो मन कहिले सानो लोभमा ठगिन्छ । कहिले मीठा वाक्यमा झुक्छ । कहिले सजिलो बाटो खोज्छ । यही कमजोरीलाई ठगहरूले उपयोग गर्छन् । कार्कीले मलाई मेरो कमजोरी देखाइदिएका छन् । त्यसैले यो निबन्ध पढ्दा म केवल समाजलाई होइन, आफूलाई पनि आलोचना गर्छु ।
उनको कलममा आक्रोश छ । तर त्यो आक्रोश अन्धो होइन । त्यो आक्रोश विचारयुक्त छ । उनी व्यङ्ग्यमार्फत समाजलाई चिमोट्छन् । तर त्यो चिमोटाइ केवल अपमान होइन, त्यो चेतना जगाउने चोट हो । उनले ठगलाई मात्र गाली गरेका छैनन्, उनले पाठकलाई पनि जगाएका छन्- अब जाग, अब चेत, अब धोका नखानू ।
निबन्ध पढिसकेपछि पनि चित्त हलुका हुँदैन । बरु अझै भारी हुन्छ । किनभने प्रश्नहरू मनमा उभिन्छन् । किन हामी बारम्बार ठगिन्छौं ? किन हामी सजिलै विश्वास गर्छौं ? किन हामी आफ्ना आँखाले देखेर पनि नदेखेजस्तो गर्छौं ? यी प्रश्नको जवाफ सजिलो छैन । तर यी प्रश्नहरूले नै चेतना दिन्छ । यी प्रश्नहरूले नै मभित्र आलोचनाको भावना जगाउँछ ।
मलाई लाग्छ, ‘ठगका ताँती’ केवल साहित्यिक रचना होइन । यो निबन्ध त समाजको रोगको रिपोर्ट हो । जसरी डाक्टरले परीक्षण गरेर रिपोर्ट दिन्छ, त्यसरी नै कार्कीले हाम्रो समाजलाई परीक्षण गरेर रोग देखाइदिएका छन् । रोगको नाम हो- ठगी । रोगी हामी सबै हौँ । औषधि चाहिन्छ- चेतना ।
यो निबन्ध पढ्दा म बारम्बार सोच्न बाध्य हुन्छु- अब म कसरी ठगबाट बच्ने ? अब मैले कसरी विश्वासको सही प्रयोग गर्ने ? अब मैले कसरी आफ्नै जीवनलाई ठगीको जालबाट जोगाउने ? यी प्रश्नले मलाई हल्लाउँछन् । अनि यही हल्लाइमा यस निबन्धको सफलता छ ।
निबन्ध पढ्दै जाँदा मलाई बारम्बार लाग्छ- ठग केवल मान्छेको रूपमा देखिँदैन, कहिलेकाहीँ संस्थामा पनि देखिन्छ । हाम्रो समाजका धेरै संस्था पनि ठगकै रूप हुन् । शिक्षा दिने नाममा पैसा असुल्ने स्कुलहरू, स्वास्थ्य दिने नाममा उपचारलाई व्यापार बनाउने अस्पतालहरू, न्याय दिने नाममा ढिलोसुस्ती गर्ने अदालतहरू- यी सबै ठगका ताँतीमा गाँसिएका देखिन्छन् । कार्कीले त केवल प्रतिनिधि पात्रहरू प्रस्तुत गरेका छन् । तर निबन्धले मलाई व्यापक चित्र सम्झाइदिन्छ ।
जब लेखकले पण्डा र धामीहरूको चर्चा गर्छन्, म टेलिभिजनमा हरेक बिहान बज्ने राशिफल सम्झन्छु । हरेक राशिफलमा मीठा कुरा सुनाइन्छ । कहिले धन आउनेछ, कहिले पद बढ्नेछ, कहिले प्रेम फस्टाउनेछ । हामी खुसी हुन्छौं । हामी विश्वास गर्छौं । तर त्यो विश्वास केवल मनोरञ्जन होइन, त्यो ठगीको एउटा स्वरूप हो । किनकि हाम्रो मनलाई त्यही मीठा आशाले कब्जा गर्छ । अनि ठगले हामीलाई नियन्त्रण गर्छ ।
मलाई लाग्छ, हामी भित्रैदेखि भाग्यप्रेमी प्राणी हौं । हामी मेहनतभन्दा बढी चमत्कारमा विश्वास गर्छौं । यही कमजोरीलाई ठगहरूले उपयोग गर्छन् । बाबा भन्छन्- यो मन्त्र पढिस् भने तेरो दुःख हराउँछ । पण्डा भन्छन्- यो रत्नजडित औंठी लगाइस् भने तेरो भाग्य चम्किन्छ । नेता भन्छन्- मलाई मत दिइस् भने तेरो भविष्य उज्यालो हुन्छ । अनि हामी ती सबै वचनलाई सत्य मान्छौं । हामी चमत्कार खोज्छौं । मेहनतलाई छेउमा राख्छौं । यही हाम्रो ठूलो भूल हो । यही भूलमा ठगहरूले आफ्नो राज्य बनाएका छन् ।
कार्कीले निबन्धमा नेता ठगको कुरा गर्दा म खासै हाँस्न सक्दिनँ । बरु उदास हुन्छु । किनभने नेताको ठगी सबैभन्दा ठूलो हुन्छ । उनीहरू केवल व्यक्तिगत विश्वास लुट्दैनन्, उनीहरूले सामूहिक भविष्य लुट्छन् । चुनाव अघि दिएको वाचा केवल आशाको जाल हुन्छ । त्यस जालमा हामी हरेक पाँच वर्षसम्म फस्छौं । हरेक पटक नयाँ अनुहार, नयाँ नारा, नयाँ शैली आउँछ । तर धागो त्यही पुरानो- ठगी । यो त ठगको सबैभन्दा संगठित रूप हो ।
म आफ्नै जीवनका अनुभवहरू सम्झिन्छु । एकपटक गाउँमा सडक बनाउने वाचा गर्दै नेता आए । सभामा ठूलो भीड थियो । नेताले भने- “यो गाउँमा अब दु:ख रहन्न । विकासको राजमार्ग खुल्छ ।” सबै खुसी भए । केही वर्षपछि त्यो सडकको काम सुरु भयो । तर सडक आधा बनेर छाडियो । बजेट सकियो भनियो । गाउँले फेरि धुलोमा हिँड्न बाध्य भए । त्यो दिन मलाई ठगिएको महसुस भयो । कार्कीले लेखेको निबन्ध पढ्दा त्यो अनुभव पुनः जाग्यो । लाग्यो- यो मेरो मात्र अनुभव होइन, यो देशकै साझा पीडा हो ।
निबन्धको रमाइलो पक्ष भनेको यसको शैली हो । कार्कीले गम्भीर कुरा हल्काफुल्का रूपमा लेख्छन् । जसरी बच्चालाई तीतो औषधि दिनु पर्दा मीठो रसमा मिसाइन्छ, त्यसरी नै उनले समाजको कठोर सत्यलाई हाँसोको आवरणमा ल्याएका छन् । पढ्दा रमाइलो लाग्छ, तर त्यो रमाइलोले हाम्रो चेतना हल्लाउँछ ।
यसरी सोच्दा लाग्छ, ठग केवल व्यक्तिले मात्र होइन, भाषा र शैलीले पनि ठग्न सक्छ । मीठो शब्दले हामीलाई झुक्याउँछ । नेताको भाषण मीठो हुन्छ । पण्डाको कथा रमाइलो हुन्छ । बाबाको मुख मिठासले भरिएको हुन्छ । ती सबै शब्दहरूमा जादू हुन्छ । तर त्यो जादू केवल बाहिरी आवरण हो । भित्र भने खालीपन छ । कार्कीले यही कुरा वाक्यवाक्यमा खोतलिदिएका छन् ।
मलाई लाग्छ, हामीलाई ठग्न सजिलो हुनुको कारण हाम्रो मनोविज्ञान हो । हामी सधैं आशावादी छौं । हामी भविष्य उज्यालो होस् भन्ने चाहन्छौं । हामीलाई कुनै न कुनै सहारा चाहिन्छ । यही चाहना ठगको हतियार हुन्छ । जब बाबा भन्छन्; “तिमीलाई म वरदान दिन्छु ।” हामी तुरुन्त विश्वास गर्छौं । जब नेता भन्छन्- “तिमीलाई म रोजगारी दिन्छु ।” हामी तुरुन्त मत दिन्छौं । हामी चाहनामा अन्धा हुन्छौं । अनि ठगले त्यो अन्धोपनलाई आफ्नो व्यापार बनाउँछ ।
कार्कीले निबन्धमा व्यङ्ग्य प्रयोग गर्दा कहिले त तीतोपनको सीमा पार गर्छन् । तर त्यो तीतोपनै आवश्यक हुन्छ । किनकि हामी सजिलै चेत्दैनौँ । हाम्रो कानमा मीठो बोली मात्रै मिठो लाग्छ । तर कहिलेकाहीँ कानमा तीतो चर्को शब्द चाहिन्छ । त्यति नभएसम्म हामी निद्राबाट उठ्दैनौं । कार्कीको व्यङ्ग्य त्यही चर्को घण्टी हो जसले समाजलाई उठाउँछ ।
यो निबन्ध पढ्दा मलाई अर्को कुरा पनि लाग्छ- ठग हुनु केवल अरूको गल्ती होइन, समाजकै संरचनाको कमजोरी हो । हाम्रो शिक्षा प्रणालीले आलोचनात्मक सोच सिकाउँदैन । हाम्रो संस्कृतिले अन्धविश्वासलाई मजबुत बनाउँछ । हाम्रो राजनीति संस्थागत रूपमा भ्रष्ट छ । जबसम्म यी संरचनाहरू सुधार हुँदैनन्, तबसम्म ठग जन्मिरहन्छन् । त्यसैले कार्कीको लेख केवल व्यक्तिको आलोचना मात्र होइन, समाजकै आलोचना हो ।
निबन्धले पाठकलाई आत्मदर्शन गर्न बाध्य पार्छ । मैले धेरैपटक आफैंलाई प्रश्न गरेँ- के मैले पनि कहिल्यै कसैलाई झुक्याएको छु ? के मैले पनि कहिल्यै अरूको विश्वासलाई आफ्नो फाइदामा प्रयोग गरेको छु ? सानो स्तरमै भए पनि हामी सबै कहिलेकाहीँ ठगकै बाटो हिँड्छौं । जब हामी केही नसोची मिठो वचन दिन्छौं, तर त्यसको पालना गर्दैनौं, त्यो पनि ठगी नै हो । जब हामी कसैलाई झुटो आशा दिन्छौं, त्यो पनि ठगी नै हो । त्यसैले ठग केवल पण्डा, बाबा, नेता होइनन् । ठग प्रवृत्ति त हामीभित्र पनि छ ।
कार्कीले निबन्धमा यो कुरा प्रत्यक्ष नभए पनि अप्रत्यक्ष देखाएका छन् । ठगलाई मात्र दोष दिएर काम सकिँदैन । शिकार बन्ने मानिसले पनि आफ्नो चेतना बढाउनुपर्छ । जबसम्म हामी चेत्दैनौँ, तबसम्म ठगले हामीलाई शिकार बनाइरहन्छ । त्यसैले यो निबन्ध केवल ठगको चित्रण होइन, पाठकको पनि परीक्षा हो ।
निबन्धको अन्त्यतिर पुग्दा मनमा एउटा गहिरो प्रश्न टाँसिन्छ- के ठग एकदिन हराउँछ ? के समाज ठगविहीन बन्न सक्छ ? मेरो मनले उत्तर खोज्छ । तर उत्तर सजिलो छैन । सायद ठग पूरै हराउने छैन । किनभने जहाँ विश्वास हुन्छ, त्यहाँ ठग्ने सम्भावना हुन्छ । तर हामी सजग भए, आलोचनात्मक भए, सशक्त भए भने ठगलाई बलियो बन्न दिँदैनौं । यही चेतना नै निबन्धले दिन खोजेको हो ।
मलाई लाग्छ, “ठगका ताँती” कुनै पुस्तकको पन्नाभित्र मात्रै सीमित रहने लेख होइन । यो त हरेक घरमा, हरेक गाउँमा, हरेक शहरमा बज्नुपर्ने चेतावनी हो । जसरी सवारी साधनमा ‘सावधानी हानी दुर्घटना’ लेखिएको हुन्छ, त्यस्तै यो निबन्ध समाजलाई दिने चेतावनी हो- ‘सजग नभए ठगिन्छौं’।
यसरी सोच्दा कार्कीको योगदान साहित्यिक मात्र होइन, सामाजिक पनि हो । उनले शब्दमार्फत समाजलाई ऐना देखाएका छन् । त्यो ऐना मीठो छैन । त्यो ऐनाले पोल्छ । तर पोलाइ नै आवश्यक छ । जबसम्म पोल्दैन, तबसम्म हामी सोच्दैनौं ।
पुण्य कार्कीले “ठगका ताँती” लेख्दा केवल ठगको कथा भनेका होइनन्, उनीहरूले हाम्रो संस्कृतिको तह तह उघारिदिएका छन् । मैले जब यसलाई पढेँ, मलाई लाग्यो- हामी आफैं ठगलाई जन्माउने कारखाना हौं । हामी आफ्नो अज्ञान, आलस्य र लापरबाहीले ठगलाई बढाउँछौं । हामी सजिलै डराउँछौं, सजिलै लोभाउँछौं, सजिलै बहकन्छौं । यही कमजोरीले ठगलाई जीवन दिने काम गर्छ । त्यसैले निबन्ध पढ्दा लाग्छ, यो केवल ठगको कथा होइन, हाम्रो सामूहिक कमजोरीको कथा हो ।
मलाई सधैं लाग्छ, ठग बन्ने मानिसहरू यति धेरै किन हुन्छन् ? उत्तर सजिलो छैन । तर सोच्दा लाग्छ, ठगलाई अवसर दिने भनेका हामी नै हौं । जब हामी सजिलै डराउँछौं- भविष्य बिग्रिन्छ कि भनेर, ग्रह नक्षत्र रिसाउँछन् कि भनेर, भगवान रुष्ट हुन्छन् कि भनेर । त्यतिबेला हामी आफ्नो विवेक छाड्छौं । विवेक छाड्नेबित्तिकै हामी ठगको चपेटामा पर्छौं । त्यसैले ठगलाई दोष दिनुभन्दा पहिले हामीले आफूलाई प्रश्न गर्नुपर्छ- किन हामी डराइरहेछौं ? किन हामी यति असुरक्षित महसुस गर्छौं ?
निबन्धमा लेखकले ज्योतिषी, वास्तुविद्, धामी, पण्डा आदि पात्रलाई देखाएका छन् । म यी पात्रहरूलाई पढ्दा हरेक पटक आफ्नै जीवनको कुनै दृश्य सम्झन्छु । मेरो बाल्यकालमा, आमाले घरमा कुनै समस्या आउँदा धामीलाई बोलाउनुहुन्थ्यो । धामीले मन्त्र पढ्थे, धुप बाल्थे, केही बली दिन्थे । त्यसपछि भन्थे- “अब सबै ठीक हुन्छ ।” केही दिनसम्म आमाको मन हलुका हुन्थ्यो । तर समस्या फेरि आइपर्थ्यो । धामीको मन्त्र स्थायी समाधान थिएन । तर आमाले फेरि पनि धामीलाई बोलाउनुहुन्थ्यो । किनभने मनलाई कुनै न कुनै सहारा चाहिन्छ । त्यही सहारालाई ठगले आफ्नो व्यापार बनाउँछन् ।
नेताहरूको कुरा गर्दा त झन् झस्किन्छु । बाल्यकालदेखि अहिलेसम्म मैले धेरै नेताको भाषण सुनेको छु । हरेक पटक नयाँ आशा, नयाँ वाचा, नयाँ सपना । तर हरेक पटक त्यही निराशा । जब म कार्कीको निबन्ध पढ्छु, यी सबै नेता ठगका ठूलो समुहजस्तै देखिन्छन् । उनीहरूले केवल पैसा होइन, हाम्रो समय, हाम्रो सपना, हाम्रो भविष्य चोरेका छन् । उनीहरूको ठगी व्यक्तिगत भन्दा सामूहिक छ । अनि यो सामूहिक ठगी सबैभन्दा घातक हुन्छ ।
निबन्धमा लेखकले हाँसोले ठगलाई चित्रित गरेका छन् । तर त्यो हाँसोभित्र पीडाको गहिरो धारा बगिरहेको छ । जब पण्डा भाग्य बदल्ने कुरा गर्छन्, जब बाबा चमत्कार गर्ने कुरा गर्छन्, जब नेता विकास ल्याउने कुरा गर्छन्; यी सबै कुरा हाँसो लाग्ने खालका छन् । तर त्यस हाँसोमा हाम्रो असहाय अवस्था छिपेको हुन्छ । हामी चकित हौं, हाँस्छौं, तर भित्रैभित्रै पोल्छ । यही मिश्रित भावनाले यो निबन्धलाई असाधारण बनाएको छ ।
मलाई लाग्छ, कार्कीले निबन्ध लेख्दा एउटा ठूलो प्रश्न पाठकलाई सोधेका छन्- के हामी सधैं पीडित मात्र हुने ? कि हामी कहिले होशियार हुन्छौं ? यो प्रश्नले मलाई बारम्बार छोइरहन्छ । किनभने म आफैंलाई सम्झन्छु- कति पटक मैले झुटो प्रचारमा विश्वास गरें, कति पटक कसैको मिठो वचनमा फसेँ, कति पटक आशाको लोभमा आँखा बन्द गरें । यी सबै अनुभव सम्झँदा लाग्छ, म पनि ठगको सिकार मात्र होइन, कहिलेकाहीँ ठगलाई सहज बनाउने पात्र पनि हुँ ।
यसरी निबन्ध पढ्दा मनमा अपराधबोध पनि जाग्छ । अपराधबोध किन भने, ठग त समाजकै अंश हो, र म पनि समाजकै अंश हुँ । मैले कसैलाई प्रत्यक्ष ठगिनँ होला, तर मेरो मौनता, मेरो कमजोरी, मेरो अज्ञानले ठगलाई टेवा दिएको छ । जब नेताले झुटो वाचा गरे, मैले प्रश्न गरिनँ । जब बाबाले चमत्कारको नाममा पैसा मागे, मैले विरोध जनाइनँ । जब पण्डाले भविष्य बदल्ने भनेर औंठी बेच्न खोजे, मैले हाँस्दै छाडेँ, तर अरूलाई चेताइनँ । यसरी मेरो मौनताले ठगलाई अझै बलियो बनाएको छ । यही सोच्दा अपराधबोध हुन्छ ।
तर निबन्धले केवल अपराधबोध मात्र दिँदैन, यसले चेतनाको दिप पनि बाल्छ । लेखकले ठगको यथार्थ देखाएर हाम्रो आँखा खोलिदिएका छन् । उनी भन्छन्- सावधान ! ठग वरिपरि छ । उसको भाषा मिठो छ, उसको अनुहार पवित्र देखिन्छ, उसको शब्द आकर्षक लाग्छ । तर त्यसभित्र ठगीको विष छ । यही चेतावनी नै निबन्धको शक्ति हो ।
मलाई लाग्छ, निबन्धले देखाएको ठग केवल पुरानो शैलीको होइन, आधुनिक स्वरूपको पनि हो । आजकाल सामाजिक सञ्जालमा ठगको नयाँ रूप देखिन्छ । कसैले स्वास्थ्य उपचारको नाममा चमत्कारी औषधि बेचिरहेको हुन्छ । कसैले अनलाइन व्यापारको नाममा पैसा उठाउँदै हराइरहेको हुन्छ । कसैले प्रेमको नाममा भावनालाई ठगी गर्दैछ । यी सबै नयाँ तरिका भए पनि आधार एउटै हो- विश्वास लुट्ने । यसरी सोच्दा कार्कीको निबन्ध समयभन्दा अघि कोही भविष्यवाणी जस्तो लाग्छ ।
पढ्दै गर्दा मलाई अरू एउटा अनुभूति हुन्छ- ठग हरेक युगमा हुन्छ, हरेक रूपमा हुन्छ, तर उसको लक्ष्य सधैं एउटै हुन्छ- मान्छेको विश्वास । विश्वास नै ठगको मुद्रा हो । हामी विश्वास दिन्छौं, उनीहरूले त्यो मुद्रा खर्च गर्छन् । हामी फेरि विश्वास दिन्छौं, उनीहरूले फेरि लुट्छन् । यही चक्र चलिरहन्छ । निबन्धले यही चक्रलाई व्यङ्ग्यात्मक शैलीमा उघारिदिएको छ ।
मलाई लाग्छ, साहित्यको ठूलो शक्ति यही हो- सत्यलाई हाँसोको आवरणमा देखाउने, पीडालाई रमाइलो शैलीमा प्रस्तुत गर्ने । कार्कीले यही गरेका छन् । उनले हरेक वाक्यलाई छोटो, तर धारिलो बनाएका छन् । त्यसले हाँसो ल्याउँछ, तर हाँसोको छालभित्रै चिरफार गर्ने धार हुन्छ । यही धारले समाजलाई छेड्छ ।
निबन्ध पढिसकेपछि म लामो समयसम्म सोच्न बाध्य हुन्छु । मेरो वरिपरिको जीवनको चित्रण फेरिफेरि दिमागमा घुम्छ । बाटोमा भेटिएका भाग्यमानी बाबा, टेलिभिजनमा देखिएका ज्योतिषी, चुनावी सभा गरेको नेता । यी सबै दृश्यले मलाई घेर्छन् । अनि म आफैंलाई सोध्छु- के अब पनि हामी फसिरहन्छौं ? के अब पनि हामी पुरानै गल्ती दोहोर्याउँछौं ?
निबन्धले दिएको ठूलो शिक्षा यही हो- सजग हुनु । सजगता नै ठगीविरुद्धको पहिलो हतियार हो । जबसम्म हामी सजग छैनौं, तबसम्म ठग बलियो रहन्छ । तर हामी चेतनशील भयौं भने ठग कमजोर हुन्छ । यही चेतनाको ज्योति नै कार्कीको कलमले बालिदिएको हो ।
यसरी निबन्ध पढ्दा मनमा एउटा हलचल मच्चिन्छ । त्यो हलचल केवल साहित्यिक रमाइलो होइन, जीवनलाई हेर्ने दृष्टि नै बदल्ने शक्ति हो । कार्कीले ठगलाई मात्र होइन, हाम्रो आँखामा पर्दा टाँसिदिएका छन् । त्यो पर्दा हटेपछि यथार्थ देखिन्छ । अनि हामीलाई लाग्छ- अब हामी चुपचाप बस्ने होइन, प्रश्न गर्ने, चेताउने, सजग हुने ।
पुण्य कार्कीको “ठगका ताँती” पढ्दै गर्दा म अन्ततः एउटै निष्कर्षमा आइपुग्छु- ठग केवल अर्कै कोही होइन, कहिलेकाहीँ हाम्रो आफ्नै प्रतिबिम्ब पनि हो । हामी सोच्दछौं, ठग भनेको त्यही हो जसले अरूलाई छल्छ, तर कतिपय अवस्थामा हामी आफैं आफ्नै मनलाई ठगिरहेका हुन्छौं । हामी आफ्नै क्षमताभन्दा बढी विश्वास अरूमा राख्छौं । हामी आफ्नै विवेकलाई दबाएर सजिलो बाटो रोज्छौं । हामी आफ्नै डरलाई जित्न नसकेर झुटो सहारातिर दौडन्छौं । अनि जब ठग हाम्रो वरिपरि देखिन्छन्, त्यसको आधार हाम्रो आन्तरिक कमजोरी नै हुन्छ ।
यो सोच्दा मलाई लाग्छ, कार्कीको निबन्ध केवल व्यङ्ग्य मात्र होइन, आत्मपरीक्षणको आह्वान पनि हो । ठगलाई देखाउँदा उनले हाम्रो आभ्यन्तरमा लुकेको डर, लोभ, अज्ञानलाई पनि छेडेका छन् । उनले हाँसोले ढाकेका छन्, तर त्यस हाँसोभित्रै गम्भीरता छ । यो गम्भीरता नै निबन्धको वास्तविक शक्ति हो ।
म निबन्ध पढ्दा बारम्बार आफ्नो जीवनका विभिन्न दृश्यहरूसँग तुलना गर्छु । जब उनले पण्डाको कुरा गर्छन्, मलाई याद आउँछ- कसरी विद्यालयमा पढ्दा मेरा साथीहरूले ग्रहदोषको कारणले परीक्षा फेल भएको भन्दै औंठी किन्थे । जब उनले बाबाको कुरा गर्छन्, मलाई याद आउँछ- कसरी बजारमा एउटा साधुले पानीलाई अमृत भन्दै बेच्दा मानिसहरूको भीड लागेको थियो । जब उनले नेताको कुरा गर्छन्, मलाई याद आउँछ- कसरी चुनावअघि हरेक गाउँमा सडक, बिजुली, पानी, रोजगारीको वाचा गरिएको थियो, तर चुनाव सकिएपछि सबै बिर्सिएको थियो । यी सबै अनुभवसँग मेरो जीवन गाँसिएको छ ।
त्यसैले म भन्न सक्छु, कार्कीको निबन्ध केवल साहित्य होइन, हाम्रो जीवनको दस्तावेज हो । यसले हामीलाई हाम्रो विगत सम्झाउँछ, हाम्रो वर्तमान देखाउँछ, अनि भविष्यप्रति सावधान गराउँछ ।
निबन्धले एउटा गहिरो सत्य देखाउँछ- ठगलाई रोक्ने उपाय केवल कानुनी दण्ड होइन, चेतना हो । कानुनले केहीलाई कारबाही गर्न सक्छ, तर ठगको नयाँ रूप फेरि जन्मिन्छ । चेतना भनेले ठगलाई पहिचान गर्ने आँखा दिन्छ । चेतनशील समाजलाई ठग्न सजिलो हुँदैन । त्यसैले निबन्ध पढ्दा लाग्छ, लेखकले हामीलाई सजग समाज बनाउने आह्वान गरेका छन् ।
मलाई अझै एउटा कुरा गहिरो लाग्छ- ठगले सधैं हाम्रो कमजोरी खोज्छ । कोही रोगले थलिएको बेला स्वास्थ्यको कमजोरीलाई प्रयोग गर्छ । कोही बेरोजगारलाई रोजगारीको सपना देखाएर ठग्छ । कोही विद्यार्थीलाई भविष्यको डर देखाएर ठग्छ । कोही वृद्धलाई मोक्षको लोभ देखाएर ठग्छ । यसरी ठगले कहिल्यै बलवानलाई ठग्दैन, सधैं कमजोरलाई मात्र लक्ष्य बनाउँछ । त्यसैले हामीलाई बलियो बनाउनु निबन्धको अप्रत्यक्ष शिक्षा हो ।
पढ्दापढ्दै मेरो मनमा एउटा प्रश्न आउँछ- ठग सधैं किन सफल हुन्छ ? यसको जवाफ सजिलो छैन । तर म भन्छु- ठग सफल हुन्छ किनभने हामी सजिलै विश्वास गर्छौं । हामीलाई तत्कालिक सहारा चाहिन्छ । हामीलाई असम्भव वाचा मिठो लाग्छ । हामीलाई छोटो बाटो सजिलो लाग्छ । यही कारणले ठग बारम्बार सफल हुन्छ ।
यसरी सोच्दा लाग्छ, कार्कीको निबन्धले ठगभन्दा बढी हामीलाई प्रकट गरेको छ । हामी कस्तो समाज हौं, हाम्रो कमजोरी के हो, हाम्रो विश्वासको स्वरूप कस्तो छ ? यी सबै कुरा निबन्धले खोलिदिएको छ ।
लेखकको व्यङ्ग्यात्मक शैली निबन्धको अर्को ठूलो शक्ति हो । उनले यदि ठगलाई केवल गम्भीर भाषामा मात्र चित्रित गरेका भए, शायद पाठकलाई त्यति मन लाग्दैन्थ्यो । तर उनले हाँसोले व्यङ्ग्य गरेका छन् । त्यो हाँसोले हामीलाई सजिलो बनाउँछ, तर भित्रै चिमोट्छ । यही कारणले निबन्ध स्मरणीय हुन्छ ।
मलाई लाग्छ, यस्तो निबन्ध केवल मनोरञ्जनका लागि होइन, दीर्घकालीन स्मरणका लागि हो । जब म जीवनमा फेरि कुनै ठगलाई भेट्छु, चाहे त्यो बजारको बाबा होस् वा राजनीतिक नेता, मेरो मन तुरुन्तै कार्कीको शब्द सम्झिन्छ । म तुरुन्तै भन्छु- “यो त ठगका ताँतीकै एउटा धागो हो ।” यसरी निबन्धले मेरो दृष्टि बदलिदिएको छ ।
अन्तिममा, निबन्धले मलाई एउटा ठूलो शिक्षा दिएको छ- हामीले अरूलाई दोष दिनुअघि आफूलाई बलियो बनाउनुपर्छ । ठगलाई रोक्ने सबैभन्दा ठूलो उपाय हाम्रो विवेक हो । जब विवेक बलियो हुन्छ, ठग कमजोर हुन्छ । जब विवेक सुस्त हुन्छ, ठग बलियो हुन्छ । त्यसैले समाजको मुक्ति सजग नागरिकमा मात्र छ ।
यो अनुभूति मलाई हरेक वाक्यले दिलाउँछ । यसरी पढ्दा लाग्छ, “ठगका ताँती” केवल एकपटक पढ्ने निबन्ध होइन, जीवनभर सम्झिरहने सत्य हो ।
०००
२०८२ भदौ २ गते
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest









































