युगल बसेलभिन्नता
यो ज्याकी मान्छे देख्यो कि भुक्न थाल्छ, ह्वाँ मान्छे देख्यो कि भाषण ठोक्न थाल्नुहुन्छ । फेरि यो कुत्ता (ज्याकीतिर औँलो तेर्स्याउँदै) मन्तरी बन्नै सक्दैन, ह्वाँ त नेताज्यू रङ्ग फेरीफेरी मन्तरी बन्न सक्नुहुन्छ, होइन त ?

युगल बसेल :
स्थान : नेताको दैलो दैलोभित्रको ठाउँ
पात्र : गोबरदास गुरु, खुलदुले नेता, नेताको छोरा, नातिनी, नोकर र नोकर्नी
(गोबरदास गुरु र खुलदुले बात मार्दै नेताको दैलो नेर आइपुग्छन् । यस अधिको कुरो स्पष्टसँग नबुझिए पनि यसपछि प्रस्टसँग सुनिन थाल्छ ।)
गोबरदास : (नेताको दैलो चियाउँदै) बुझ्यौ खुलदुले, नेता र कुत्ताबीच कुनै
भिन्नता छैन । जुठोपुरो खान नपाएको बेला जसको विरोधमा भुक्छन्, खान पाए भने उसैको खुट्टामा लुटपुटिन्छन् ।
(यस कुराले खुलदुलेको जिज्ञासा चुलिन्छ र जिज्ञासा मेट्न गुरुसित अल ( ग्गिएर नेताको दैलोतिर मुखरित हुन्छ ।)
खुलदुले : (मनमनै आफैंसँग) ‘चरीको गुँड’ नाम गरेको नेताको महल त भव्य नै रहेछ गाँठे । छाप्रोमा बसेर खुर्सानी खेती गर्ने नेताले ठूलै फड्को मारेछन् बा। यिनलाई त मान्नै पर्छ ।
(नियाल्दानियाल्दै उसको नजर दैलोमा टाँगिएको अर्को लेखोटमा पर्छ र फेरि आफैंसँग फुसफुसाउँछ ।) ‘अए, भित्र नेता छ’ भन्ने नलेखेर ‘भित्र कुत्ता छ’ भन्ने पो लेखेको छ। गुरुको भनाइ के झूटो हुन्थ्यो ?
(पूरै विश्वस्त हुनका लागि खुलले नेताको दैलोभित्र छिर्छ र लामो गन्थन नगरी नेतासामु सिधै प्रश्न तेर्स्याउँछ ।)
खुलदुले : (जिज्ञासु हुँदै) ‘नेताज्यू, कुत्ता र नेताबीच भिन्नता छ कि छैन ?’
नेता : (सेकुवा चपाउँदै) ‘यो मामुली कुरा त भरखर बीस पुगेकी यही दुधे बालिकाले भन्न सक्छे । सोध्नोस् त मेरी नातिनीलाई ।’
नातिनी : (मस्कदै) पर्दैन व्यारे मैले भन्न। यो त हामीलाई दिनरात मालिस गर्ने तर नालिस नगर्ने हाम्रो बफादार चाकर गोफ्लेले नै भनिदिन्छ । (लेग्रो तान्दै) ‘भन्देऊ न गोफ्ले ।’
गोफ्ले : (सङ्कोच मान्दै) नाइँ बाबा। मैयाँले जे भन्यो त्यही मान्ने, मलाई नगन्ने भन्दै दुलही हजूरले मेरा कान समाउनुभयो भने मैले के गर्ने नि ? बरु डल्लीले भन्दिए हुन्थ्यो नि ।
डल्ली : (नखरा गर्दै) बाउ खुसाए छोरा रिसाउने, छोरा फुर्किए बाउ ठुस्किने यो घरको चाला मलाई थाहा छैन र ? भो, म त चु आखर बोल्दिनँ।
नेताका बाउ-छोरा : (एकै स्वरमा फकाउँदै) भन्देऊ न त डल्ली मोरी । किन वुस्केिकी ?
डल्ली : (गमक्क पर्दै) भन्दिनै पन्यो त मैले ?
खुलदुले : (हतारिँदै) नेता र कुत्ताबीचको फरक मात्र भनिदिए पुग्छ ।
डल्ली : (आँखा नचाउँदै) फरक त जत्ति पनि छ नि। यो ज्याकी मान्छे देख्यो कि भुक्न थाल्छ, ह्वाँ मान्छे देख्यो कि भाषण ठोक्न थाल्नुहुन्छ । फेरि यो कुत्ता (ज्याकीतिर औलो तेर्स्याउँदै) मन्तरी बन्नै सक्दैन, ह्वाँ त नेताज्यू रङ्ग फेरीफेरी मन्तरी बन्न सक्नुहुन्छ, होइन त ?
नेता : (ताली बजाउँदै) वाह डल्ली। क्या दमदार जवाफ दिइस्, नेताको सङ्गतको फल साबित गरेर देखाइदिइस् तैले ।
(खुलदुलेतिर फर्केर) देख्नुभो त बाबु, नेताको घरमा जो पनि जन्मदैका तीनपाते छन् ।
(डल्लीको महावाणीले गुरुवाणीलाई च्याट्टै काटेको ठहर गर्दै खुलदुले नेता महलबाट बाहिरिन्छ ।)
०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८१)
Subscribe
Login
0 Comments
Oldest









































