शेषराज भट्टराईहन्डर
त्यसैले हन्डर हरसमय हरमान्छेबाट हामीमा आउन वा जानसक्छ । त्यसैले जति हन्डर खायो, खान पाइयो त्यति राम्रो । जति हन्डर ख्वाउँछन्, त्यति हाम्रो ।

शेषराज भट्टराई :
‘हन्डर’ सचेत प्राणीमात्रको साझा खुराक हो । प्राणीको जुनी पाएपछि जानी नजानी खुनी वा खोटी बन्नै पर्दोरहेछ, चाहे हन्डर खाएर होस् वा खुवाएर । दोषी दागी वा फल्टी जिन्दगीमा हैरानी सास्तीबाहेक मस्ती त कहाँ मिल्छ र ? काम कुरो गर्दै गयो विग्रिन्छ, भत्किन्छ अनि आइलाग्छ दुःख कष्ट, हन्डर, हैरानी, र बाइन्छ गोता । त्यसैले हन्डर हाम्रो हातमा छ । हन्डरले बबन्डर मच्चाउँदै भावी दिनलाई सुगम, सजिलो र स्वर्णिम बनाउन यत्नका साथ प्रयत्न गरौं ।
यसलाई ट्राउवल, डिफिकल्टी, वा डिस्टरवेन्स भनेर अङ्ग्रेजीकरण गर्न सकिन्छ । वाउन्न हन्डर त्रिपन्न ठक्कर खाएपछि दुर्जनहरू सज्जन वन्छन् । त्यसैले हन्डर हाम्रो हैसियत र हितका लागि, हिम्मत र जितका लागि, विछोड र प्रीतका लागि पनि खाने खुवाउने र सुहाउने कुरा हो ।
सजीव, सचेत, बुद्धिमानी, इज्जतिलो, मूर्ख, धनवान्, निर्धन, बालक, वृद्ध, तरुनी तन्नेरी, सबै तह र तप्काकाले कुनै न कुनै कारणबाट खानु पर्ने स्थिति आउँछ, यो रहरले खान मिल्दैन । करकाप, विवशता र बाध्यताले मात्र हन्डर खान सकिन्छ । हन्डर मुखभरी पेटभरी हालेर खान मिल्ने चिज होइन । हन्डर खाएको नखाएको छुट्याउन उदर हेरेर हुँदैन, अधर हेर्नुपर्छ । अधर निन्याउरो, रुन्चे, निचोरेको कागतीजस्तो छ भने त्यसले टन्न हन्डर खाएछ भनेर ठोकुवा गरे पनि हुन्छ । हन्डर खाएको मान्छेको मन-पेट अमिलो र पाकेको हुन्छ । त्यस्ताले जति रमाइलो गर्छु भने पनि तम्तम्याइलो नीरस हात लाग्छ । सङ्गीतले पनि उसको तन-मनमा परिवर्तन ल्याउन हम्मे हम्मे पर्छ । मान्छेले आफ्नो ब्रह्म र कर्मले नै हन्डरको सृजना गर्छ । अचेत र निर्जीवलाई हन्डरले घुँदैन, त्यसको चेत हुँदैन, मन हुँदैन, त्यसैले घुँदैन । हन्डर अन्तरात्माको अनुभूति हो । हन्डरले छुन मन हुनु र रुनु अनिवार्य हुन्छ । चाहे आँसुसमेत झोल रुनुहोस वा सुख्खा तर हन्डर प्रदर्शन गर्नु छ भने मुख बिगार्नै पर्छ अनुहारको कान्ति र आभा गायब गर्ने पर्छ ।
सचेत प्राणीलाई हन्डरले पछ्याउँदै, खोज्दै हिंड्दैन, बरु सचेत सज्जन प्राणीले नै यसको सूत्रपात गर्छ । हन्डरको उत्पत्ति, उत्पादन, प्रादुर्भाव, विकेन्द्रीकरण, विस्तार बीजारोपण र विविध विसङ्गतिको श्रेय मानवलाई नै जान्छ । पशुहरू न कुंरा काट्छन् न निन्दा, चियो, चचाँ गर्छन्, सूप खान पाए, पेट पुष्ट्याउन पाए पुग्छ । तर मान्छेले देखिने टाउकोदेखि लिएर नदेखिने कुरो पनि काट्छ, अनाहकमा एकसुर हिँडिराखेको बाटो काट्छ, पुरुष भए दारी काट्छ महिला भए कुरा । व्यवहार परिमाण दुवै हुन्छन् छुरा । मान्छेले जलपान खुराक खान दिए बदलामा हन्डर ख्वाउँछ ।
हन्डर खुवाउने नै मान्छेले हो । सत्तापक्षलाई प्रतिपक्षले हन्डर खुवाउँछ । प्रतिपक्षलाई सत्तापक्षले हन्डर खुवाउँछ, पालाको पैचो । पैचो मान्छेले खूब छिटो तिर्छ । पछि पिर्छ भनेर चाँडै तिर्छ । पल्टाउने, उल्ट्याउने, गुल्ट्याउने, मुन्ट्याउने, झुन्ड्याउने, निचोर्ने, रेट्ने, बनाउने मेट्ने समस्त कलामा मान्छे मस्त छ । मान्छेदेखि नै मान्छे त्रस्त छ । त्यसैले मान्छेले मान्छेलाई एक अर्कामा प्रयोग गरेर हेर्छन् । अब त्यसपछि के हुन्छ ? कस्तो क्या प्रतिकृया देखाउँछ ? भनेर च्याउने र भ्याँउने गर्छन् । तब त मानिस । नत्र के मानिस ।
मानिस कस्तो भनेर जानिस् ? जाने चिनेपछि चुप लाग्नुपर्छ । आची भनेर जानी जानी कोट्याउने ? कोट्याए पछि मुखमा छिटो पर्छ, तर चुप लागेर बसे पछाडिबाट चिमोट्छन्, मुक्याउँछन्, कसरी हुन्छ सत्ताच्युत गराएर छोड्छन् । सत्ताच्युतको भूतले सबै हैरान छन् । अब के हुन्छ भन्ने सन्त्रासले बलिया बाङ्गा भोका नाङ्गाहरू युरुरुरु काँप्छन् । चाहे राजनीतिमा होस् या खाद्यनीतिमा वा सामान्य जागिर या घर गृहस्थीमा रमाएकाहरू पनि दुष्टको दृष्टि पन्यो भने त्यहाँ विचलन शुरु हुन्छ र तत्क्षेत्रबाट च्युत भएर भाग्नु अन्यत्र लाग्नु वा लखेटिनु पर्छ । मानवीय रैंचो पैंचो र गुण भनेको यही हो । मान्छेले मान्छेको हुर्मत लिनु, पेल्नु, ठेल्नु र हेल्नु, नै आफ्नो चतुऱ्याइँ र चलाखीपन ठान्छन्, फलतः हन्डरको सृजना वा सृष्टि हुन्छ ।
हन्डर सतह, सरलरेखा, बकरेखा, नागबेली, गहिराइ, उचाइ फराकिलो फाँट, बिस्तरा, भान्सा, कुर्सी, कुना कन्दरा सर्वत्र व्याप्त र पर्याप्त हुन्छ । मात्र त्यहाँ घुसी मान्छे वा घुसी प्रतिनिधि हुनुपर्यो । यसलाई मूर्ख र ज्ञानीका बीचको द्वन्द्व वा बाडल भनिन्छ । मूर्ख र ज्ञानीले तयार पारेको खाडलमा सोझा सीधाहरू जाकिन्छन् । मान्छेको कारण काल र कामविशेषमा छाउने, आउने हन्डर अर्कालाई खुवाउछु भन्दा भन्दै आफू एक्लै हन्डर उग्राइराखेको पनि देखिन्छ । मानवको
बुद्धिविवेकमा सुलसुले पर्यो भने यस्तो हुन्छ । जबरजस्ती हन्डर खुवाउँछु भन्दा आफूले सास्ती बाइन्छ । सास्ती मस्ती जस्तो आनन्ददायक हुँदैन । सास्ती सामुन्ने मस्ती निहुरिन्छ । हन्डर र सास्ती सगोत्री हुन् । यो शत्रु र सुस्त वर्गबाट प्रदत्त अस्थायी उपहार हो । हन्डर सधै रहिराख्दैन । रात जति लामो भए पनि उज्यालो अवश्य हुन्छ भनेर मनलाई य॒म्युम्याएर बाँच्नु वा नाच्नुपर्छ । मानवमात्रले मानवका अगाडि आफूलाई अब्बल दर्जामा उभ्याउँदै मपाइँत्वको मार्ग विस्तार गर्छु भन्दा भन्दै यो वा त्यो यसको वा त्यसको कारणबाट हन्डर आइलाग्छ ।
पृथ्वीमा हन्डर नखाएका मान्छे नै हुँदैनन् । यस मानव चोलामा खोला बनेर निरन्तर बगिराख्छ । त्यसमा वार पार गर्ने ह्याउ र दाउ आफूमा सुरक्षित राख्नुपर्छ । आवश्यक पर्दा मानव बस्तीमा मानवहरूले सृजना गरेर मानवमै प्रक्षेपण गर्ने परम्परा छ । त्यसैले हन्डर हरसमय हरमान्छेबाट हामीमा आउन वा जानसक्छ । त्यसैले जति हन्डर खायो, खान पाइयो त्यति राम्रो । जति हन्डर ख्वाउँछन्, त्यति हाम्रो । आफन्त । पराई र आफन्त छुट्याउने स्वर्णिम सङ्केत वा अवसर । हन्डरले पूर्ण जिन्दगीलाई कायापलट गर्नसक्छ । अक्सर हन्डरले सुधार्ने वा मठार्ने गर्छ । हिरोसिमा, नागासाकीमा बम वर्षाएर सन् १९४५ अगस्तमा अमेरिकाले जापानलाई हन्डर नखुवाएको भए आज जापानको सम्वृद्धता देख्न पाइन्थेन होला ।
अतः हन्डरले हाम्रो हित गर्छ । त्यसैले ज्वाइँ-छोरी, नाति-नातिनी, दिदी भिनाजु, फुपु फुपाजु, मामा-माइजु, साला-साली, जेठानी-देउरानी, देवर-भाउजू, छोरा-बुहारी, कान्छीजामा-कान्छा बावु, बड्यामा-बडाबाबु, भाइ-भतिजा, दिदी-बहिनी, मीत-मितिनी नातागोता सबैलाई हन्डर खुवाउनु पर्छ । तब पो आफ्नो सक्कली असली रूप देख्न देखाउन पाइन्छ ।
पृथ्वीका पत्थर, चट्टान, ढुङ्गाहरू, खोला नाला, झरी बादल, पहिरो-पाखो, गहिरो जता पनि ठोक्किने, ठक्कर खाने र टकाउने, जुध्ने गरे पछि त्यसमा निखार आउँछ । सलोपना छाउँछ । चिल्लो राम्रो मुसारी राखूँजस्तो शिवलिङ्ग, शालिग्राम बन्छ । त्यसैले हन्डरले हाम्रो जिन्दगीलाई २४ क्यारेटको नम्बरी सुन वा अजम्बरी शालिग्राम बनाइदिन्छ । शालिग्राम, नम्बरी वा अजम्बरी हुनलाई हन्डर खाने र खुवाउने गर्नाले आफ्ना सन्तान दरसन्तानले यस लोकमा सुख भोग र पर लोकमा स्वर्गको अधिपति भएर जिउने र पिउने स्वर्णिम अवसरको हकदार वा दावेदार भइने प्रबल सम्भावना रहन्छ ।
०००
शिवशक्तिमार्ग , फूलबारी ११ पाेखरा कास्की ।
फाेन:- ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest





































