सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपाल फर्कें भने म पनि तेस्तै हुँला

खेत बारी सबै घडेरी बनाई बेचुँला बाटोघाटो ताल तलैया पर्खाल लगाई मिचुँला जग्गा जमिन बेचेर सुकुम्बासी बनुँला ।

Nepal Telecom ad

आएदेखि नै कुन पार्टीमा बस्ने भनेर पार्टी चाहारूँला
गलाभरि मालै मालाले बेरुँला
मासुभात खुवाई खुवाई भोट तानँुला
भोट जितेपछि आफूलाई सर्बेसर्बा ठानूँला
नेपाल फर्कें भने म पनि तेस्तै हुँला

मञ्चभरिकालाई सम्बोधन गर्दै लामो भाषण ठोकुँला
कालो धनको बोरा जति भारि भए पनि थकान नमानी बोकुँला
चुनाब जित्न दुई हात जोडी गाउँगाउँ छिरुँला
मन्त्री भएपछि नेपाल आमाको छाती पनि चिरुँला
नेपाल फर्कें भने म पनि त्यस्तै हुँला

खादा सम्मानको लागि लाइन लागेर कुरुँला
आफ्नो हित पो हेर्ने त देश र जनताको हितका कुरा पछि गर्दै गरूँला
मन्त्री पद पड्काउन दैलोदैलो चारूँला
देश बिकाशका कुरा पछि पछि सारूँला
एउटै ड्याङको मूला त हो नि, नेपाल फर्कें भने म पनि त्यस्तै हुँला

कहाँ र कति पटक झूट बोल्ने मनभित्र गुनुँला
अहिले आफ्नो दुनो सोझ्याई हालुँ अरुको कुरा पछि सुनुँला
कार्यालयमा काम गराउन हाकिमलाई हजूर बक्स्योस् ! चढाउँला
ढिलो गरे भने एकबिटो टेबलमुनिबाट हात यसो अघि बढाउँला
तपाइँहरू धन्दा नमान्नु होस् नेपाल फर्कें भने म पनि त्यस्तै हुँला

सरकारी अस्पतालको डाक्टर बनि प्राइभेट क्लिनिकमा ब्यापार बढाउँला
गरे जति पाप पखाल्न बिहान बिहान पशुपतिमा फूल नैवेद्य चढाउँला
खुट्टाको बिरामीको पाठेघर फालँुला
दोष जति बिरामीको टाउकोमा हालुँला
नेपाल फर्केपछि म पनि त्यस्तै हुँला

धुवाँ र धुलोमा जिन्दगीको जोखिम मोलुँला
लाइनमा बस्नु परे जथाभाबी बोलुँला
भिसा कहिले आउने हो दिन गन्दै बसुँला
भिसा लागेपछि पार्टी दिएर झिटीगुन्टा कसुँला
नेपाल फर्कें भने म पनि त्यस्तै हुँला

मेलम्चीको पानी सपनामा खाँदैं गरुँला
ढल मिसिएको पानी पिएरै बैकुण्ठ तरुँला
खकार थुक थुक्दै बाटो घाटो भरुँला
डेरा भाडा नतिरी कोठा कोठा सरुँला
नेपाल गएँ भने म पनि त्यस्तै हुँला

खेत बारी सबै घडेरी बनाई बेचुँला
बाटोघाटो ताल तलैया पर्खाल लगाई मिचुँला
जग्गा जमिन बेचेर सुकुम्बासी बनुँला
दिउसो पोइसो लुकाई राती सुटुक्क गनुँला
नेपाल गएँ भने म पनि त्यस्तै बनुँला

एम्बुलेन्समा यात्रु राखी पोइसा असुलँुला
सख्त बिरामी चैं यात्रु चड्ने गाडीमा बसालुँला
नाइट बसमा सिनेमाको हल खोलुँला
माता जगाएर मात्र साँचो साँचो बोलुँला
नेपाल फर्कें भने म पनि त्यस्तै हुँला

ट्याम्पो बसमा केटी देखिए टाँसिएर बसुँला
छड्के नजर पार्दै यसो फेटा पनि कसुँला
एकहोरो टक लगाई लाजमर्दो बनाउँला
भ्याएसम्म मपाइत्वका कथा पनि सुनाउँला
नेपाल फर्कें भने म पनि त्यस्तै बनुँला

छोरी अर्काको घर जाने जात हो भनुँला
मर्दका दस ओटी हुन्छन् भन्दै औँला गनुँला
भाषण र नारामा समानता कथा सुनुँला
राजनीति गर्न मधेसी, दलित, जनजाति महिलाका माला बुनुँला
नेपाल गएँ भने म पनि त्यस्तै बनुँला

गल्ली गल्लीमा ज्योतिष र माताको पसल खोलुँला
एक प्रतिसत साँचो र ९९ झुट बोलुँला
देवी र देउतालाई पनि बन्दि बनाइ राखुँला
मनोकांक्षा पुरा भए लाख चढाउने भाकल भाकुँला
नेपाल फर्कें भने म पनि त्यस्तै हुँला

बाटोभरि जतासुकै फोहोरै फोहोर फालुँला
नदी नाला र गल्लीमा ढलको पानी हालुँला
बाटो घाटो, गोरेटोलाई आफ्नै मलमुत्रले सिँचुला
दिसामुक्त क्षेत्र घोषणा गर्दै सेल्फी पनि खिचुँला
नेपाल फर्कें भने म पनि त्यस्तै बनुँला

जीराको धुलोमा भुस मिसाई बेचुँला
तराजुलाइ ढल्काइ ढल्काइ ग्राहकको मन खिचुँला
आफ्ना जनता मुग्लानको नोकर, कुल्ली बनाउँला
पारिकालाई नागरिकता बाँडी प्रभुलाई मनाउँला
नेपाल फर्कें भने म पानी त्यस्तै हुँला

तास र जुवाको खाल राख्दै मकै भटमास भुटुँला
चोकमा चिया पिई राजनीतिक गफ चुटुँला
वीर गोर्खाली बनेर गुलामीको बुट बजारुँला
मुखले मगन्ते होइनौँ भन्दै दुवै हात फिँजारूँला
नेपाल फर्कें भने म पनि त्यस्तै हुँला

सासू बनेर खुटा पसारूँला
बुहारी बनेर पाउ मुसारूँला
नन्द आमाजू बनेर गज्जक फुलँुला
परमेश्वरको कृपामामा सबै दुख भुलुँला
नेपाल फर्कें भने म पनि त्यस्तै हुँला

जल र वन नेपालको धन भनुँला
ठूलो मान्छे बन्ने सपना बुनुँला
बिदेशीको चाकरीका लागि देश र जनतालाई छलुँला
चलिआएको रितिरिवाज जस्तो छ त्यस्तै मै चलुँला
नेपाल आएँ भने म पनि त्यस्तै हुँला

रेडियोमा मुक्तिका गीतहरू बजाउँला
भित्ताहरू लेनिन र माओका फोटाले सजाउँला
इश्वरको नाममा धर्मलाई भजाउँला
बस्त्रहिन निर्लज्ज छन् आफू चाहिँ लजाउँला
नेपाल फर्कें भने म पनि त्यस्तै हुँला

मदेशी, दलित, महिलाका नाममा भाषण सधैं ठोकुँला
विदेशीको ऋण लिई ऋणको भारी बोकुँला
सिंगापुर, स्विजर्लैंड बनाउने भन्दै दिग्भ्रमित बनाउँला
यो एकपटक जिताउनुहोस् भन्दै जनतालाई मनाउँला
नेपाल फर्कें भने म पनि त्यस्तै हुँला

भ्रस्टका मासुभात खाइखाइ चुनावमा उनैलाई जिताउँला
रेल र पानी जहाजमा कथा सुन्दै दिन बिताउँला
चन्द्रमा र मंगलका कहानीका रसपान गरूँला
गरिबीको रेखामुनिको देशको नागरिक भएर जन्मिएकी थिएँ
गरिबीको रेखामुनिको देशकै नागरिक भएर मरूँला
गरिबीको रेखा मुनिको देशकै नागरिक भएर मरूँला ।

झापा, हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल