आमा आँखा खोलेर हेर !!
अरुको कुरा नसुनी तिमी आफैले आँखा खोल हेर, अनि मात्र तिमीलाई थाहा हुने छ- उनीहरू तिम्रै सन्तान हुन् कि अरु कोही हुँन भनेर ? आमा एक पटक आँखा खोलेर त हेर ! एक पटक आँखा खोलेर त हेर !
कतिलाई फोकल्याण्ड पठायौ
कतिलाई कार्गिल पठाइरहेकी छ्यौ
मुगलान दिनदिनै पठाई रहेकी छ्यौ
खण्डहर, बनझर मरुभूमिलाई हरियाली बनाउन
बहादुर बनाएर पठायौ, चौकीदार बनाएर पठायौ
आफू मरेर अरुलाई बचाउन !
तर त्यसरी पठाएका तिम्रा आफ्ना सन्तानहरूप्रति नै
किन निर्मम बन्दै छ्यौ आज ?
युद्ध जितेर आएकाहरूप्रति गर्ब गर्नु पर्ने हो
मरुभूमिबाट आएकाहरूप्रति माया छर्नु पर्ने हो
तर उल्टै लास आउँदा मात्र आफ्नो ठानेर
सास लिएर आएकाहरूलाइ पराइ झैँ मानेर
मेरो र तेरो मा अल्झिन्छ्यौ किन ?
अब यसरी हुन्न आमा तिमी बोल, तिमी जाग
आफ्नोलाई आफ्नो मान
दुइ, चार दिन परदेसिएकालाई अर्को नठान
तिम्रै पीडामा मल्हम लगाउन
तिम्रै मुहारमा हाँसो जगाउन
त पर्दिसिएका छन् ।
अब जाग आमा ! अब बोल !
नत्र परत्रीहरूले तिमीमाथि नै आँखा लगाउने छन्
नत्र तिनीहरूले तिमीलाई नै पाखा लगाउने छन्
परत्रीले तिमीलाई लुछेको
तिम्रा सन्तानले कसरी हेर्न सक्छन् ?
तिम्रो चित्कार कसरी सहन सक्छन् ?
त्यसैले फेरि पनि तिमीलाइ बचाउन, तिम्रो रक्षा गर्न
फर्केर आए भने स्वीकार गर
अरुको कुरा नसुनी तिमी आफैले आँखा खोल हेर
अनि मात्र तिमीलाइ थाहा हुने छ-
उनीहरू तिम्रै सन्तान हुन् कि अरु कोही हुँन भनेर ?
आमा एक पटक आँखा खोलेर त हेर !
एक पटक आँखा खोलेर त हेर !
०००
अमेरिका