दुष्यन्त भट्टराईप्रजातन्त्रको कन्धनी छिन्न लाग्यो
म बाँचूँ नबाँचूँ बचोस् भोलि देश सबै मिल्न पाए हुने हो विशेष कहाँ ए ? कता एकता किन्न भाग्यो ? प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!

हिजो जोड नारा लगाएर बाट्यौँ
र पोया तिनैमा सबै मूल्य साट्यौँ
लठारो कहाँ बन्दथ्यो भिन्न धागो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!
कुनै मन्डले छन् कुनै वामवादी
कुनै ठान्दछन् हौँ प्रजातन्त्र वादी
भए चट्पटेझैँ नयाँ स्वाद जाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!
लिई राज्यसत्ता लुटे देशलाई
बिरोधीहरू माथि गोली चलाई
तिनै भन्दछन् आज सङ्कष्ट आयो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!
छ सन्सारभित्रै यही एक देश
प्रजाको नबोल्ने छ बानी विशेष
जता जे गरून् मौन यो भिन्न जाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!
मलाई कसैले यहाँ सोध्न आए
म भन्नेथिएँ देश बेचेर खाए
न सन्तुष्ट छन् ? भोक कस्तो जगायो ?
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!
म बाँचूँ नबाँचूँ बचोस् भोलि देश
सबै मिल्न पाए हुने हो विशेष
कहाँ ए ? कता एकता किन्न भाग्यो ?
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!
०००
मेचीनगर- १, झापा हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































