नगिता लेप्चा राईसकसके खतिवड़ा उर्फ संसारीबाबा
यस्तै छन् हाम्रो गाउँका सकसके खतिवड़ा उर्फ संसारीबाबा । याद गर्नुहोला कुनै दिन तपाईंसित पनि भेट होला... मेरै बारेमा सकसकी छाद्लान् कुनै अवस्थामा पनि हँ मा हँ नथप्नुहोला ।

“लाग्दछ मलाई रमाइलो मेरो पाखा पखेरो
हिमालचुलीमन्तिर पानि भर्ने पँधेरो
लेकै हेर्यो लालीगुराँस बेंसी हेरयो प्याउली
पीरति बास्ने परेवा विरही बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै सोथीले ।”
– माधवप्रसाग घिमिरे
माथिको गीतमा जे भनिएको छ- अचेल हाम्रो गाउँ त्यस्तो छैन । हो हाम्रो गाउँ रमाइलो छन चाहिँ छ । उहिले हामी सासाना हुँदा उत्तरतिर सेतो हिमाल छर्लङ्ङै देखिन्थ्यो । कञ्चनजङ्घा छ्याङ्ङै । अचेल हाम्रो गाउँमा चारैतिर आकाशै छेँड़ुला जस्तो गरी गगनचुम्बी फ्ल्याटै फ्ल्याट बनिएकाले हिमाल देख्ने कुरै आएन । हाम्रो गाउँमा पानी भर्ने पँधेरो पनि छैन हिजोआज । भए पनि कोही जाँदैनन् । सबैका घ-घरमा पानी भएकोले पँधेरो जाने कुरै आएन । परेवाहरूले पनि अचेल पीरती लाएको देखिँदैन । भनौं रुपी, ढुकुर, सुगा पनि हराइसक्यो भन्दा हुन्छ । किनभने गाउँका उपद्रे केटाहरूले गुलेलीले चरालाई हानेर कति मरे अनि कति चाहिँ बसाइँ सरिसके । हामी उहिले गाउँका ठिटीहरू हुद्दा बनाई आलुदम, पुरी, सिद्राको अचार, तित्तिरीको अचार बोकेर दाउरा खोज्न, घाँसको भारी बोकेर ल्याउन जङ्गल धाउँथ्यौं । कति मजा थियो कति रमाइलो । अचेल कोही जङ्गल जाँदैनन् न घाँसको भारी ल्याउन नै । किनभने अचेल दिउँसै चितुवाले खेदो गर्छ । हात्तीको डर उस्तै । पहिले हाम्रो गाउँ जे थियो अचेल उस्तो छैन ।
गाउँका मानिसहरू पनि परिवर्तन भइसके । सबै जान्ने, संसार बुझ्ने । हाम्रा गाउँमा थरी थरी स्वभावका मानिसहरू थुप्रेका छन् । विचित्र र अचम्भका स्वाभाव । यस्तै एकजना विचित्र स्वाभाव भएका मानिसबारे जानकारी गराउनु मन लागेको छ । यी हुन् सकसके खतिवड़ा तर यिनलाई हाम्रै गाउँकाहरूले संसारीबाबा नाम दिएका छन् ।
उमेर यस्तै पचास-पचपन्नका होलान् बूढ़ा । मान्छे हेर्दा गम्भीर । धेर नबोल्ने । मान्छे हेर्दा सोझा न सोझा देखिने । पल्टन पचाएर आएका । भन्छन्, म देश-विदेश निलेर आएको हुँ । खाई खेली ख्याक भएको मान्छे म । यस गाउँका मान्छेलाई सय रुपियाँमा किनेर फेरि पाँच सय रुपियाँमा बेचिदिन सक्छु । सानामा हामी यिनको कुरा सुन्दा हो नै भन्थ्यौं… पल्टनबाट कमाएर ल्याएका छन् मोरोले किन्लान् पनि हुन् ।
तर पछि बुझ्दै जाँदा यिनको हाँक मात्र रहेछ । गाउँमा यिनले एउटा पान दोकान थापेर बसेका छन् । त्यस पान दोकानमा गाउँका भएभरका मानिसहरू थुप्रिन्छन् । कोही कतैबाट आएको देखे भन्छन्, ऊ यो केटी कहाँ गाकी होल़ी है ? यति बेला के खोज्नु गाकी होली ? उनलाई सकसक लागेर केही हुँदैन ।
गाउँमा कहाँ के हुँदैछ….कसको घरमा के भयो त्यसको जम्मै खबर उनलाई थाहा हुन्छ । उनको दोकानमा जो आउँछन् बस कुरा निकालन्छन् आफै । साँच्ची तिमीहरूले सुन्यौ (?) देवीलाल सर हिजो मातेर तल कल्भर्टमा लडि़रहेका थिए अरे नि । सर भएर कस्तो मातिराको है ? लाजमर्दो । तर सकसके खतिवड़ा उर्फ संसारीबाबाले जसको कुरो गरे पनि थप्नु चाहिँ हुँदैन भन्ने कुरो हामीले सुनिसकेकोले हामी सकसके खतिवड़ाको कुरोमा हँ पनि भन्दैनौं होइन पनि । बोलिसक्नु छैन । बोल्यो कि तिनै मान्छेलाई दोकानमा बोलाएर एक खिली पान वा एउटा गुट्का वा एक खिली सिग्रेट सित्तंैमा दिएर फलानुले यस्तो कुरो पो गर्दै थियो है… जोगिनु नि । आगोमा घिउ हाल्नुमा यिनलाई कसैले भेट्दैन ।
बर्थ डे पार्टी, बिहे-बटुलमा प्रेजेण्ट लिएर पहिल्यै पुग्छन् यी सकसके खतिवड़ा । खाना दियो भने अहिले खान्नँ एकक्षण भनेर स्वाङ पारी टोपल्छ । पहिले आउने अतिथिहरूलाई याद गर म त घरकै मान्छे हुँ भनी आफू अन्तिमतिर खानु बस्छन् एउटा टेबलमा । तर उनको टेबलमा रम-ह्विस्की र पचाउनीको भुटुवा आइ बस्नुपर्छ । टेबलमा बसेर उनको काम के हुन्छ भने कसले कति हुसर्यो, कसले कसरी खायो ती सबै हेरिबस्छन् । कसले कत्रो मोटा ठूलो प्रेजेण्ट ल्यायो, कसले मरिसकेको प्रेजेण्ट ल्यायो ती सबै उनको गिदीको हार्ड डिस्कमा लोड गर्छन् । बस भोलिपल्ट पान दोकानमा एक एकजनाको छतिपति खोल्छन् । जोसुकैले जेसुकै खावोस्, जेजस्तो सुकै प्रेजेण्ट ल्यावोस् मूल घरकाहरूले वास्तै गर्दैनन् । उनीहरूलाई त खुसीको दिनमा गाउँघरका इष्ट मित्रलाई राम्ररी खुवाइदिउँ भन्ने हुन्छ । तर यी बूढ़ालाई भने के सारो सकसक लागेको ?
पान दोकानमा सुरु हुन्छ उनको सकसक यसरी- हिजो जण्डिस बड़ीकहाँ गाको कि… अचम्म अचम्म सिन देखेँ नि यार । आमामा त्यो माथ्लो गाउँकी क्याप्टननी छेमाले कस्तो खाकी हन ? धत्… त्यस्तो पनि खाने हो ? बिरालोले नाँध्न नसक्ने भात । मासु उस्तै । पचाकै हो कि बुढि़याले ? अर्काको हो र त्यत्रो खाइदेकी नि… आफ्नो घरमा भए खान्थिन् होली र ? पाए भन्दैमां त्यसरी पगितो खाइदिनु हुँदैन न नि हौ विचाराहरूको । भरै अरु निम्तारुलाई खाना पुगेन भने लाजमर्दो हुँदैन भन त… । लु छेमा त भइगयो उनका छोरा बुहारीको गति देखेको भए नि तिमीहरू त्यतिबैले बिहे घरनै छोड़ेर जान्थ्यौँ ।
– को छोरा बुहारी ? प्रश्न तेर्सिन्छ कजनाबाट ।
अरे क्या त…के अरे भर्खरै फकल्याण्डबाट आउने क्या त त्यो फनेर । नाथे त्यति फकल्याण्ड गएको हो कि नाथेको भूइँमा खुट्टै छैन । अरे मसित बोल्नु पनि पैसा लाग्ला जस्तो गर्छ यार । त्यो फरेनेले मलाई के सम्झेको छ त्यस्तो नाथे फकल्याण्ड त उहिले पल्टनमा हुँदा मेरो लागि धारा पानी जतिकै थियो । अरे फकल्याण्ड त मैले फाँड़ेर आएको । खै मैले तिमीहरूलाई म फकल्याण्ड गएँ भनेर कहिल्यै भनेँ ?
– भन्नुभएन नि खतिवड़ा अङ्कल ।
हिजो बिहेमा मैले सुनेको त्यस्तो घटिया किसिमको ड्रिङ्क नगर्ने अरे । अरे त्यो कुन लाठसाहेब हो र स्पेशल ड्रिङ्क चाहिएको ? गाउँ घरमा यस्तै हल्का फुल्का सस्तो दामको ड्रिङ्क चल्छ । खै सबैले केही नभनी त्यै ड्रिङ्क खाए होइन ?
– हो नि…हामीले पनि जे छ त्यही खायौं नि ।
अन्त त्यो लाठसाहेवलाई चैँ डाक्टर, टिचर, नर्स, मिनिष्टर ब्राण्ड, सिनिष्टक ब्राण्डको ड्रिङ्क कसले ल्याउँछ ? यस्तो ड्रिङ्कको दाम कति छ थाहा छ तिमीहरूलाई ? मैले पल्टनमा यस्तो डाक्टर, नर्स, टिचर, मिनिष्टर कति पचाको पचाको…।
– साँच्चै यस्तो महङ्गो ड्रिङ्क्सको दाम कति पर्छ होला खतिवड़ा अङ्कल ?
– खै मलाई पनि त्यति थाहा छैन ।
उनको सकसकी सकिएकै हुँदैन । तिमीहरूले याद गर्यौ कि गरेनौं कोनि लाष्टमा आफूले ल्याएको बियर गाड़ीबाट ड्राइभरलाई निकाल्नु लाएर त्यही बियर खायो नाथेले । त्यो अरु केही होइन कि… देखाको नि म चैं यतिको छु भनेर । त्यसले बियर खाएको सबैले हेरिदिएको नि फेरि । किन हेर्नु ? आ…मैले त त्यो नाथेलाई पत्तै दिइनँ…त्यसले के बियर खाएको छ मैले जस्तो हौ। पल्टनमा त त्यस्तो बियरले म मुख कुल्ला गर्थेँ अन्त ।
– कस्तो हुन्छ हँ पल्टनको बियर चैँ- जिज्ञासा छरिन्छ पान दोकानभरि । यो जिज्ञासाले एउटा गुटका र जर्दा फ्री दिइहाल्छन् सकसके खतिवड़ा ।
बस् हामीलाई के थियो र बूढ़ालाई सर्काएर फुरुक्क पारे फोकटा खानेकुरो जुट्नु त हो ।
तिमीहरू पत्याउँदैनौ होला ….पल्टनको बियरको एकदम हार्ड नि । स्टोन हुनेहरूको स्टोन त एक गिलास बियर खायो कि भुँड़ीभित्रै स्टोन ड्याङ् कि ड्याङ् पड़केर चकनाचूर हुन्छ ।
– त्यस्तो दवाई हुन्छ खतिवड़ा अङ्कल ?
– भयो कुरा नगर पल्टने बियरको । जिब्रै बिग्रेर आउँछ । म कुरा गर्दै थिए आग्राको तिमीहरूले कुरा गर्न थाल्यौ गाग्राको । मलाई बोल्न देऊ न पहिला । तिमीहरू सुन मात्रै ।
हामी सबै चूपचाप लागि फोक्टा सिग्रेट, पान, बिँड़ी, गुटका खाँदै बूढ़ाको सकसकी सुन्न थाल्यौ ।
एकजनाले थप्यो- अनि अङ्कल बिहाको सिन भन्नुहोस् न। बड़ो इण्ट्रेष्टिङ ।
अँ….. अन्त तिमीहरूले त्यो फरेनरको खास सिनै देखेनौं । छ्या लाजमर्दो । त्यसकी नक्कचरी स्वास्नी देखेकी छौ । आमामा अलिकति हावा चल्यो भने ऊ…माथि उड़ाएर लैजानु बेर छैन । फरेनरले स्वास्नीलाई गाँस हालिदिएको फेरि । आमा चाहिँ केही नभन्दो रहेछ । घरमा जेजस्तो सुकै भए पनि बनमा त त्यसरी स्वाङ पार्न हुँदैन नि हौ…होइन भन केटाकेटी हो ।
हामीलाई नबोल्ने आदेश भएकोले हामी फोक्टा कुरा खानुमै व्यस्त र मस्त थियौँ ।
– होइन हजूरले अघि हामीलाई नबोल्नु भन्नुभएको होइन ?
यस…नबोले पनि अँ…अँ… वा हजूर… हजूर भन यार । अन्त मेरो मनबाट कुरा भटाभट निस्किन्छ अनि सुन न त्यल्ले गाड़ी किनेको छ नि…त्यो पनि क्याटका क्याट नोट दिएर क्यास कहाँ किनेको हो ? नाथेले इन्सटलमेण्टमा लेको नि । इन्सटलमेण्ट तिर्न कुन दिन सक्दैन किं अन्त क्रेनले तानेर लान्छ हेरिमात्रै बसन । अरे भाइ त्यस्तो इन्सटेलमेण्टमा ल्याउनु हो भने त नि यहाँ यो गाउँमा एक खेपमा दसवटा गाडी लस्करै लगाइदिन्छु । प्रसङ्ग बद्लिँदै, खै तिमीहरू आँ…उ…केही भन्दैनौ त ।
एकजनाले भन्यो, मुख खाली छैन नि खतिवड़ा अङ्कल । कसैको मुखमा गुटका, कसैले बिँड़ी चेपिराको छ, कसैले सिग्रेट, उ हेर्नोस् त हाङले किरिम रोल मुखमा हालेको ।
– अरे खावो न यार कति खान्छौ ? सम्झिनु यो दोकान यो खतिवड़ा अङ्कलको होइन…तिमीहरूकै हो । मलाई मात्तै नखावो…अरु के के खान्छौं खावो ।
केही छैन…अङ्कल छ भने केही डर छैन । यसरी नै अर्काको कुरा गर्नमै सकसके खतिवड़ा उर्फ संसारीबाबाको दिनभरिको सकसकी सकिन्छ ।
एकदिन बाबा खैनी किन्न उनको दोकान जानुभएछ । दोकानमा हाम्रै कुरा । यो गाउँकाहरू खतम छ नि सम्दी साहेब । दोकानमा आउँछन्… अरे सिग्रेट, गुटका, बिँड़ी फुतुफुतु निकाल्दै खान्छन् यार । यो दोकान मैले तिनीहरूलाई खान खोलिदिएको हुँ ? कति इजी टेक गरेको हौ आमामामा… मामाको घोड़ा मेरो हिही ।
घरमा बाबाले वृतान्त सुनाए । सकसके खतिवड़ा उर्फ संसारीबाबाको कुरा सुनेर अचम्भ लाग्यो ।
हाम्रो गाउँमा जसको घरमा जे घटना हुन्छ यी सकसके उर्फ संसारीबाबलाई सबभन्दा पहिल्यै थाहा हुन्छ । अनि त्यसमा बाह्र मसला तेल ग्रिज थपेर भोलिपल्ट दोकानमा आउनेलाई वृतान्त वमन गर्छ । उनले नजानेको नसुनेको केही हुँदैन । यसैकारण उनलाई गाउँमा सबैले संसारीबाबा नाम राखिदिएका हुन् ।
गाउँमा कसैले पनि यताउति गरे…उसलाई सकसक हुन्छ ।
यस्तै छन् हाम्रो गाउँका सकसके खतिवड़ा उर्फ संसारीबाबा । याद गर्नुहोला कुनै दिन तपाईंसित पनि भेट होला… मेरै बारेमा सकसकी छाद्लान् कुनै अवस्थामा पनि हँ मा हँ नथप्नुहोला ।
तपाईंको गाउँघरतिर पनि हाम्रा सकसकी खतिवड़ा उर्फ संसारीबाबाजस्ता सकसके होलान् … मलाई पहिल्यै चिनाइ ऱाख्नुहोस् है…नत्र गाल पर्ला ।
०००
जलपाइगढ़ी, भारत
Subscribe
Login
0 Comments
Oldest







































