लालबहादुर भुजेलभाङ्ग्रिएको सपना
एक्काइसौ शताब्दी, हामी भने कुवाको ब्याङ्ग निम्सरा-निमुखा मुलाको ड्याङ्ग जनप्रतिनिधिमा उठेर, आफ्नो भोट अरूलाई हाल्न भ्याउँछन् यस्तैले, देशमा छिटै समृद्धि ल्याउँछन् !!

कर्मचारीले आफूलाई “लाठसाप” ठान्नुपर्छ
टिप्पणी फाइलमा कुदाउनु पर्छ
सकेसम्म घुमाउनु पर्छ
निणर्यमा झुलाउनु पर्छ
सिंगापुर बनाउछु भनी भुलाउनु पर्छ
विदेशीलाई पुलपुल्याउनु पर्छ
लाटा-सुधा, गोजेङ्ग्रा जनतालाई फुल्याउनु पर्छ ।
यस्तै संस्कार, संस्कृति नयाँ पुस्ताले मन पराउनु पर्छ
विदेशीलाई देशको कुना-काप्चा चराउनु पर्छ
मन्त्रीजीले गमलामा धान रोपेर फलाउन कड्काउनु पर्छ
र,
भेडा जनताले ताली पड्काउनु पर्छ
यस्ता पौरखी र गौरवशाली कार्यमा,
कोखामा मुख फाटेकाहरूले कथंकदाचित्,
औँलो ठड्याउने धृष्टता गरेमा,
गाला चड्काउनु पर्छ
पारिको विषादी तरकारी परीक्षण गरेर के फाइदा
राता-रात, भित्र्याए पो हुन्छ सक्कली काइदा ।
कानून बन्छ हुँदैन कार्यान्वयन
कृषि उपज सङ्कलन केन्द्र बन्नु अगाडि हुँदैन अनुगमन
खेर जान्छ लाखौं लगानी, जनताको रगत-पसिनाको धन
बेसहारालाई बल्लतल्ल आवाश बन्छ तर, हुँदैन प्रयोजन
नेपालीको बुद्धि पछि आउँछ
खुवाँ थापे पो दशैं-तिहार छाउँछ !!
बाटो बिना नै, करोडौंको पूल बनाउनु पर्छ
जग्गाको दर-भाउ बढाउनु पर्छ
करमा चुसेको अरबौं रकम, बालुवामा पानीझैं
खन्याउनु पर्छ
उब्जनी ओसार-पसार गर्न सहज हुन्छ भनेर
साष्टाङ्ग दण्डबत् गर्ने गोरू जनता छ्क्याउनु पर्छ ।
सद्दे कुरा गरेर के पाइन्छ ?
खाँटी समृद्धि यसरी ल्याइन्छ !
फर्जी कुरा गरेर मात्र, बल्ल भुँडी फुटिञ्जेल खाइन्छ !!
यहाँ त कुटनीतिमा पनि राजनीति हुन्छ ।
अरूलाई धोका दिंदा घमाउनु पर्छ
सारथीले ताल र सुरमा मादल बजाउनु पर्छ
कम्मर भाँची-भाँची नाचेँर रमाउनु पर्छ ।
केराको थाममा छोटो पात निस्केपछि,
केरा पसाउँछ भन्ने जानिन्छ
बेसारे स्वाङले पक्कै फसाउँछ भन्ने मानिन्छ
भान्छामा पाक्ने चिज लगाएर के फाइदा ?
अनलाइनबाट मगाएर पो हुन्छ काइदा !
शहरिया भए पो हुन्छ इज्जत
गाउँमा खेती-किसानीले लिन्छ हुर्मत !!
एक्काइसौ शताब्दी,
हामी भने कुवाको ब्याङ्ग
निम्सरा-निमुखा मुलाको ड्याङ्ग
जनप्रतिनिधिमा उठेर,
आफ्नो भोट अरूलाई हाल्न भ्याउँछन्
यस्तैले, देशमा छिटै समृद्धि ल्याउँछन् !!
०००
०८० वैशाख १०
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































