उत्तमकृष्ण मजगैयाँयुगको हत्केलामा दार्जिलिङको भाग्यरेखा
यो दार्जीलिङ ! विसञ्चै-विसञ्चो पहाड़ हो यो दार्जिलिङ ! समयको ज्वालाले भत्भती पोलेको स्वस्थ्य जस्तो देखिने अस्वस्थहरू धाउने डिस्पेन्सरी मात्र हो अचेल यो दार्जीलिङ ! एउटा ठूलो फार्मेसी मात्र भएको छ ।

राजकुमार छेत्री :
आऊ कविवर !
तिमीलाई म,
मेरो दार्जिलिङको प्रत्येक गाउँ, घर र शहर घुमाउँछु !
यो दार्जिलिङ ! अन्धाहरूको निम्ति खेल मैदान हो
यो दार्जिलिङ ! लङ्गड़ाहरूको निम्ति खेल मैदान हो
यसैले यो दार्जिलिङ ! सिसिपसको मिथक कथा मात्र हो ।
यसैले आऊ कविवर ! तिमीलाई म
युगको मानचित्रमा मेरो दार्जिलिङको
भूगोल पनि देखाउँछु
इतिहास पनि बुझाउँछु ।
हिजोआज दार्जिलिङलाई गाउड्स लागेको छ
किनभने यहाँको प्रत्येक सड़क र गोरेटोहरूमा
यहाँका प्रत्येक घर-गाउँका मानिसहरू
अलिकपर हिँड़नसम्म सक्तैनन्
धक फुकाएर बोल्नसम्म सक्तैनन्
प्रत्येक ठण्डा महिनामा यो जोड़ले दुख्ने गर्छ
हो ! दार्जिलिङलाई पक्का गाउड्स लागेको छ ।
अचेल दार्जिलिङलाई लुतो लागेको छ
यसैले यसलाई सबैले कन्याइदिइरहनु पर्छ
कन्याइदिइरहनुमा यसलाई मज्जा लागिरहन्छ
हो ! दार्जिलिङलाई कहिल्यै जाती नहुने लुतो लागेको छ ।
यो दार्जिलिङलाई सन्निपातले भेटेको छ
यो दार्जिलिङलाई जण्डिस लागेको छ
मेरो दार्जीलिङलाई पक्कै क्यान्सर लागेको छ
मेरो दार्जिलिङलाई साँच्चै एड्स लागेको छ
ठण्डामा पनि यो दार्जिलिङमा लू- लाग्छ
फ्लू- त यहाँ सधैँ पनि लागिरहेकै हुन्छ ।
यसैले आऊ कविवर ! तिमीलाई म
मेरो दार्जिलिङको प्रत्येक गाउँ, घर र शहर घुमाउँछु
प्रत्येक बाटो- घाटो र घर-आँगन पनि डुलाउँछु ।
कविवर, यी हेर त
यति राम्री दार्जीलिङलाई
असमयमै हिस्टेरिया भएको छ
यो दार्जीलिङलाई असमयको हिस्टेरिया मात्र होइन
हाइड्रोफोवियाले पनि भेटेको छ ।
यहाँका प्रत्येक शिक्षित बेकारीहरूलाई
ग्यामोफोवियाले त भेटेकै हुन्छ
हो कविवर, तिमीसित मलाई अब एण्ड्रोफोविया भएको छ ।
यो दार्जीलिङ अचेल अस्वस्थ छ, विसञ्चो छ
अचेलभरि यो विरामी बस्ने अस्पताल मात्र भएको छ
यो दार्जीलिङ ! विसञ्चै-विसञ्चो पहाड़ हो
यो दार्जिलिङ ! समयको ज्वालाले भत्भती पोलेको
स्वस्थ्य जस्तो देखिने अस्वस्थहरू धाउने डिस्पेन्सरी मात्र हो
अचेल यो दार्जीलिङ ! एउटा ठूलो फार्मेसी मात्र भएको छ ।
आऊ प्रियवर कवि !
तिमीलाई म दार्जीलिङको
प्रत्येक गल्ली-गल्ली, गोरेटो र गल्छेंड़ो पनि चिनाउँछु
प्रत्येक मन्दिर, गुम्बा, चर्च र मस्जिद पनि घुमाउँछु
प्रत्येक कमान-बस्ती, हाट लाग्ने बजारहरू पनि डुलाउँछु ।
युगको ज्वालामा च्यातिन लागेको
दार्जिलिङको पुरानो ब्लूप्रिन्ट पनि देखाउँछु
युगको हत्केलामा कोरिएको
दार्जिलिङको हस्तरेखाहरू हेरेर
यो दार्जिलिङको भूगोलमा तिम्रो भाग्यरेखा बताउँछु ।
यो दार्जिलिङको मानचित्रमा तिम्रो हत्केलाको फाइल हेरेर
यो दार्जिलिङको वृत्तचित्रमा तिम्रो अवस्थिति पनि देखाउँछु
प्रियवर कवि ! तिमीलाई म,
युगको हत्केलामा दार्जिलिङको भाग्यरेखा पनि देखाउँछु ।
०००
दार्जिलिङ
Subscribe
Login
0 Comments
Oldest





































