श्रीकृष्ण शर्माम यस्तो धरामा उभिएको छु !
हो म यही ठाउँमा उभिएको छु जहाँ आमाको स्युँदो पुछेर होली खेलिरहेछन् आफ्नै सन्तानहरू अनि बाँचिरहेछन् महान् सुल्तानहरू !!
श्रीकृष्ण शर्मा :
विशाल धराको
छातीमाथि
दुवै खुट्टा
तनक्क तन्काएर
एक ब्रह्माण्ड
मस्तिष्क
रनक्क रन्काएर
दुई हात
फरक्क फैलाएर
म यस्तो ठाउँमा उभिएको छु
जहाँ
बालुवाका महल छन्
समस्याका हल छैनन्
वितृष्णाको सागरमा
खुसीभन्दा खिन्नता छ
दुष्ट
र इस्टको भिन्नता छैन
काला सडकमा
चिल्ला कार छन्
तर संस्कार छैन
जहाँ
सधैँ पूर्णिमा थुनेर
औँसी मडारिन्छ
सभ्यताको गला रेटेर
मानवता बढारिन्छ
हो
तिमी मलाई नसोध
कहाँ छौ भनी
म त्यस्तो ठाउँमा उभिएको छु
जहाँ
धन छ
मन छैन
बास छ
विश्वास छैन
आधुनिकताको ओढारभित्र
भट्किरहेका आत्मा छन्
महात्मा छैनन्
बन्दुके मनुवाका
मुखे नालमा
तातो गोली छ
मृदु बोली छैन
म ठम्याउँछु
मान्छे लक्ष्य चाहन्छ
तर उद्देश्य छैन
रङ्गिएको वर्तमान छ
तर भविष्य छैन
म देख्छु
अयोध्या छ
प्रिय राम छैनन्
कसरी भनूँ
यहाँ हर नेता
हराम छैनन्
दुर्योधनको चक्रव्यूहमा
निरीह द्रोणाचार्य
बन्दी बनिरहेछन्
हजारौँ रावण
एउटै लङ्कामा
कुस्ती लडिरहेछन्
मानिसजस्तै चित्र छन्
तर चरित्रविहीन
हो
म यही ठाउँमा उभिएको छु
जहाँ
आमाको स्युँदो पुछेर
होली खेलिरहेछन्
आफ्नै सन्तानहरू
अनि बाँचिरहेछन्
महान् सुल्तानहरू !!
०००
पोखरा
Subscribe
Login
0 Comments
Oldest





































