श्रीकृष्ण शर्माबितन्डाका जुलुसहरू !
अब युगले नयाँ गीत गाउँदै छ अक्षौहिणी सेनाका साथ श्रीकृष्णको बितण्डे सुनामी आउँदै छ अर्को बनेर बितन्डाको जुलुस !!
श्रीकृष्ण शर्मा :
आचार
विचार
र शिष्टाचार
अनैतिकताको
सिलौटामा
लसक्क पिसेर
मुटु नै
चसक्क पार्ने
पिरो चटनी चाट्ने
आफ्नै बकवादका लागि
अनेक तानाबाना बाट्ने
कामको फण्डा
यही हो बितण्डा
भित्री इच्छामा
बितण्डा
मागेको भिक्षामा
बितण्डा
हुँदाहुँदा
कोपिलाको
शिक्षामा बितण्डा
ब्वाँसाले
मृगको कलेजा
चरक्क च्यातेझैँ च्यातिन्छन्
देशका झन्डा
यही हो बितण्डा !
देखाएर
विदेशीका डन्डा
तरर्र चुहिएको
चेप्टे
चुच्चे
थेप्चे नाक पुछ्दै
दमाहाझैँ
टन्केको
हाँडीघोप्टे
भुँडी
थप्थपाउँदै
यी निम्छरा नेता
अनेक तिकडमको
खेलमा
काण्डैकाण्डको भेलमा
सोझासिधा
कोचेर जेलमा
सडकमा
जनतालाई
नुन
र कानुनको
सकसमा थुनेर
महङ्गीको शूलीमा उनेर
गर्छन् सयौँ किलो
सुनको अंशबन्डा
र त हुन्छ
जनताको
प्रगति
प्रतीक्षामा
कुहिएको अन्डा
हो यही हो बितण्डा!
देश
दुःखेको बेला
आकाश
झुकेको बेला
हिमाल
लुकेको बेला
जनताका
ओठतालु
सुकेको बेला
विश्वले
सदनलाई
आतङ्ककारीको
ग्याङ भन्दै
थुकेको बेला
ए, नेताहरू हो
तिमी !
जनताको
कर भुलेर
गाँसबास
र कपास लुछेर
संसद् भङ्ग गर्दै
फाल्तु तर्कवितर्कमा
दङ्ग पर्दै
फोर्दै छौ
रातारात
कालो धनको हण्डा
हो
यही हो बितण्डा!
देशमा
धार लाउन
सङ्कटबाट
पार लाउन
अब बन्नु छ
एक रन्डा
कसैले भन्दैन
सबै भएका छन्
मानसिक खोरन्डा
मस्तिष्कीय
पक्षघातको
सिकार यी नेता
के जातिको
झिँगाजस्तै
चुस्न
जानेका छन्
जहाँ फाइदा छ
उही
घुस्न जानेका छन्
अब
छद्म रूपहरूलाई
नङ्ग्याउनु छ
नेपाल आमाका
यी लेन्डुपहरूलाई
हिजोसम्म
तिमीले मच्चायौ
बितण्डाका जुलुसहरू
अब
हामी मच्चाउँछौ
ए सफलमाथिका
असफल नेता हो
तयार हुनू
झिल्के बाँदरझैँ
नचाउँछौँ
बोर्डर पार नगर्दै
हातमा
विदेशीलाई
नागरिकता थमाउने
यो कानुन सँच्याउँछौँ
आमाको रगत
पिउने
विनाधन्दा जिउने
ए लामखुट्टे!
होस गर
अब आउँदै छ
बितण्डाको जुलस
अनि निरीह
पात बनेर
मडारिने छौ
हिजोका तिम्रा
बालुवाका महल
अब
धोबी बगरझैँ
बढारिने छौ
किनकि
अब
युगले
नयाँ गीत
गाउँदै छ
अक्षौहिणी
सेनाका साथ
श्रीकृष्णको
बितण्डे सुनामी आउँदै छ
अर्को बनेर बितन्डाको जुलुस !!
०००
पोखरा
Subscribe
Login
0 Comments
Oldest






































