भगवतीप्रसाद शर्माहाम्रो भाषा
पैसा भए पुग्यो आज त्यतै हिँड्दछ सन्तति साहित्य कसरी बाँच्छ हुँदैन यो समुन्नति। सारा कमाउ धन्दामा आमालाई सताउँदै बुद्धि बाँझो भयो हाम्रो यस्तै हेर्दै रमाउँदै ।

भगवतीप्रसाद शर्मा :
लौरो लाएर नेपाली,भाषा हुँदैछ दण्डित
उचाइ कसरी छोला भनी देऊ न पण्डित ।१
पैसा खर्चेर आफैंले आफ्नो शिर कटाउने
अहिले दुःख मानेर पण्डित पछुताउने ।२
नेपाली मूर्ख जाति हो आफ्नो शिर चढाउने
सीमा नै तुच्छको छैन आमा बेची कमाउने।३
लेखे साहित्य पढ्दैनन् अङ्ग्रेजीले सताउँदा
मुखमा माड लाग्दैन भन्छन् यो ता हटाउँदा ।४
मूर्ख छन् बुद्धिजीवी नै त्यस्तै खाले प्रशासक
त्यस्तै शासन गर्ने छन् छैनन् है शुभचिन्तक ।५
भाषामा हमला गर्दै हामी लाग्छौँ कमाउन
जस्तो वृक्ष त्यही फल्छन् युग लाग्यो रमाउन ।६
नेपाली पूर्ण बोलेमा आमाबाबु पिटाउने
यो भाषा कसरी बाँच्छ मिले मात्रै बचाउने ।७
पैसा भए पुग्यो आज त्यतै हिँड्दछ सन्तति
साहित्य कसरी बाँच्छ हुँदैन यो समुन्नति।८
सारा कमाउ धन्दामा आमालाई सताउँदै
बुद्धि बाँझो भयो हाम्रो यस्तै हेर्दै रमाउँदै ।९
अमेरिका सबै जाने डलर नै कमाउन
आमाबाबु यही रोज्छन् छैनन् लाग्ने बचाउन ।१०
०००
खोटाङ
Subscribe
Login
0 Comments
Oldest







































