भगवतीप्रसाद शर्मायी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
आधार वृद्धजन हुन् युगका मुहान यस्ता प्रसिद्ध जनको गर भक्तिगान मानौँ सधैँ परम पूज्य दया निधान यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।

भगवती शर्मा :
सम्मान वृद्धजनको गर पुत्र-नाति
कर्तव्य बोध नहुँदा पछि दुख्छ छाती
पुर्खाहरू भुवनका बुझ जूनघाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।१
सक्दा गरे असल काम समाजलाई
सेवा गरौँ न अहिले सबले रमाई
दायित्वबोध गर चल्छ सदा सुनाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।२
आराम छैन कहिल्यै नसुती नखाई
सम्पूर्ण जीवन दिए परिवारलाई
हुन् ज्येष्ठ नागरिक नै इतिहास सान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।३
सत्कार आदर गरे सुख मिल्छ भित्र
यो जिन्दगी यति भए मनमा पवित्र
सत्पात्र वृद्धजन ईश्वरका समान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।४
आधार वृद्धजन हुन् युगका मुहान
यस्ता प्रसिद्ध जनको गर भक्तिगान
मानौँ सधैँ परम पूज्य दया निधान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम।५
०००
खोटाङ
Subscribe
Login
0 Comments
Oldest








































