बुढ्यौली
लाग्दैन मस्त निदरी जिउ भो खटेरो । बोल्यो कि दिक्क घरका किन छन् अँधेरो । चढ्ने र ओर्लनु सधैँ कति खुड्किलामा । ती मान्यता बदर छन् दुइ चुट्किलामा ॥
भगवतीप्रसाद शर्मा :
थारो न छन् न दुहुनो खिर खान खोज्छ ।
जाडो भए अनलछेउ सिरान रोज्छ ।
गर्मी हुँदा बदन शीतल ठाउँ रोज्छ ।
बूढो शरीर किन हो निहुँ मात्र खोज्छ ॥
डाँको ठुलो छ मुखमा घरमा करायो ।
बूढाबूढीबिच सधैँ झगडा गरायो ।
मेरा कुरातिर न सन्तति ध्यान दिन्छन् ।
बूढो शरीर किन हो शव झैँ बनायो ॥
बस्दैन बालक युवा किन छेउ आई ।
कस्तो छ ज्यान अहिले न त सोध्छ धाई ।
बूढो भयो दिनदिनै घरकै पराई ।
कस्तो अचम्म ननिको किन हो मलाई ॥
लाग्दैन मस्त निदरी जिउ भो खटेरो ।
बोल्यो कि दिक्क घरका किन छन् अँधेरो ।
चढ्ने र ओर्लनु सधैँ कति खुड्किलामा ।
ती मान्यता बदर छन् दुइ चुट्किलामा ॥
यो जिन्दगी सहज छैन हरेक ठाउँ ।
पोल्दैछ भित्र मुटुमाझ गढेर घाउ ।
पालो घुमेर सबको पछि आउने हो ।
मेटेर मेट्न नहुने बुझ जिन्दगी यो ॥
०००
खोटाङ
Subscribe
Login
0 Comments
Oldest