साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिएकालाई गोडाको सकस !

अवस्था हेरेर पाका मान्छेबाट कामको आश गर्नु र दैनिक सेवाशुश्रूषामा परिवार सदस्यहरूले ध्यान दिनैपर्छ । ज्ञान र अनुभवका खानी पाका मान्छेहरू जतिवर्ष बाँच्छन् त्यतिवर्ष संरक्षकको उज्यालोले घरपरिवार र समाजलाई फाइदानै हुने अवसर चाँडै गुमाउन कसैले चाहन्नन् ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

मानिसको सबै उमेरसमूहलाई शारीरिक-मानसिक क्षमता तन्दुरुस्त तथा क्रियाशिल राखिरहन दैनिक खानामा उचित मात्रामा प्रोटिन, चिल्लो, कार्वोहाइड्रेट र पानी आवश्यक हुन्छ । कुनै पनि खाद्य वस्तुमा त्यस्ता पदार्थहरू सबै नहुन सक्छन् वा कम बढी हुन सक्छन् । त्यसैले हरेक पटकको खानामा अनुमानित सन्तुलन गरेर खानाका प्रकार र मिश्रित खाना रोज्दै व्यायाम नियमित वा शारीरिक परिश्रम भएमा समस्या नहुने सम्भावना रहन्छ । कामको अवधिमा सबैभन्दा बढी चाहिने पदार्थमा प्रोटिनयुक्त खाना सबै उमेरसमूहलाई नियमितनै चाहिने विज्ञहरूको भनाई छ । प्रतिदिन बिहानीको खानामा कुखुरा-हाँसको बढी उमालेको फुल, स्ट्रबेरी, ऐँसेलु, चुत्रो, काफल, किम्बु अमला, जामुन, फँडिर जस्ता मौसमी ताजा फलहरू, काँक्रोका टुक्रा, स्थानिय गोठको चिज, भित्रीभाग खाने ओखर जस्ता मसलाहरू खाएमा प्रोटिन पाइने अंश धेरै प्रतिशत हुनाले शरीरलाई निकै फाइदा पुग्छ । खानामा पर्याप्त प्रोटिन पाउनाले अस्थिपञ्जर, हाड, मांसपेसी, छाला निर्माण तथा मर्मत-सम्भार गर्ने साथै अङ्गहरूको उचित सञ्चालन भई हाम्रो शरीरले भनेजस्तो काम गर्न सक्छ ।

बालबालिका, किशोरकिशोरीलाई शारीरिक वृद्धि र विकासकोलागि प्रोटिन अति आवश्यक छ भने जीवनभरिनै हाम्रा कोश तथा तन्तुहरूको मर्मत-सम्भारमा मद्दत पुर्‍याउन प्रोटिन नभई हुन्न । उमेरिँदै जाँदा पर्याप्त प्रोटिन साथमा नियमित व्यायाम नभए सर्कोपेनिया भन्ने मांसपेशी घटदै र तिनको कामगर्ने शक्ति हराउँदै जाने प्राकृतिक उमेरजन्य समस्या सुरु हुन थाल्दछ । खानाकै प्रोटिनले गर्दानै लामो समय फूर्तीसाथ कामगर्ने बल खर्च हुनाले शरीरको तौल नियन्त्रण हुन्छ साथै बढी प्रोटिन खानामार्फत पाएकाले मांसपेशी निर्माण र खानाको रुचि पनि भइरहन्छ । यही अप्रिल २०२४मा हार्वाड स्वास्थ्य प्रकाशनका लिड्से वार्नरको लेखलाई हावार्डकै मेडिकल प्रकाशन सम्पादक डा. होवार्ड लिविनले लेखको शुद्धाशुद्धि हेर्दै केही तथ्य थपेका छन् । उनले स्वास्थ्यको लागि यति महत्वको प्रोटिन नियमित दैनिकरुपमा कति भोजनमा हुनुपर्ला भनेर सुझाएका छन् ।

हरेक मानिसलाई आआफ्नै उमेर, कामको किसिम र महिलाहरूमा गर्भिणी तथा स्तनपान गराउँदै रहेकी आमा आदिको स्वास्थ्य अवस्था हेरेर प्रोटिनको मात्रा बढाउनु वा घटाउनु पर्छ । सामान्यतया एउटा स्वस्थ मान्छेलाई आफ्नो शारीरिक तौल जति किलो छ त्यसलाई ०.८ ग्रामले गुणागरि प्रतिदिन चाहिने प्रोटिनको मात्रा निकाल्न सकिन्छ । जस्तोः कुनै मानिस ४० किलोको ज्यान भएको छ भने उसलाई ३२ ग्राम प्रोटिन चाहिन्छ र चाहिने मात्रा प्रतिदिन गर्भवति र स्तनपान गराउने महिलालाई थप शक्ति खर्चनु परेकाले प्रोटिन भएका खानाको दैनिक आपूर्ति बढी लिनु पर्ने हुनुपर्छ । त्यसैले सुत्केरी आमाहरूलाई सजिलै पच्ने र पोषणयुक्त, रसिला खाना दैनिक तिन पटक ख्वाउने चलन सबै समुदायमा छ । पाका मान्छे, बिरामी वा थलापरेका छन भने पनि शरीरमा प्रोटिनको अभाव भई कमजोरभएका जो कोहिलाई परिपुरक पदार्थको रुपमा तागतिलो ओखती र प्रोटिनयुक्त खाद्य पदार्थहरूको मात्रा थप्नु पर्ने पनि हुनसक्छ ।

स्वस्थ गोडाहरूः
गोडाहरू र सम्बन्धित कम्मरसम्मका अङ्गहरू स्नस्थ रहनु भनेको पाको उमेरमा पनि उत्तिकै सक्रिय र वयस्क उमेरमाझैँँ बलियो तथा कुनै समस्या नभएको हुनु हो । हार्वाडका चिकित्सकहरूले सयौँ लेखहरू मार्फत् हामीलाई चलायमान गराउने गोडाका दर्जनौँ समस्याबारे तथ्यगत निरोपण गरेका छन् । हिँडने ढङ्ग, हरेक पाइलाका गति र कहाँ के हुँदा समस्या देखिने तथा उपचार अनि रोकथामका विधिहरूसमेत सबैलाई जानकारीमुलक तरिकाले प्रष्ट्याएका छन् । चौधौँ शताद्विका विश्वप्रसिद्ध फ्रान्सका चित्रकार लियोनार्दो द भिन्सी गोडाहरू बारेमाः ‘मानवका गोडाहरू प्रविधि निर्माणका अभियन्ता (इन्जिनियरिङ्ग) तथा कलाकारिताको उत्कृष्ठ नमुना हुन्’ भनी बडो सटिक र महत्वपूर्ण भनाई राखेका थिए । उनको भनाईले मानिसको विकासनै जीवहरूको उत्पत्तिको क्रममा पछिल्लो तथा अति विकसितरूप हो ।

चारखुट्टे प्रजातिसम्म रहेका वनमान्छेबाट विकसित दुईखुट्टे रूपमा मानवको विकास जैविक विकासको उच्चतम उपलब्धि हो । त्यसैले गोडाको हेरविचार र मर्मतसम्भार नियमित गरेमा त्यसबाट हुनसक्ने समस्याहरूका कारण पीडित नभई सरल तरिकाले गतिविधि गरिरहन सकिन्छ । त्यसैले बसेको, सुतेको ठाउँबाट उठन, पाइला चाल्न, नलडिकन हिँडन, दौडिन, भर्‍याङ र पहाडमा उक्लन, ओर्लिन, साथीभाइसँग नाच्न, आदि गतिविधि सक्रियतापूर्वक पाको उमेरिएका अवस्थामा पनि अब्बल तरिकाले सकिन्छ । कतिपयलाई आफ्नो उमेरिएको लामो जीवनयात्रामा पाइताला दुख्ने, कठपाउ टन्किने, कुर्कुच्चामात्र दुख्ने, गोडाका औँलामात्र झन्किने हुनसक्छ । त्यस्ता पिडा सबैलाई हुन्छ भन्ने पनि छैन तर जस्लाई हुन्छ, उसले पाइला सार्न पनि नसकेको बिलौना गरिरहेका देखिन्छन् । यस्तो भएमा बाहिर चलखेल त के, घरमानैँ बस्न, उठन र कोठाचोटा गर्न पनि गाहारो हुन्छ । दैनिकी कुँजिएको जस्तो भई एकै ठाउँ डल्लिएर बस्नु परेको गुनासो पाकाहरूको बढि सुनिन्छ । केहीभाग बिग्रने र एकै ठाउँमा दुखाई बढेर जचाउन नगएसम्म भाग्यलाई सराप्दै ‘प्रारब्धको लेखान यस्तै रहेछ !’ भनि बस्ने मानिसहरू धेरै भेटिन्छन् ।

वास्तवमा गोडाले शरीरको सबै भारलाई थामेर र पाइतालाले गोडाकै थपतौल समेत थामेर शरीरलाई सन्तुलन गर्छ र हामी ठिकसँग कदम चालगर्न सक्छौँ । कम्मरदेखि तल जाङ, फिला, घुँडा, पिँडुला, कुर्कुच्चा र पाइतालासम्मका मांसपेशी तथा हाड-जोर्नीहरूको संयोजनमा सिमित दायराभित्र रहेर गोडा चलायमान भई हामी दौडने, दायाँ-बायाँ घुम्न फर्किने र असिमित उँचनिँच धरातलमा पनि हिँडडुल गर्न सक्छौँ । मानिहरूमा उमेरिँदै जाँदा त्यसैले गोडाका समस्या देखिनु कुनै नौलो समस्या होइन, स्वभाविकै हो । चिकित्सकहरूले जाँचपडताल गरेर भन्ने समस्यालाई तपाईं स्वकेन्द्रितभएर आफ्ना अङ्गहरूतिर प्राकृतिक अवस्था, चरित्र र फेरिएका परिवर्तन बारेमा ध्यानदिन थाल्नुभए आफैँलाई समस्या पत्तालगाउन गाह्राे हुने छैन । त्यसपछि जानेसम्म आफैँले हेरविचार गर्ने कारणको खोजीमा लाग्नुभए समस्याको प्रारम्भमै हल हुनसक्छ नभए त योग्य चिकित्सककै भर गर्नु पर्ने हुन्छ ।

खुट्टाको कुर्कुच्चा पाइताला दुख्ने र हिँड्नलाई चसचस् गरेर वा टन्केर गाह्रो हुन्छ भने प्लान्टार फास्सिटिस अथवा कुर्कुच्चाको बर्सीटिस भएको हुनसक्छ । बुढी औँलामा भित्रपट्टि हाडजस्तो कडा जोर्नीमा सुन्निएर हिँड्न अप्ठ्यारो भएमा हाड खिइएको रोग वा पहिलो जोर्नीमा असर गरेर ठेला उठेको वा खिलजस्तो हुन सक्छ । बुढी औँलाको फेदमा अनौठा खालको दुखाइ र छुँदा रन्किएको अनुभव हुने एकप्रकारको पीडा मोर्टन स्नायु रोगले र बाथले पिरोलेको हुन सक्छ । यस्ता पिडा असह्य र छुँदा समेत दुख्ने भित्री जोर्नीको सङ्क्रमण साथै नसा वा जोर्नीमा जोडन सघाउने नरम तर बलियो जोर्ती कुडकुडे चिप्लो तन्तुको कमजोरी कारणले हुन सक्छ । हिँड्न र पाइला उठाउन गाह्रो भएर गोलीगाँठा नजिक दुख्छ भने नलिखुट्टाको तल्लो भागको जोडने कुडकुडे तन्तुमा असर भएर कुडकुडे भागको कमजोरीले हुनसक्छ । शरीरको तन्दरुस्तीको कुरामा हातभन्दा पनि खुट्टालाई कम महत्व दिइन्छ र बढी चासो भित्र्याँस र टाउको तिरको समस्यामा हरेकले चिन्ताकासाथ हेरबिचार गर्दछन् । तर गोडाका कुनै नकुनै अङ्गहरूमा समस्या भएमा अनि अप्रत्यक्ष रुपमा लडेर र पछारिएर पुरै शरीरलाई हानी हुने वा मृत्यु नै हुने खतरा आउने सम्भावित खतरा बोधले मानिस बल्ल गोडाको हेरबिचार अति आवश्यक ठान्दछन् । केवल पाँच प्रकारका उपाय गर्ने हो भने हामीलाई गोडा सम्बन्धि समस्या घटछ र अनावश्यक दुख पाउने अनि पिडा तथा दुर्घटना खप्नुपर्ने हुँदैन ।

१. पाको उमेरमा नियमित बिहान र बेलुका बसेर खुट्टा सतहबाट सोझो उठाएर पुरै वा कुर्कुच्चामात्र घडीको चालमा उल्टो-सुल्टो घुमाउने गर्नाले गोडा सम्बन्धि दुर्घटना घटाउन मद्दत हुन्छ । कहीँ अलि टाढा हिँड्नु अगाडि बसिरहेकै ठाउँमा तयारीको लागि एकै ठाउँ उभिएर परेड वा कदम चाल गर्नुपर्दछ र गोडाका जोर्नी, मांसपेशी, नशाहरू तन्किने साथै फूर्तिला हुनथाल्छन् । उमेरिएर पाको हुँदा गोडालाई सुविस्ता हुने, गोडालाई कम दवाव हुने साइकल चढ्ने, पौडी खेल्ने जस्ता हलुका व्यायाम तथा गतिविधि मात्र नियमित गरिरहनु ठिक हुन्छ । यसमा आफ्नो मन खुसीले बिस्तारै गर्दा गोडाका जोर्नी र मांसपेशीलाई व्यायाम मनग्य पुग्छ तथा पाकालाई धपेडी पनि पर्दैन नभए घरभित्रै गोडाको व्यायाम हुने मेसिन राखेर दैनिक चलाए भइहाल्छ ।

२. शरीरले कम काम माग्न थालेपछि जीउ धर्मराउने र हिँड्न अप्ठ्यारो हुने हुनाले पाइतालालाई नदुखाउने नरम तुना लगाउन नपर्ने तथा तलुवा च्याप्पै बाटोमा टाँसिएर नचिप्लने रोज्नुपर्छ । सबै ठिक भए पनि तलुवाको मोटाई पातलो छ भने पुरानो जुत्ताको जिब्री वा नयाँ नरम गद्धार तलुवा थप्नु सहज र आरामदायी हुन्छ । जुत्ता लगाउनै बलगर्नु पर्ने र फुकाल्न बेरलाग्ने, हिँड्दा बेलाबेला सामान्य अल्गो होचोमा ठोकिने बान्कीको नलगाउनुनै सुरक्षित रोजाई हुन्छ । पुरानो जुत्ताको दोष नयाँ किन्दा नहोस् भनि किन्ने पसलमा साहुलाई भनेर दशबिस कदम हिँडने कुरागरी हिँडेर पारख गर्नुहोस् ।

३. गोडाका छालाको सुरक्षामा पाइतालाको स्वस्थता महत्वपूर्ण पाटो भएको बिर्सनु हुन्न । उमेर बढ्दै पाको हुँदा र जुत्ता सधैँ नछोड्नेका पाइताला पातलो हुँदै सुक्खा समेत हुन जान्छन् । त्यसैले बेलाबेला र नुहाएपछि त छालाको आर्द्रता कायम राख्न र सुक्खापन हटाउन, छाला फुट्न र सेता कत्लाजस्ता ननिस्कियोस् भनि तेल दल्नु आवश्यक हुन्छ । चरचरी फुटेर धाँजा परेका पाइताला र खरानी उडेका गोडाका छाला पीडा दिने त हुन्छन् नै त्यसो भएमा सुक्ष्मकिटाणुको सङ्क्रमण गराउने मुख्य कारण हुनसक्छ । गोडाले भुइँमा छुने भएर जमिनका परजीविको शरीरभित्र पस्ने सरल माध्यम भएको बेलैमा बुझिराख्नु वेश हुन्छ । खास गरेर कुर्कुच्चा कडा हुने भएकाले फुट्ने पनि बढी हुन्छ भने त्यसलाई नरम बनाउन कोशिश गर्नुपर्छ । त्यसको उल्टो गोडाका औँलाहरूका बीचका कापहरू जुत्ता लगाउँदा सधैँ जोडिने अवस्थामा हुने भएकाले र मोजासमेत थपिदा हवा चलखेलमा बाधा परेर रसिलो हुनसक्छ । सुक्खा हुनु जरुरी भएको ठाउँमा धेरैबेर ढाकिँदा र त्यस्तो भाग सुक्खा हुँदैन तथा विभिन्न किटाणुको सङ्क्रमणले सेतो भई पिचपिचे तरल आई गन्हाउने हुन्छ । हाम्रो गाउँघरमा त्यसलाई हिलोले खाएको भन्छौँ तथा सुक्खा बनाउन खोयाको धुँवा लगाउने, बेसार दल्ने र लहसुन किचेर राखी सुक्खा पार्न खोज्छौँ । शहर बजारतिरकाले ढूसी विरोधी मलहम प्रयोग गर्ने वा आयोडिन कपासमा भिजाएर प्रयोग गर्ने गरिएको देखिन्छ । कसैकसैले सञ्चो झोलले भिजेको कपास औँलाका कापमा राखेर राति सुत्ने र गोडाका काप ओढनी बाहिर हवामा पारी सुक्खा बनाउने गरेको पनि देखिन्छ ।

४. हातको नङको तुलनामा खुट्टाका नङहरू कडा हुन्छन् भने बुढी औँलाको त साह्रै कडा र ठूला हुन्छन् । धेरैले राम्रो हुन्छ र जमाना अनुसार खातापिता देखाउने भनि नङमा विभिन्न पालिस लगाउँछन् तर शुद्ध हावाबाट वञ्चित हुने भएर धेरै दिनपछि विशेष गरी गोडाका औँलामा रङ खुइलिएपछि नङहरू पहेँला देखिन्छन् । यसो हुनुमा शुद्ध हावा खेल्न नपाएको असर र पालिसको रासायनिक पदार्थ, रङ्गिन झोलको कुप्रभावको कमाल हो । यस्तो हुनलाई रोक्न पालिस लगाउनेले एक हप्तामै हटाई केहीदिन नङलाई हावामा श्वास फेर्न दिनुहोस् र फेरि प्राकृतिक रङमा नङ फर्किएपछि फेरि मनलागे लगाउनु होस् ।

५. सामान्यतया पूरा शरीरको स्वास्थ्यलाई मजबुत बनाइराख्न पौष्टिक खानेकुराको आवश्यक्ता हुन्छ नै, पुरा गोडालाई राम्रो अवस्थामा राख्न पनि गतिलो खानपानले प्रोटिनयुक्त समस्या नल्याउने हुनैपर्छ । नत्र ‘गोडा बसे, चल्दैनन्, पाइलो सार्न गाहारो, चाँडै थाक्छन’ भनि हिँडडुलको कमीले कतै जानबाट बञ्चित भई पुरा शरीर रोगी बन्दै जान्छ । यसले भनिएको ठाउँमा पुगेर रमाइलो गर्न, ज्ञान आर्जनगर्न, शुभेच्छुकलाई भेटन जान वर्षाैँ लाग्ने र नभेटी आफू अन्तिम अवस्थामा पुगिने सम्भावना रहन्छ । त्यसैले पाकालाई हुने गोडाका समस्या र रोकथामको उपचार विधिबारेमा हार्वाड मेडिकल स्कूलले उचित प्रचार गरेको छ ।

मांसपेशी बाउँडिनेः
गोडाका धेरै भागमा रहेका बलिया मांसपेशीहरूले विभिन्न जोर्नीहरूलाई मनोवाञ्छित काम गराउन मद्दत गरिरहेको हुन्छ । यी मांसपेशीहरू मसिना रेशाहरू मिलेर मुस्लाजस्तो हरेक कामकालागि अलग-अलग हुन्छन् । ति तन्तुका मुट्ठाभई गोडाको बिभिन्न तन्किने र खुम्चिने गतिविधिमा आलोपालो गरी मद्दत पुर्‍याइरहेका हुन्छन् । प्राय सबैजसो मानिसले कमजोरी हुँदा वा बढी हिँड्ने काम गर्दा पिडौंला फर्केको र बाउँडिएको गुनासो गर्छन् । उमेरिएका पाका मान्छे सिमित परिश्रममा पनि पिडौलामा कैँडा लागेको तथा मांसपेशी असह्य दुखेको भनी मासु डल्लो परेको देखाई माडिदिन आग्रह गर्छन् । कैँडा लाग्ने मानिसले चाहेर होइन, नचाहिकन आफैँ हुने अनैच्छिक प्रतिक्रियास्वरुप यस्तो हुनगएको हुन्छ । गोडाका माँसपेशी बाउँडिन र कामेर पिडुलामा डल्लोबनी धेरैको विशेषगरी पाका र अति सक्रियहरूमा यो समस्या भएको पाइन्छ ।

यो समस्या अति परिश्रम गर्ने मान्छेहरू, खेलाडीहरू र मजदूरहरूमा पनि हुन्छन् भने शारीरिक कमजोरी भएका पाका मान्छे पहिलेको तुलनामा अहिले कम कामगर्ने, व्यायामको सट्टा सधैँँ आराममात्र गरिरहने भएकालाई पनि हुन्छ । गोडाका पिडुला र तिघ्रा काम्ने वा माँसपेशी डल्लोपर्ने यो बाउँडिने समस्यालाई चार्ले हर्स भन्ने नाम अङ्ग्रेजीमा पाइन्छ । यो नामको उत्पत्तिको नामाकरण सन १८८० ताकाका प्रसिद्ध बेसबल खेलाडी चार्ली होस् रडबोर्नसँग सम्बद्ध छ । उनि निकै सिपालु र अब्बल दर्जाका हुँदाहुँदै पनि उनले बारम्बार खेलकै बिचमा पिडुला कडासँग बाउँडिने भएर दुख पाएकोमा पनि नामुद भएका थिए ।

बाउँडिदा मासुको डल्लो कतिपय मान्छेमा एकछिन हुन्छ भने अरु कतिपयलाई घण्टौँ भइरहने भएर ज्याननै शिथिल बनेको अनुभूति हुनसक्छ । कतिपय उमेरिएका पाकामा दिउँसो भएर गनगन गरेको सुनिन्छ तर धेरैलाई राति निदाइरहेको अवस्थामा शरीरको कुनै पनि भागमा क्षणिक बाउँडिएर मस्त निद्रानै बिथोलिने हुन्छ । गोडाका मांसपेशीहरूको शङ्कुचनबाट बाउँडिने क्रिया अति दुख्ने, छिनछिनमा भइरहने र धेरैबेर रहन जाने क्रममा विविध समस्या देखापर्न सक्छ । पिडा अतिहुँदा हाड भाँच्चिने, मांसपेशी च्यात्तिने, जोर्नीका जोडाई तन्तु खुस्किने र पछि गएर हाड खिइने, हाडेबाथ हुने, बाहिरी स्नायुजन्य रोग र भित्र्याँसका रोगहरू बढन सक्छन । पाका मान्छेको शरीरमा गोडामामात्र होइन कुनै पनि अङ्गहरूमा बाउँडिएर दुखदिन सक्छ । हेर्दा सामान्य मांसपेशी बाउँडिने समस्या भने पनि यसले गर्नसक्ने नकारात्मक प्रभावमा असाद्ध्य रोगहरू ब्युउँताउने भएर पाका मान्छेलाई बेलैमा उपचारमा खेलाँची नगरी लग्नुपर्छ । यो समस्याभएका उमेरिएका बाबुआमाका छाती, ढाड, पेट, हात र गोडामा समेत हुनाले रात-बिरात उहाँहरूलाई निकै कष्ट भएर सुत्नु न उठनु पारेकोमा परिवारलाई विशेष आपत पर्न सक्छ ।

मांसपेशीहरू बाउँडिनुमा कहिलेकाहीँ खासै कुनै कारण देखिन्न भने हुन लागेको पूर्वसूचना पनि अनुभूति हुन्न । कतिपयलाई धेरै समयको अन्तरालमा फेरि देखि व्यायाम वा कडा परिश्रम गर्न थालेमा वा साह्रै गर्मीमा बढी शारीरिक श्रम गरेमा छिटै बाउँडिने हुन्छ । त्यस्तो अवस्थामा शारीरिक पानीको निर्जलीकरणभई माँसपेशीहरू अति थाक्ने र ज्यादै उत्तेजित हुन्छन साथै सुम्ला उठेकोझैँ बाउँडिँदै जान्छन् । शरीरभित्र खानाबाट प्राप्त हुने नुन र पोटासजस्ता तत्वहरूको कमी भएर मांसपेशीलाई पूणर्तया आराम हुन नपाएर बन्देज लागेकाले बारम्बार बाउँडिने हन्छ । यस्तो मांसपेशीको बाउँडिने खतरा गर्भधारण गरेकी महिलालाई शायद रक्तसञ्चारमा परिवर्तन भएर र पेट बढ्दै गएपछि मांसपेशीमा दबाव परी उत्तेजितभएर हुनसक्छ । अति बढी कडा रूपले दुखाई बेलाबेला बल्झिरहने हुँदा भने बाउँडिएको माँसपेशीलेगर्दा शरीरनै शिथिलभई लाटो मासु हुनजान्छ । कहिलेकाँही हुने अतिकडा बाउँडिने भएमा यसले मेरुदण्ड, रक्तनली र कलेजोका समस्या भएको पनि सङ्केत गर्न सक्छ ।

जीवनका मध्यकालमा र त्यसपछि अर्थात पछिल्लो वयस्क बेलादेखि पाको उमेरका विभिन्न चरणमा बारम्बार मांसपेशी बाउँडिनुमा उमेर वृद्धि अर्को समस्याको कारण हुनसक्छ । पुरानिएका मांसपेशीहरू चाँडै, सजिलै थाक्ने र निर्जलिकरण हुनलाई उत्तेजित हुन अग्रसर हुन्छन् । कहिलेकाहीँ बढी कोलेस्टेरोल नियन्त्रण गर्नलाई प्रयोग हुने स्टाटिन जस्ता ओखतीको नकारात्मक दुष्प्रभावले मांसपेशीहरू डल्लोहुने र बाउँडिने हुनसक्छ । मांसपेशी बाउँडिदा सामान्य घरगाउँकै तरिकाले तेलमालिस बिस्तारै गर्दा पनि निको हुन्छ भने अँडेरीको तेलले दुखाई निक्कै कमभई फेरि पहिलेकै अवस्थामा पुग्न सकिने अनुभविका भनाई छन् । त्यस्तै, रबडको तातो पानी हालेर सेक्ने थैलोले सेक्नाले उत्तेजित भएका माँसपेशी बिस्तारै नरमभई बाउँडिन छोड्छ भने थैलो नभए सिसी वा तातो पानीमा डुबाएको टालोले च्याप्पच्याप्प डल्लो परेको ठाउँमा सेक्नाले पनि आराम हुनसक्छ ।

हार्वाड मेडिकल स्कूलको खुट्टाको दुखाइको उपचारबारेको विशेष रिर्पोटमा बिस्तृत सावधानी लिन सकिने जानकारी गराउँदै गोडाका विभिन्न भागमा हुने बाउँडिने वा माँसपेशी फर्किने समस्याभएमा व्यायाम वा गर्मीमा हिँड्नु अघि पछि प्रशस्त झोल पदार्थ वा पानी पिउनु फाइदाजनक भएको जनाइएको छ । मांसपेशीलाई हरेक काममा खुम्चिन-तन्किन शक्ति चाहिन्छ, त्यसअनुसार गर्न झोलिलो खानेकुरा खान जोड गर्न भनिएको छ । हरेक गतिविधिको प्रयासमा कामगर्नु अघि खुट्टाका मासु फर्किनबाट रोक्न तयारीस्वरूप एक छिन बसेकै ठाउँमा कदमचाल गरी तताउनु पर्छ । हरेक काम पछि गोडाका मांसपेशी केही मिनेट तन्काउने र खुच्याउने गरेमा हिँडाइमा अप्ठ्यारो पर्दैन । राति निद्रामा मांसपेशी फर्किने समस्या भएका मान्छेले ओछ्यानमा पल्टिनुअघि जिउ तन्काउने, खुम्च्याउने व्यायाम गरेमा मांसपेशी फर्किने तथा सुम्लापरी गाँठोपर्ने कम हुँदै जान्छ ।

नेपालको चलनः
नेपालमा पछिल्लो कालखण्डसम्म धेरै काम गर्ने वयस्क वा उमेरिएका पाका मान्छेलाई प्राय दिनभरिको चलखेलबाट थकान कमगर्न साँझको खानापछि अगेनाको नजिक बसी मनतातो पानीले अग्रजहरूको गोडा धोई तेल लगाइदिन किसोरकिसोरीको प्रतिस्पर्धा नै हुन्थ्यो । एजिङ नेपालका अध्यक्ष श्री कृष्णमुरारी गौतम भन्नुहुन्छः ‘यो प्रक्रियामा घुँडासम्म धोई पखाली र मालिस गरिने गरिन्थ्यो । यस्तो कार्यले पिडुला र पाइतालासम्म निकै आराम हुने, गोडामा रक्त सञ्चालन देखि नसा तथा मांसपेशीको व्यायाम भई स्फूर्ति तरोताजा हुन्थ्यो । थाकेका अङ्गमा बाहिरमात्र होइन मालिसले भित्रसम्म असरगरेकाले शरीरलाई थामेर चलखेलगर्ने गोडा मजबुत हुनको साथै भोलिपल्ट पुन काममा लाग्न गाह्रो हुँदैन थियो ।’ हिजोआज यस्तोलाई सामन्ती चलन भन्दै परिवारमा हार्दिकता घटेर बरू रसायनयुक्त दुखाई कमगर्ने विभिन्न ओखति खाने वा कसैकसैलाई थकानले निद्रा नलाग्ने भनि निद्रा लाग्ने ओखतिसम्म खाएर मिर्गौला समेत बिगारेका देखिन्छन् । कतिले हप्ता दुई हप्तामा मालिसगर्ने व्यापारिक संस्थामा गई जिउको सम्पूणर् भागको मालिस गराउनेनि अचेल चलन बढेको छ । त्यहाँ दुखाइ कमगराउने रासायनिक साथै जैविक पदार्थको तेल लगाएर मालिस गरिने भएकाले शरीरमा असजिलो घटने र एक किसिमको शारीरिक व्यायाम भएर पिडा निकोभएको भनिन्छ । बाहिरियाको पैसाको भरमा गरिने मालिसमा बजारी स्वाथ्र्य त पुरा हुन्छ र जीउमा सञ्चोपनि होला तर आफन्तले स्नेहपूर्वक गरेको तेल मालिसको मूल्य कसैले तोक्न सक्ला र ?

आयुर्वेदीय ओखतीमा धेरैजसो सामान्य भनिएका वनस्पतिका पात, फलफुल र जरासम्म ओखतिजन्य हुने भन्दै प्रयोग गरिएको पाइन्छ । उदाहरणमाः बिग्रिएको जग्गामा उम्रिएका अडेरीको बियाँको भ्रातादी तेल मालिसले हरेक पिडालाई कम गराएको भनी शरीरको बाहि र मालिस गरिन्छ । रासायनिक ओखतीले तुरुन्तै पिडा निकोभएको आभास त हुन्थ्यो तर रसायनले दुरगामी नकारात्मक प्रभाव रहन्थ्यो भन्दछन् । त्यसैले आजकाल योग, ध्यान, व्यायाम र नकारात्मक प्रभाव गर्छ भनिएका रासायनिक ओखती भन्दा जैविक बस्तुले बनेका ओखतीमा बेफाइदा हुन्न भनि वनस्पतिजन्य ओखति प्रयोग गर्न उत्सुक भएका देखिन्छन् ।

अन्त्यमा,
शरीरलाई स्वस्थ राख्न मानिसहरूको हरेक पल सोच्ने तथा बाँच्ने तृष्णाले काम गरेर आफन्त र विश्वासिला मान्छेको सल्लाहमा ओखती खान तयार रहन्छन् । मानिसमा सबै उमेरकालाई थकाइ लाग्छ तर पाको उमेरकालाई शारीरिक कमजोरी वयस्कहरू भन्दा बढी हुनु स्वभाविक भएकाले थोरै श्रममा पनि बढी थाकिने हुन्छ । उमेरिँदा जतिसुकै स्वस्थ भए पनि वयस्कमा जस्तो शरीरभित्रका जैविक प्रक्रिया नहुने भएकाले पनि पाका मान्छे कमजोर हुन्छन् । त्यसैले सामान्य हिँडाइमा पनि नौ नाडी गलेको वा एक दिन हिँडे, काम गरे दुई दिन सुत्ने वा बिरामीनै पर्ने हुनसक्छन् । अवस्था हेरेर पाका मान्छेबाट कामको आश गर्नु र दैनिक सेवाशुश्रूषामा परिवार सदस्यहरूले ध्यान दिनैपर्छ । ज्ञान र अनुभवका खानी पाका मान्छेहरू जतिवर्ष बाँच्छन् त्यतिवर्ष संरक्षकको उज्यालोले घरपरिवार र समाजलाई फाइदानै हुने अवसर चाँडै गुमाउन कसैले चाहन्नन् । तपाईं हाम्रा सन्तान दरसन्तान कम विवेकी छन् र, किन उम्काउँथे यस्तो पवित्र र असल कार्य गर्न ?

०००
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x