साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्ग जाने गाडी

यसो सम्झिँदा यो मेरो जीवन त बोनसकै जीवन हो । यदि कुनै दिन अटो गियर लागेर गाडी रफ्तारले यमराजको द्वारतिर कुद्यो भने पनि आश्चर्य चाहि हुने छैन । अनि यो सत्य पनि हो ।

Nepal Telecom ad

अशोककुमार शिवा :

हामी जन्मँदै स्वर्ग जाने निश्चित गरेर गाडी लिएरै आएका हुन्छौँ । यसो भन्दा अचम्म लाग्ला कता आमाको पेटबाट गाडी लिएर आउनु नि ? नचाहिने कुरा । वास्तवमा कुरा नचाहिने नै हो तर सही पनि हो । कुनै गाडीले अटो गियर लगाएर चाडै स्वर्ग पुर्‍याउँछ भने कुनैलाई स्वयंले सानो सानो गियरमा चलाएर यात्रालाई लामो बनाइन्छ ।

बीचमा कहिलेकाहीँ अन्जानमा नै गाडीको गियरबक्स लुब्रिकेटिङ हुन जान्छ र गियर छिटो छिटो चढ्छ । कोही चनाखो भएर गियरडाउन गर्न भ्याउँछन् र रफ्तार कम हुन्छ नत्र त “राम नाम सत्य” भइहाल्छ । मलाई सम्झना छ, मेरो गाडी धेरै पटक रफ्तारमा दौडिएको छ । त्यसको मद्धत देशको प्रहरी प्रशासनले समेत गरेको थियो । विक्रम सम्वत् २०३७ साल चैत्र ११ गतेको रात करिब ९ः३० बजे एकहुल प्रहरी आएर घर घेरा हालेर सुत्न तरखरमा लागेको मलाई चौकी लिएर गए । प्रशासनको अगाडि हाम्रो के लाग्छ । त्यो पनि पन्चायती शासनको प्रशासन ।

त्यस रात चौकी छिरेपछि यति धेरै सम्मानका साथ चिसो भुईंमा बिना ओछ्यान त्यसमा पनि खुट्टामा गोरु नार्दा हलगोरुलाई लगाई दिने जुवा जस्तो तुरुंग ठोकेर बडो आनन्दले सुताईयो । यसरी सुत्नेमा म, इन्द्रकुमार श्रेष्ठ, रत्न लाबुंग र पर्शु कार्की थियौँ । म बाहेकका अरु साथीहरूलाई सोही रात पटक पटक गरी ल्याइएको थियो । कारण थियो चैत्र १४ गतेको विद्यार्थी आन्दोलन । हामी पर्‍यौँ विद्यार्थी नेता । बिहान एकपटक शौचालय जान तुरुंग खोलिन्थ्यो । सौच सकेर पुन सोही अवस्थाको सुताई । चैत्र ११ गते रातिबाट २०३८ वैशाख ८ गतेसम्म सोही प्रक्रियामा चिसोमा सुतियो । कहिलेकाहीँ यस्तो पिसाव चेप्थ्यो कि लौन सु आयो ट्वाइलेट लैजाओ भन्दा मुला हो तिमीहरूको घर हो सुत भोलि बिहानै लैजाउला भन्थे । रोकेर राख्नसक्ने कुरा भएन हामी पुलिसकै छालाको जुत्ता तानेर भरेर राखिदिन्थ्यौ । छालाले सु सोचेर लिने भएकोले हत्तपत्त त थाहा पाउँदैनथे तर गनाए पछि भने हाम्रो डडाल्नुले दुःख पाउथ्यो ।

दिन बिराएर डिएसपी कार्यालय लगेर कहिले भाटाले त कहिले सिस्नो पानीले त कहिले बुट सहितको लातले हाम्रो मसाज गरिन्थ्यो । सिस्नोको मसाज भेटेको दिन बाट करिब तीन दिन जिब्रो पररर गरेर केही खान मन लाग्दैनथ्यो । त्यो बेला लागेको थियो स्वर्ग जाने गाडी कुद्यो अब तर कसो कसो ब्रेक लगाउन सफलता मिल्यो । बिकम पास गरेको डिएसपी थिए हामी जाबो एसएलसीको ब्याक दिएका । ए पख्नु है एसएलसीको ब्याक दिएको म मात्रै थिए कि के हो ? ब्याक पनि किन नलागोस् १६ वर्षे जवान त्यो पनि भरखर नयाँ गिटार हात लागेको । एकातिर विद्यार्थी नेता अर्कोतिर टपरटुईंया गायक न कतै सिकेको न केही, मेजर र माइनर कडमा मात्रै गीत गाइन्थ्यो । जिल्लामै गिटार मसँग र माधव प्रधान दाइसँग मात्रै थियो । अनि त भइहालियो नि ठूलो कलाकार । रायन र जेबि टुहुरे दाइहरूको गीत गाउँदै हिँडिन्थ्यो अनि प्रशासनले के सहन्थ्यो ।

हामी राष्ट्रिय मान्छे पनि अराष्ट्रिय तत्व (अत) भएका थियौँ । धेरै ठूलै पो भइयो कि भनेर नाक त्यसै त ठूलो झन् फुलाइन्थ्यो । २८ दिनको रिमाण्डकै क्रममा एकदिन खुफिया समाचार आयो कि हामीलाई हातहतियार खरखजाना पुर्‍याउने निँहुमा कतै अर्को जिल्ला लगिँदैछ । यो कुरा शहरभरि खुफिया तरिकाले नै फैलाइयो र प्रशासनको त्यो मकसद रोकियो । नरोकिएको भए कतै बाटोमा लगेर तारो हानिथ्यो । आम्मा हो‘ आज ४४ वर्ष भैसक्ने थियो “राम नाम सत्य” भएको धन्न गाडिको गियर तुरुन्त डाउन गर्न सफल भइयो ।

त्यो ३८ दिने चिसोको सुताई पछि हामी मध्ये मलाई चाहिँ ससर्त छोडियो । छोडिने दिनको मरमत पनि सम्झन लायक छ । त्यसै सालको माघ महिनामा भएको एसएलसी काण्डलाई समेत जोडेर मलाई आरोपित गरिएको थियो । त्यो बेलाको अग्रपंक्तिको आन्दोलनमा रहेका हामी देबेन्द्र गौतम र म मध्ये म घरैमा लुकेर खुफिया चालले लेकबेसी गर्दै खेतीकमाई गर्दैथिए । तर देबेन्द्र जी त्यसै दिनबाट भागेर बेजिल्ला पुगेछन् र उतैबाट सिंगापुरको लाहुरे बन्ने सौभाग्य मिलेछ । म चाही २०३८ असोजबाट काठमाडौं आएर बसेको थिए । २०४० सालमा विवाह गरेँ । ४१ र ४३ का एक छोरा एक छोरी भए । बिभिन्न ठाउमा सानोतिनो काम गर्दै २०४४ सालमा रावाबैंक लिमा कृषि प्राविधिकको रुपमा सेवा प्रवेश गरेँ । २०४६ मा राजनैतिक अवस्था परिवर्तनको लागी आन्दोलनको सुरुवात नभएको भए मेरो सेवाको स्थायी समर्थन सायद नहुन सक्थ्यो । जसरी तसरी तीसवर्ष जागिर गरेर अवकाश भइयो ।

जागिरको दौरानमा पनि पटकपटक स्वर्ग जाने गाडीको गियर जबरजस्ती नचढेको भने होइन तर बडो सङ्घर्षसाथ गियर स्वीच चड्न नदिएरै अहिलेसम्म नेपालमा नै टिकेको छु । यसो सम्झिँदा यो मेरो जीवन त बोनसकै जीवन हो । यदि कुनै दिन अटो गियर लागेर गाडी रफ्तारले यमराजको द्वारतिर कुद्यो भने पनि आश्चर्य चाहि हुने छैन । अनि यो सत्य पनि हो । सत्यलाई कसैले टार्न सकिँदैन । पाठकलाई लाग्न सक्ला कस्तो लेख लेख्या होला भन्ने तर यथार्थ यहि हो स्वीकार्नुस् । धन्यवाद ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x