डिल्लीराज अर्याललोकतन्त्र कि भोकतन्त्र ?
यस्तैलाई प्रजातन्त्र मानी मनाउँदै छु कि ! लोकतन्त्र कुरै मात्र भएछ पो भनूँ म कि ! नबुझ्ने बन्न थालेको धेरै भयो भनूँ म कि ! कि मनाऊँ यही नै हो लोकतन्त्र भनेर कि !
डिल्लीराज अर्याल :
बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति
नसप्रे मति मान्छेको सप्रला कसरी गति ?
उपती छैन, गर्दैन, पोयो प्रगतिको छिन्यो
हार खाएर मान्छे यो संहारक बनी हिँड्यो
सँभार गर्नुपर्ने हो संहार खोज्छ, रोज्दछ
विचार गर्नुपर्ने हो प्रचार मात्र खोज्दछ
वनस्पति सक्यो कैयौं, भन्छ– छुन्छु वृहस्पति
खेदो प्रकृतिको खन्दा आफ्नै बिग्रिसक्यो स्थिति
महासंग्राम निम्त्याई हाँस्न खोज्दछ,दङ्ग छ
धरतीमै बसी रूप धरतीको बिगार्दछ
नजानेको भनूँ गर्छ- ज्ञान-विज्ञानका कुरा
जानेको छ भनूँ- आफ्नै जान्दैन घरका कुरा
‘पानी जीवन हो’- भन्छ पानीमै ढल हाल्दछ
घर, आँगनको थुप्रो मल हाल्छ, पखाल्दछ
वन जङ्गलले रोक्छ, बाढी, पैरो र भूक्षय
भन्छ, काटेर, मासेर- खोज्छ जीवनमा जय
जे जे नगर्नुपर्ने हो गर्छ खालि त्यही त्यही
गर्नुपर्ने कुरा छोडी बन्न खोज्दछ त्यो जयी
विडम्बना! सबै भन्छन्दे-देशमा लोकतन्त्र छ
लाखौँका घरमा लाग्छ परन्तु भोकतन्त्र छ !
त्यै भोकतन्त्र बेचेर सजायौं लोकतन्त्र कि !
या लोकतन्त्रकै निम्ति बचायौं भोकतन्त्र कि !
भागमा जनतालाई परेछ भोकतन्त्र यो !
नेता, नजिककालाई परेछ लोकतन्त्र त्यो !
यस्तैलाई प्रजातन्त्र मानी मनाउँदै छु कि !
लोकतन्त्र कुरै मात्र भएछ पो भनूँ म कि !
नबुझ्ने बन्न थालेको धेरै भयो भनूँ म कि !
कि मनाऊँ यही नै हो लोकतन्त्र भनेर कि !
०००
पाल्पा, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































