साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दूरदर्शनको कथा

तर यस बौद्धिकतापछि जब काव्यग्रन्थको पाण्डुलिपि प्रकाशककहाँ पठाउँछु अनि सत्यनारायणको व्रतकथाको वाचा पनि गर्छु र मनमनै भन्छु, ‘हे सच्चिदानन्द आनन्दकन्द ! तिमीबाहेक मेरो कोही छैन ।’

Nepal Telecom ad

रवीन्द्रनाथ त्यागी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

यस रचनाको शीर्षक मैले ‘दूरदर्शन’ किन राखेको हुँ भने यसमा एउटी यस्ती कन्याको कथा छ जसलाई म दूरबाट दर्शन गर्ने गर्दथेँ ।

कुरो झन्डै तिस वर्ष पुरानो हो तर त्यसको सम्झना भने नियमित रूपमै आइरहने हुनाले ताजै छ । ती दिनहरूमा म एउटा ससानो नोकरी गर्थें र गाउँको यस्तो बस्तीमा बस्थेँ जसको वातावरणलाई हेर्दा बजारजस्तो गाउँ भने पनि हुन्थ्यो र गाउँजस्तो बजार भने पनि हुन्थ्यो । कच्ची र पक्की नमिलेका घरहरू, खरका र खपराका छाना अनि बस्तीको कुनामा दुईचारवटा यस्ता पसल थिए जसले पानबिडीदेखि जुत्तामोजा पनि बेच्थे । त्यसै बस्तीको एउटा घरको एउटा कोठामा यो अकिञ्चन बस्थ्यो अनि जुन कुराले मलाई त्यस महानगरसित जोडेको थियो त्यो थियो एक थान साइकल । त्यो साइकल पनि कति पुरानो थियो भने कुनै पुरातत्त्वविद्सँग हुन्थ्यो भने उसले त्यो मोहनजोदारो या हडप्पाको उत्खननबाट पाइएको हो भनेर प्रमाणित गरिदिन सक्थ्यो र यो इसाभन्दा कैयौँ वर्षपहिलेको भन्न सक्थ्यो । म त्यस कोठामा बस्थें, त्यसै साइकलमा हिँड्थें र एउटा ढाबामा खाना खान्थें । जम्माजम्मी म निकै सुखमा थिएँ तर त्यो सुख त्यसै दिन बिलायो जुन दिन मैले पहिलो पटक त्यसलाई देखें ।

केटी के थिई र त्यो त जादु नै थिई । यसरी यदि मैले पनि रीतिकालीन कविहरूले झैं उसका एक एक अङ्ग खोजेको भए त्यसमा त्यस्तो कुनै विशिष्ट कुरो भेटिने थिएन जुन देशका अन्य युवतिहरूमा नभएको होस् तर जम्माजम्मी उसको केही न केही प्रभाव यस्तो थियो कि उसलाई बेवास्ता गर्न सकिन्नथ्यो । यद्यपि मैले व्यक्तिगत रूपमा मेनका, उर्वशी या तिलोत्तमालाई कहिल्यै भेटेको छैनँ तर मेरो दृढ विश्वास के छ भने यदि मैले कुनै यस्तो तप गरें जसका कारणले इन्द्रको सिंहासन हल्लिन थाल्यो र उनले मेरो तप भङ्ग गर्नका लागि कुनै मैयाँलाई पठाउनु पर्‍यो भने अवश्य नै कुनै यस्तैलाई पठाउँथे । तर संयोग हेर्नुस् न, मैले कुनै तप नगरिकनै त्यो केटी सशरीर त्यहाँ उपस्थित थिई ।

उसमा अल्लारेपन तथा गम्भीरताको कस्तो मिठो मिश्रण थियो भने उसले कन्याको आनन्द पनि दिन्थी र कुनै परिपक्व युवतिको अनुभूति पनि दिन्थी । कहिले ऊ मलाई ‘परिणीता’की मीना कुमारी लाग्थी भने कहिले ‘तीसरी कसम’की वहिदा रहमान लाग्थी । अर्का शब्दमा भनूँ भने दिनको दुइटाका दरले ती दिनमा मैले जति चलचित्र हेर्थेँ त्यस बालिकाको अनुहारमा ती सबै नायिकाहरूको अनुहार मिसिएको पाउँथें । अनि त्यो कुनै मेरो चढ्दो बैंसको नसा पनि थिएन जसमा मानिसले कुमारी गधीसित पनि प्रणयनिवेदन गर्न सङ्कोच मान्दैन । केटीहरूको सौन्दर्यको मापन गर्ने कुरामा मैले कहिल्यै हतार गरिनँ । यस विषयमा कैयौं पटक त मैले यति चिन्तन र अनुचिन्तन गरें कि म उनीहरू वास्तवमै राम्रा छन् भन्ने निष्कर्षमा पुग्नुभन्दा पहिले नै ती केटीहरूको बिहे कुनै अर्को केटासित भइसकेको हुन्थ्यो । यो अकिञ्चन फेरि एक्लै पर्थ्यो ।

त्यस केटीले पनि कतै केही काम गर्थी र मझैं एउटा घरको एउटा कोठामा एक्लै बस्थी । पछि मैले बिस्तारै के थाहा पाएँ भने उसले धेरै धन्दा गर्ने गरेकी थिई । बिहान खाना पकाउँथी, दिउँसोमा कुनै कार्यालयमा टाइप गर्थी अनि जब यो नित्य लीलाबाट केही समय बँच्थ्यो त्यस दयालु केटीले टोलका अविवाहित नवयुवकहरूको विरहको भारी एक्लै बोक्थी । यसपछि पनि समय बच्यो भने उसले विवाहित पुरुषहरूको हितको पनि ख्याल गर्थी । यसरी उसको दैनिक जीवन निकै व्यस्त रहन्थ्यो । बिहान कसैसँग हुन्थी भने बेलुकी कसैसँग हुन्थी । कहिलेकाहीँ त ऊ रात निकै छिप्पिइसकेपछि कुनै सानदार कारमा बसेर फर्किन्थी । उसको पुरै जीवन एउटा खुल्ला किताबजस्तै थियो । ऊ जस्ती थिई त्यस्तै सबैका सामु थिई ।

टोलका केही महिलाहरू उसलाई छँडुली भन्थे भने कसैले उसमाथि दया पनि देखाउँथे तर सम्भवतः बढी सङ्ख्या त तिनीहरूको थियो जो उसप्रति ईर्ष्या गर्थे । टोलका एकजना नेताछाप सज्जनको भनाइमा त ऊ स्वभावले नै आवारा थिई । पसलेको मान्यतामा ऊ कि त परित्यक्ता थिई कि बालविधवा थिई । अनि मेरा सफाइकर्मीको भनाइमा केटी त निकै सज्जन थिई तर आफ्ना दुई बहिनीहरूको विवाह तथा भाइहरूको उच्च शिक्षाका निम्ति उसले सहरमा आउनुपरेको थियो जहाँ बिस्तारै केही धर्मात्मा पुरुषहरूले उसलाई धर्मको वास्तविक मार्ग देखाइदिएका थिए । वास्तविकता के थियो भन्ने त ईश्वरले नै जानुन् । मेरा घरभेटीले निकै पूजापाठ गर्थे, हनुमान चालीसाको पाठ गर्थे अनि आफ्नी पत्नीका आँखा छलेर एकदुई दृष्टि त्यस केटीमा पनि लगाउँथे । यदि कुनै दिन उनले यो शुभकार्य सम्पन्न गरिरहेको अवस्थामा मैले देखिहालें भने उनी ठुलै निराशाका स्वरमा भन्ने गर्थे, ‘त्यो घोर कलियुग भन्ने समय त अब आउनै लागेजस्तो छ ।’

जे होस्, म भने उसलाई दिनदिनै हेर्थें, विरहको आगामा जल्थें र पनि केही गर्न सक्दिनथें । बग्दो गङ्गामा हात धुने साँचो चाहना थियो तर कुन्नि किन हो संस्कारको कुनै ढुङ्गाले मेरा गोडालाई रोक्थ्यो । मेरो विचारमा त्यस केटीले उसप्रति मेरो आकर्षणलाई राम्ररी बुझेकी थिई अनि दयाभाव पनि राख्थी । एक दिन स्त्रीजातिका सबैखाले शास्त्रीय परम्परालाई तोडेर मेरो कोठामा घडी मिलाउन पनि आई अनि लाजले राता भएका मेरा गाला देखेर मुस्कुराउँदै गइ पनि हाली । उसको मुस्कानमा एउटा आमन्त्रण थियो, एउटा विशिष्ट भङ्गिमा थियो र एउटा विशिष्ट प्रकारको पीडा पनि थियो ।

त्यसपछि पनि कैयौं पटक हाम्रो भेट त भयो तर हरेक पटकको स्थिति भने उस्तै रह्यो । म रातिमा जाग्थें र सुतें भने सपनामा देख्थें अनि बसमा भेटिई भने ‘दिदी’ भनेर दर्शन पनि गर्थें । मसँग न त कहिल्यै उसलाई गन्धर्भ विवाह गर्ने प्रस्ताव राख्ने साहस भयो न उससँग विधिवत् विवाह गरेर आफू पनि खुसी रहने अनि उसलाई पनि त्यस हिलाबाट निकाल्ने हिम्मत भयो । शास्त्रका अनुसार जतिसुकै ज्ञान भए पनि यदि त्यसको कार्यान्वयन भएन भने त्यो बेकार छ । मैले उसका मित्रहरूलाई आउँदै गरेको र जाँदै गरेको देख्थें अनि एक दृष्टि आफूमा पनि लगाउँथेँ । भारतीय दर्शनमा एउटै रुखमा बस्ने दुईवटा चराको कथा पाइन्छ । यीमध्ये एउटाले फल खान्थ्यो भने अर्काले हेरिरहन्थ्यो । म त्यही दोस्रो चरो थिएँ र मेरो आचरण भारतीय दर्शनसित मिल्थ्यो । यी दुबै चराहरूमा बढी रुचि राख्ने जिज्ञासुहरूले ऋग्वेदको प्रथम मण्डलको बिसौँ ऋचाको अध्ययन गर्नुहोला ।

यस मन्त्रअनुसार फल खाने चरो जीवात्मा हो भने अर्को चरो शुद्ध, बुद्ध र मुक्तस्वरूप ईश्वर हो । उसले फल ग्रहण गर्दैन । त्यो केवल द्रष्टारूपमा बस्दछ । अथर्ववेदको नवौँ काण्डमा पनि दुईवटा चराहरूको कथा केही यस्तै यस्तै गरी प्रस्तुत गरिएको छ । अर्का शब्दमा त्यस केटीको भोग गर्ने केटाहरू सबै जीवात्मा थिए र म भने परमात्माको श्रेणीमा पर्दथेँ । दर्शनको यस उक्तिले मेरो हौसला पनि चुलियो तर अर्को दिन जब त्यस केटीलाई नयाँ सलवारकुर्तामा देखें अनि मेरो पनि त्यस्तै अवस्था भयो जस्तो पानीपतको तेस्रो लडाइँमा मराठाहरूको भएको थियो ।

मैले आत्मविश्लेषण गरें र मन लगाएर गरें । मेरा पिताजी कट्टर आर्यसमाजी हुनुहुन्थ्यो अनि कहिलेकाहीँ त कस्तो लाग्थ्यो भने वर्तमानमा वैदिक धर्मलाई जोगाउने जिम्मेवारी उहाँकै काँधमा छ । वैदिक धर्मबाट बँचेको समय उहाँले राम्रा नारीहरूका बिचमा बिताउनुहुन्थ्यो । मेरो बुझाइमा उहाँले कैयौं देवीहरूलाई वैदिक धर्म सम्झाउनुभएको थियो । म जसरी भद्र पुरुष बन्दै थिएँ कतै त्यो त्यसकै प्रतिक्रिया त होइन ? मेरी माता एकदम सती र साध्वी स्त्री हुनुहुन्थ्यो । त्यसैले के पनि सम्भव छ भने हजार इच्छा हुँदाहुँदै पनि मैले त्यस तन्वङ्गीलाई बाहुपाशमा अँठ्याउन नसक्नुमा उहाँकै चरित्रको प्रभाव पो थियो कि ? मेरा मातापिता दुबै आस्तिक हुनुहुन्थ्यो भन्ने कुराको प्रत्यक्ष प्रमाणस्वरूप नै म न त नास्तिक बन्न सकेको छु न आस्तिक नै रहेको छु ।

म एकदमै अवसरवादी हुँ । जब तार्किकहरू र बुद्धिजीवीहरूका साथमा कफी हाउसमा बसेको हुन्छु त्यति बेला नास्तिकताको भाषण छाँट्छु , धर्मका नाममा भएगरेका अत्याचारहरूको चर्चा गर्छु अनि यस देशको पतन केवल आस्तिक भएका कारणले भएको हो भन्ने प्रमाणित गर्ने प्रयत्न गर्छु । यसपछि जब छोरालाई कडा ज्वरो आउँछ तब म नै सबैभन्दा पहिले मनसा देवीको भाकल गर्ने बन्छु । युद्धका बेला बाङ्गलादेशमा अनि समुद्री तुफानका समयमा आन्ध्र प्रदेशमा घरबारविहीन भएकाहरू के पूर्वजन्मका पापी थिए ? के भगवान्‌ले पनि समय बचाउनका लागि पहिले पूर्वजन्मका सबै पापीहरूलाई एकठाउँ भेला गराएर लौ, अब कि त अनिकाल पारिदेऊ कि त्यहाँ युद्ध गराइदेऊ भनेर आदेश दिन्छन् ?

यदि सबै कुरो भगवान्‌को इच्छाअनुसार नै हुन्छ भने त पापीहरूले गर्ने पाप पनि त भगवान्‌कै इच्छाअनुसार हुन्छ होला नि ! अनि उनीहरूलाई दिइने दण्ड कुन अपराधको हुन्छ त ? तर यस बौद्धिकतापछि जब काव्यग्रन्थको पाण्डुलिपि प्रकाशककहाँ पठाउँछु अनि सत्यनारायणको व्रतकथाको वाचा पनि गर्छु र मनमनै भन्छु, ‘हे सच्चिदानन्द आनन्दकन्द ! तिमीबाहेक मेरो कोही छैन ।’

साँच्चै म भयङ्कर स्थितिमा फँसेको थिएँ । कुरो शरीरको थियो तर समस्या के थियो भने त्यसमा आत्माले अवरोध पुर्‍याइरहेको थियो । एकातिर भनिन्छ, पुरुष तथा स्त्रीको मेल त सदासर्वदा हुँदै आएको छ । यो नभए सृष्टि कसरी चल्छ र ? अनि अर्कातिर त्यही आत्माले भन्छ, ‘तँलाई लाज पनि लाग्दैन ? कुनै असहायलाई कुनै सहायता गर्नुसाटो तँ पनि उल्टै उसको शोषण गर्न खोज्छस् ? आफै पतित हुने सङ्कोच नभए पनि के कुनै चरित्रहीन केटीसित विवाह गर्छस् त ? भन्, किन उत्तर दिन्नस् ?’

अन्तमा आएर एक दिन मैले अचानक त्यो टोल नै छाडिदिएँ । आजसम्म मैले के निश्चय गर्न सकेको छैनँ भने म सच्चरित्र थिएँ कि कायर थिएँ ? मेरो विचारमा त म एउटा कायर नै थिएँ ।

०००
व्यङ्ग्यकार रवीन्द्र त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’को ‘दूरदर्शन की कथा’बाट  नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x