रवीन्द्रनाथ त्यागीदूरदर्शनको कथा
तर यस बौद्धिकतापछि जब काव्यग्रन्थको पाण्डुलिपि प्रकाशककहाँ पठाउँछु अनि सत्यनारायणको व्रतकथाको वाचा पनि गर्छु र मनमनै भन्छु, ‘हे सच्चिदानन्द आनन्दकन्द ! तिमीबाहेक मेरो कोही छैन ।’

रवीन्द्रनाथ त्यागी :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
यस रचनाको शीर्षक मैले ‘दूरदर्शन’ किन राखेको हुँ भने यसमा एउटी यस्ती कन्याको कथा छ जसलाई म दूरबाट दर्शन गर्ने गर्दथेँ ।
कुरो झन्डै तिस वर्ष पुरानो हो तर त्यसको सम्झना भने नियमित रूपमै आइरहने हुनाले ताजै छ । ती दिनहरूमा म एउटा ससानो नोकरी गर्थें र गाउँको यस्तो बस्तीमा बस्थेँ जसको वातावरणलाई हेर्दा बजारजस्तो गाउँ भने पनि हुन्थ्यो र गाउँजस्तो बजार भने पनि हुन्थ्यो । कच्ची र पक्की नमिलेका घरहरू, खरका र खपराका छाना अनि बस्तीको कुनामा दुईचारवटा यस्ता पसल थिए जसले पानबिडीदेखि जुत्तामोजा पनि बेच्थे । त्यसै बस्तीको एउटा घरको एउटा कोठामा यो अकिञ्चन बस्थ्यो अनि जुन कुराले मलाई त्यस महानगरसित जोडेको थियो त्यो थियो एक थान साइकल । त्यो साइकल पनि कति पुरानो थियो भने कुनै पुरातत्त्वविद्सँग हुन्थ्यो भने उसले त्यो मोहनजोदारो या हडप्पाको उत्खननबाट पाइएको हो भनेर प्रमाणित गरिदिन सक्थ्यो र यो इसाभन्दा कैयौँ वर्षपहिलेको भन्न सक्थ्यो । म त्यस कोठामा बस्थें, त्यसै साइकलमा हिँड्थें र एउटा ढाबामा खाना खान्थें । जम्माजम्मी म निकै सुखमा थिएँ तर त्यो सुख त्यसै दिन बिलायो जुन दिन मैले पहिलो पटक त्यसलाई देखें ।
केटी के थिई र त्यो त जादु नै थिई । यसरी यदि मैले पनि रीतिकालीन कविहरूले झैं उसका एक एक अङ्ग खोजेको भए त्यसमा त्यस्तो कुनै विशिष्ट कुरो भेटिने थिएन जुन देशका अन्य युवतिहरूमा नभएको होस् तर जम्माजम्मी उसको केही न केही प्रभाव यस्तो थियो कि उसलाई बेवास्ता गर्न सकिन्नथ्यो । यद्यपि मैले व्यक्तिगत रूपमा मेनका, उर्वशी या तिलोत्तमालाई कहिल्यै भेटेको छैनँ तर मेरो दृढ विश्वास के छ भने यदि मैले कुनै यस्तो तप गरें जसका कारणले इन्द्रको सिंहासन हल्लिन थाल्यो र उनले मेरो तप भङ्ग गर्नका लागि कुनै मैयाँलाई पठाउनु पर्यो भने अवश्य नै कुनै यस्तैलाई पठाउँथे । तर संयोग हेर्नुस् न, मैले कुनै तप नगरिकनै त्यो केटी सशरीर त्यहाँ उपस्थित थिई ।
उसमा अल्लारेपन तथा गम्भीरताको कस्तो मिठो मिश्रण थियो भने उसले कन्याको आनन्द पनि दिन्थी र कुनै परिपक्व युवतिको अनुभूति पनि दिन्थी । कहिले ऊ मलाई ‘परिणीता’की मीना कुमारी लाग्थी भने कहिले ‘तीसरी कसम’की वहिदा रहमान लाग्थी । अर्का शब्दमा भनूँ भने दिनको दुइटाका दरले ती दिनमा मैले जति चलचित्र हेर्थेँ त्यस बालिकाको अनुहारमा ती सबै नायिकाहरूको अनुहार मिसिएको पाउँथें । अनि त्यो कुनै मेरो चढ्दो बैंसको नसा पनि थिएन जसमा मानिसले कुमारी गधीसित पनि प्रणयनिवेदन गर्न सङ्कोच मान्दैन । केटीहरूको सौन्दर्यको मापन गर्ने कुरामा मैले कहिल्यै हतार गरिनँ । यस विषयमा कैयौं पटक त मैले यति चिन्तन र अनुचिन्तन गरें कि म उनीहरू वास्तवमै राम्रा छन् भन्ने निष्कर्षमा पुग्नुभन्दा पहिले नै ती केटीहरूको बिहे कुनै अर्को केटासित भइसकेको हुन्थ्यो । यो अकिञ्चन फेरि एक्लै पर्थ्यो ।
त्यस केटीले पनि कतै केही काम गर्थी र मझैं एउटा घरको एउटा कोठामा एक्लै बस्थी । पछि मैले बिस्तारै के थाहा पाएँ भने उसले धेरै धन्दा गर्ने गरेकी थिई । बिहान खाना पकाउँथी, दिउँसोमा कुनै कार्यालयमा टाइप गर्थी अनि जब यो नित्य लीलाबाट केही समय बँच्थ्यो त्यस दयालु केटीले टोलका अविवाहित नवयुवकहरूको विरहको भारी एक्लै बोक्थी । यसपछि पनि समय बच्यो भने उसले विवाहित पुरुषहरूको हितको पनि ख्याल गर्थी । यसरी उसको दैनिक जीवन निकै व्यस्त रहन्थ्यो । बिहान कसैसँग हुन्थी भने बेलुकी कसैसँग हुन्थी । कहिलेकाहीँ त ऊ रात निकै छिप्पिइसकेपछि कुनै सानदार कारमा बसेर फर्किन्थी । उसको पुरै जीवन एउटा खुल्ला किताबजस्तै थियो । ऊ जस्ती थिई त्यस्तै सबैका सामु थिई ।
टोलका केही महिलाहरू उसलाई छँडुली भन्थे भने कसैले उसमाथि दया पनि देखाउँथे तर सम्भवतः बढी सङ्ख्या त तिनीहरूको थियो जो उसप्रति ईर्ष्या गर्थे । टोलका एकजना नेताछाप सज्जनको भनाइमा त ऊ स्वभावले नै आवारा थिई । पसलेको मान्यतामा ऊ कि त परित्यक्ता थिई कि बालविधवा थिई । अनि मेरा सफाइकर्मीको भनाइमा केटी त निकै सज्जन थिई तर आफ्ना दुई बहिनीहरूको विवाह तथा भाइहरूको उच्च शिक्षाका निम्ति उसले सहरमा आउनुपरेको थियो जहाँ बिस्तारै केही धर्मात्मा पुरुषहरूले उसलाई धर्मको वास्तविक मार्ग देखाइदिएका थिए । वास्तविकता के थियो भन्ने त ईश्वरले नै जानुन् । मेरा घरभेटीले निकै पूजापाठ गर्थे, हनुमान चालीसाको पाठ गर्थे अनि आफ्नी पत्नीका आँखा छलेर एकदुई दृष्टि त्यस केटीमा पनि लगाउँथे । यदि कुनै दिन उनले यो शुभकार्य सम्पन्न गरिरहेको अवस्थामा मैले देखिहालें भने उनी ठुलै निराशाका स्वरमा भन्ने गर्थे, ‘त्यो घोर कलियुग भन्ने समय त अब आउनै लागेजस्तो छ ।’
जे होस्, म भने उसलाई दिनदिनै हेर्थें, विरहको आगामा जल्थें र पनि केही गर्न सक्दिनथें । बग्दो गङ्गामा हात धुने साँचो चाहना थियो तर कुन्नि किन हो संस्कारको कुनै ढुङ्गाले मेरा गोडालाई रोक्थ्यो । मेरो विचारमा त्यस केटीले उसप्रति मेरो आकर्षणलाई राम्ररी बुझेकी थिई अनि दयाभाव पनि राख्थी । एक दिन स्त्रीजातिका सबैखाले शास्त्रीय परम्परालाई तोडेर मेरो कोठामा घडी मिलाउन पनि आई अनि लाजले राता भएका मेरा गाला देखेर मुस्कुराउँदै गइ पनि हाली । उसको मुस्कानमा एउटा आमन्त्रण थियो, एउटा विशिष्ट भङ्गिमा थियो र एउटा विशिष्ट प्रकारको पीडा पनि थियो ।
त्यसपछि पनि कैयौं पटक हाम्रो भेट त भयो तर हरेक पटकको स्थिति भने उस्तै रह्यो । म रातिमा जाग्थें र सुतें भने सपनामा देख्थें अनि बसमा भेटिई भने ‘दिदी’ भनेर दर्शन पनि गर्थें । मसँग न त कहिल्यै उसलाई गन्धर्भ विवाह गर्ने प्रस्ताव राख्ने साहस भयो न उससँग विधिवत् विवाह गरेर आफू पनि खुसी रहने अनि उसलाई पनि त्यस हिलाबाट निकाल्ने हिम्मत भयो । शास्त्रका अनुसार जतिसुकै ज्ञान भए पनि यदि त्यसको कार्यान्वयन भएन भने त्यो बेकार छ । मैले उसका मित्रहरूलाई आउँदै गरेको र जाँदै गरेको देख्थें अनि एक दृष्टि आफूमा पनि लगाउँथेँ । भारतीय दर्शनमा एउटै रुखमा बस्ने दुईवटा चराको कथा पाइन्छ । यीमध्ये एउटाले फल खान्थ्यो भने अर्काले हेरिरहन्थ्यो । म त्यही दोस्रो चरो थिएँ र मेरो आचरण भारतीय दर्शनसित मिल्थ्यो । यी दुबै चराहरूमा बढी रुचि राख्ने जिज्ञासुहरूले ऋग्वेदको प्रथम मण्डलको बिसौँ ऋचाको अध्ययन गर्नुहोला ।
यस मन्त्रअनुसार फल खाने चरो जीवात्मा हो भने अर्को चरो शुद्ध, बुद्ध र मुक्तस्वरूप ईश्वर हो । उसले फल ग्रहण गर्दैन । त्यो केवल द्रष्टारूपमा बस्दछ । अथर्ववेदको नवौँ काण्डमा पनि दुईवटा चराहरूको कथा केही यस्तै यस्तै गरी प्रस्तुत गरिएको छ । अर्का शब्दमा त्यस केटीको भोग गर्ने केटाहरू सबै जीवात्मा थिए र म भने परमात्माको श्रेणीमा पर्दथेँ । दर्शनको यस उक्तिले मेरो हौसला पनि चुलियो तर अर्को दिन जब त्यस केटीलाई नयाँ सलवारकुर्तामा देखें अनि मेरो पनि त्यस्तै अवस्था भयो जस्तो पानीपतको तेस्रो लडाइँमा मराठाहरूको भएको थियो ।
मैले आत्मविश्लेषण गरें र मन लगाएर गरें । मेरा पिताजी कट्टर आर्यसमाजी हुनुहुन्थ्यो अनि कहिलेकाहीँ त कस्तो लाग्थ्यो भने वर्तमानमा वैदिक धर्मलाई जोगाउने जिम्मेवारी उहाँकै काँधमा छ । वैदिक धर्मबाट बँचेको समय उहाँले राम्रा नारीहरूका बिचमा बिताउनुहुन्थ्यो । मेरो बुझाइमा उहाँले कैयौं देवीहरूलाई वैदिक धर्म सम्झाउनुभएको थियो । म जसरी भद्र पुरुष बन्दै थिएँ कतै त्यो त्यसकै प्रतिक्रिया त होइन ? मेरी माता एकदम सती र साध्वी स्त्री हुनुहुन्थ्यो । त्यसैले के पनि सम्भव छ भने हजार इच्छा हुँदाहुँदै पनि मैले त्यस तन्वङ्गीलाई बाहुपाशमा अँठ्याउन नसक्नुमा उहाँकै चरित्रको प्रभाव पो थियो कि ? मेरा मातापिता दुबै आस्तिक हुनुहुन्थ्यो भन्ने कुराको प्रत्यक्ष प्रमाणस्वरूप नै म न त नास्तिक बन्न सकेको छु न आस्तिक नै रहेको छु ।
म एकदमै अवसरवादी हुँ । जब तार्किकहरू र बुद्धिजीवीहरूका साथमा कफी हाउसमा बसेको हुन्छु त्यति बेला नास्तिकताको भाषण छाँट्छु , धर्मका नाममा भएगरेका अत्याचारहरूको चर्चा गर्छु अनि यस देशको पतन केवल आस्तिक भएका कारणले भएको हो भन्ने प्रमाणित गर्ने प्रयत्न गर्छु । यसपछि जब छोरालाई कडा ज्वरो आउँछ तब म नै सबैभन्दा पहिले मनसा देवीको भाकल गर्ने बन्छु । युद्धका बेला बाङ्गलादेशमा अनि समुद्री तुफानका समयमा आन्ध्र प्रदेशमा घरबारविहीन भएकाहरू के पूर्वजन्मका पापी थिए ? के भगवान्ले पनि समय बचाउनका लागि पहिले पूर्वजन्मका सबै पापीहरूलाई एकठाउँ भेला गराएर लौ, अब कि त अनिकाल पारिदेऊ कि त्यहाँ युद्ध गराइदेऊ भनेर आदेश दिन्छन् ?
यदि सबै कुरो भगवान्को इच्छाअनुसार नै हुन्छ भने त पापीहरूले गर्ने पाप पनि त भगवान्कै इच्छाअनुसार हुन्छ होला नि ! अनि उनीहरूलाई दिइने दण्ड कुन अपराधको हुन्छ त ? तर यस बौद्धिकतापछि जब काव्यग्रन्थको पाण्डुलिपि प्रकाशककहाँ पठाउँछु अनि सत्यनारायणको व्रतकथाको वाचा पनि गर्छु र मनमनै भन्छु, ‘हे सच्चिदानन्द आनन्दकन्द ! तिमीबाहेक मेरो कोही छैन ।’
साँच्चै म भयङ्कर स्थितिमा फँसेको थिएँ । कुरो शरीरको थियो तर समस्या के थियो भने त्यसमा आत्माले अवरोध पुर्याइरहेको थियो । एकातिर भनिन्छ, पुरुष तथा स्त्रीको मेल त सदासर्वदा हुँदै आएको छ । यो नभए सृष्टि कसरी चल्छ र ? अनि अर्कातिर त्यही आत्माले भन्छ, ‘तँलाई लाज पनि लाग्दैन ? कुनै असहायलाई कुनै सहायता गर्नुसाटो तँ पनि उल्टै उसको शोषण गर्न खोज्छस् ? आफै पतित हुने सङ्कोच नभए पनि के कुनै चरित्रहीन केटीसित विवाह गर्छस् त ? भन्, किन उत्तर दिन्नस् ?’
अन्तमा आएर एक दिन मैले अचानक त्यो टोल नै छाडिदिएँ । आजसम्म मैले के निश्चय गर्न सकेको छैनँ भने म सच्चरित्र थिएँ कि कायर थिएँ ? मेरो विचारमा त म एउटा कायर नै थिएँ ।
०००
व्यङ्ग्यकार रवीन्द्र त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’को ‘दूरदर्शन की कथा’बाट नेपाली अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest




































