उत्तम विचारलुब्ध भान्से
जब्बर हुन्छन् ढाडे बिराला सक्दछ जसले उसले खाला । रोए कहिले मस्त कराए रावण देखी राम डराए ।। बोको उफ्री गर्छ रजाइँ गोरुविना के चल्दछ दाइँ । रासन पानी पाइँदैन फोस्रा नारा चाहिँदैन ।।

उत्तम विचार
ढुक्दछ भान्सा कुर्छ अँगेनो
दुधको भाँडो छोड्न सकेन ।
घुम्दछ कुर्सी कुर्दछ पालो
शासक हो वा लुब्ध बिरालो ।।१।
शासन भन्दै शोषण गर्छ
सदन सडकमा भाषण गर्छ ।
घ्याम्पे छ भुँडी घिच्दछ टन्न
मुलुक चपाए किन्तु सहन्नँ ।।२।
कुकुर बिराला मिल्न सकेनन्
हड्डी छ ठुलो निल्न सकेनन् ।
घाँटी हेरी निल्न नजान्ने
आफै ठान्छन् जान्नेसुन्ने ।।३।
भ्रष्टछ आनीबानी यिनको
थप्छन् भारी शिरमा ऋणको ।
दुरुस्त हेर्दा बाघ समान
कमजोर लाग्छ बिरालो जान ।।४।
धस्दछ नङ्ग्रा पार्दछ प्वाल
मुलुक मुसक ठान्छ बिडाल ।
आफ्नै बोली कानुन भाक्छ
न्याय निमोठी शासन हाँक्छ ।।५।
छोडन कुर्सी फेर्नुछ पालो
भन्छन् टेर्ला छैन बिरालो ।
बाँडी खाने भान्से ल्याऊ
भोकालाई टन्न खुवाऊ ।।६।
पेवा ठान्छन् हैन कसैको
साझा हो यो राष्ट्र सबैको ।
छोराछोरी घरफिर आऊ
रुन्छिन् आमा लौन हँसाऊ ।।७।
खान नपाए गर्दछ म्याउँ
पाए सम्मन आफै खाऊँ ।
मेरो भन्ने दुच्छर बानी
रात नसुती पार्छ बिहानी ।।८।
जब्बर हुन्छन् ढाडे बिराला
सक्दछ जसले उसले खाला ।
रोए कहिले मस्त कराए
रावण देखी राम डराए ।।९।
बोको उफ्री गर्छ रजाइँ
गोरुविना के चल्दछ दाइँ ।
रासन पानी पाइँदैन
फोस्रा नारा चाहिँदैन ।।१०।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































