बिन्दु दहाल ‘मूकदर्शक’कि तिम्रा बुबाले
लगाएर फुर्ती झुटा तर्क गर्छन् तिनै साँढ जस्तै लुकी मस्त चर्छन् पुराना नयाँले धरा यो उगाले यसै गर्नु भन्थे कि तिम्रा बुबाले ? न जेन्जी उदाए न देशै कुदाए यहाँ फेरि केही पुँडे चर्न आए नथाम्ने भयो साँढलाई जुवाले यसै गर्नु भन्थे कि तिम्रा बुबाले ?

बिन्दु दहाल मुकदर्शक :
सबै भाँडिएका सबै बाँडिएका
झिनो स्वार्थ बोकी सबै टाढिएका
जता बज्छ बाजा उतै कुद्न थाले
यसै गर्नु भन्थे कि तिम्रा बुबाले ? १
जता मल्खु देख्छन् उतै ढल्न थाल्छन्
मिठाई भएकै दिशा चल्न थाल्छन्
नथाम्ने भयो नीतिको यो जुवाले
यसै गर्नु भन्थे कि तिम्रा बुबाले ? २
उता ड्याम्म गोली युवा ढाल्न हान्छ्न्
कलाकार भन्छन् तिनै देश बाल्छन्
न सत्ता भरोसा भयो चोर्न थाले
यसै गर्नु भन्थे कि तिम्रा बुबाले ? ३
दुराचार बेच्ने यहीँ हाट लाग्छन्
नखानेहरूमै ठुला बात लाग्छन्
बढे देशमा हा ! वृथाका मुखाले
यसै गर्नु भन्थे कि तिम्रा बुबाले ? ४
नखाने नखाने भनी कोल चाट्छ्न्
दिवामै अँध्यारो छरी ढाट्नु ढाट्छन्
सधैँ पोल्छ आँखा डडेल्लो धुँवाले
सधैँ ढाट्नु भन्थे कि तिम्रा बुबाले ? ५
अचानो बनाई सधैँ मार हान्छन्
सुधी को गुजी को सबै टन्न खान्छन्
तिनै गोरु झाले तिनै गोरु माले
सधैँ ढाँट्नु भन्थे कि तिम्रा बुबाले ? ६
हलीका कुरा छन् बुढा साहुकाझैँ
छ बोली सबैको झुटा राहुकाझैँ
परे ताक घोच्छन् खुवाले रुवाले
यसै गर्नु भन्थे कि तिम्रा बुबाले ? ७
न ता बुद्धिजीवीहरूको छ ज्ञान
छ आफ्नाहरूकै प्रशंसा रटान
कहाँ मेट्छ तिर्खा वृथाका कुवाले
सधैँ ढाँट्नु भन्थे कि तिम्रा बुबाले ? ८
जले देश हाम्रो छिटै बन्छ भन्छन्
जलाई खुसीले समाचार भन्छन्
डराई रुँदै आँसु पुछ्छिन् मुमाले
सधैँ ढाँट्नु भन्थे कि तिम्रा बुबाले ? ९
दलेका दलाली चल्यो उग्र अस्ति
कमाए सबैले गरे मोज मस्ती
हटे फेरि आए तिनैझैँ तुवाँले
मिली लुट्नु भन्थे कि तिम्रा बुबाले ? १०
बुढा स्याल जस्तै नयाँ फ्याउरी छिन्
हटे नग्न डाँगा बुढी छाउरी छिन्
अघाइन्न कोही दिएको पुवाले
मिली लुट्नु भन्थे कि तिम्रा बुबाले ? ११
उही चालबाजी उही छद्म भेष
वृथा दर्द भोगीरहेछौँ अशेष
हटे धूर्त साले बसे धूर्त काले
मिली धुत्नु भन्थे कि तिम्रा बुबाले ।१२
कुराका छुराले सबै देश नास्यो
उता पारि वैरी खुसीसाथ हाँस्यो
मराए युवा ती सबैले उचाले
यसै गर्नु भन्थे कि तिम्रा बुबाले ? १३
लगाएर फुर्ती झुटा तर्क गर्छन्
तिनै साँढ जस्तै लुकी मस्त चर्छन्
पुराना नयाँले धरा यो उगाले
यसै गर्नु भन्थे कि तिम्रा बुबाले ? १४
न जेन्जी उदाए न देशै कुदाए
यहाँ फेरि केही पुँडे चर्न आए
नथाम्ने भयो साँढलाई जुवाले
यसै गर्नु भन्थे कि तिम्रा बुबाले ? १५
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































